यस्तोसम्म हुन्छ सोसियल भिडिया बन्द हुँदा…

प्रकाशित मिति: २ चैत्र २०७५, शनिबार ०९:१२

होली पर्वजस्तै भोली पर्वको बारेमा तपाईंलाई थाहा छ ? आउनोस्, धर्तीमा आउन लागेको भोली पर्वको बारेमा कुरा गरौं । होली पर्व बर्षैपिच्छे आई रहन्छ तर भोली पर्व एकजुगमा एकदिनमात्र आउन सक्छ । यो पर्वमा सुखको रंग दलिन्छ । शान्तीको भांग खाईन्छ । सदाचारको नाचगान हुन्छ । स्थिरताको उत्सव मनाईन्छ ।

भोली पर्व कसरी आउंछ, त्यो कसैलाई थाहा हुन्न । यो भुकम्पजस्तो आउन सक्छ । सुनामीजस्तो हुनसक्छ । बिध्वंस, चमस्कार वा प्रलयजस्तो पनि हुनसक्छ ।

भोलीपर्व आउन सक्ने एउटा सम्भावना यस्तो छ :  एउटा ग्रहबाट एउटा सुदुर उल्का पिण्ड पृथ्वीतिर आई रहेको हुन्छ । भाग्यवश त्यो पृथ्वीसम्म आई पुग्दैन, आकासमै ध्वस्त हुन्छ ।

तर, आकासमै ध्वस्त हुनेक्रममा त्यसले अन्तरिक्षमा ठूलो बिध्वंस बिध्वंस मच्चाउछ जसको कारण पृथ्वीबासीले ठूलो राहत पाउनेछन् ।

हो, राहत पाउनेछन् † त्यो उल्का पिण्डले अन्तरिक्षमा रहेका सबै सेटेलाईटहरु ध्वस्त बनाउनेछ । आधुनिक समाजको प्रमुख माध्याम सेटेलाईट † यो माध्यामनै सिद्धिएपछि सुचना, सञ्चार, यातायात, बैंकिंग, मनोरञ्जन क्षेत्र ठप्प हुनेछन् ।

केही समय यसले मानिसमा हाहाकार मच्चिनेछ । बिस्तारै यो मच्चाई आफैं थच्चिनेछ । त्यसपछि प्रबिधिप्रेमी भनिएका मान्छेहरुमा कस्तो सकारात्मक प्रभाव पर्छ ? आउनोस्, यसको होली बिश्लेषण गरौं ।

पैदल र बलयगाडा युगको शुरुवात हुनेछ । त्यसपछि हवाई दुर्घटनाबाट मान्छे मर्नुपर्ने छैन । पैदल हिंड्न कर तिर्नु पर्दैन । बयलगाडा किन्न कमिसन चाहिंदैन । भोली पर्वपछि भ्रष्टाचार रोकिनेछ ।

मोबाईलले काम गर्नेछैन । टेलिफोन चल्न छोड्छन् । टेलिफोनमा झुण्डि रहनेहरु आफन्तसंग बोल्न थाल्नेछन् । मोबाईलमा भांडिएकाहरु परिवारमा जोडिनेछन् । प्रबिधिले टुटाएका संबन्धहरु बलिया बन्ने छन् । सुमधुर हुनेछन् ।

भोली पर्वले गोली र बन्दुकको साम्राज्यलाई कमजोर बनाउनेछ । बम र बारुद बोकेका जहाज उड्न सक्ने छैनन् । मोर्टार र लञ्चर लिएका ट्यांकर गुड्न सक्ने छैनन् । न अमेरिका बसेर अफगानिस्तान बम हान्न मिल्छ । न त आकासबाट गोला पाकिस्तानमा खसाल्न मिल्छ । भोली पर्वपछि धर्तीले बोकि रहेको युद्धको आधा बोझ आफैं कम हुनेछ ।

सबैभन्दा ठूलो प्रभाव प्रबिधि, सुचना र मनोरञ्जनको क्षेत्रमा पर्नेछ । टिभी चल्न छोड्ने छन्, सासु बुहारीको संबन्ध सुध्रिनेछ । काटुर्न चलचित्र रोकिनेछन्, केटाकेटीहरुमा पढाईको लहर चल्नेछ । युट्युब बन्द हुनेछन्, भाईरल युगको समाप्ती हुनेछ, स्ट्रगल युगको समय फेरी शुरु हुनेछ ।

सामाजिक सञ्जाल स्वाहा हुनेछ । मानवीय सञ्जाल अहा बन्नेछ । सामाजिक सञ्जाल बिनाको जिवन एकछिन उदास लाग्नसक्छ । तर, बिस्तारै त्यही जिवन बिन्दास लाग्न थाल्नेछ ।

गालीको बर्षा रोकिनेछ । बदमासीको भेल थामिनेछ । मुख सम्हालिनेछ । मन शान्त बन्नेछ । लाईकको लोभ हट्नेछ । डिस्लाईको पिंडा घट्नेछ । त्यो बेला मानिससंग सबथोक हुनेछ, बस्, फेसबुकमात्र हुनेछैन । हाम्लाई बाल †

मोबाईलको काम सकिनेछ । सम्पर्क घट्नेछ । संबन्ध बढ्नेछ । ज्ञात रहोस्, मोबाईलले बढाउने भनेको संपर्कमात्र हो, संबन्ध हैन । जतिसुकै महंगो र बलियो मोबाईल बोक्नोस्, त्यसले बढाउने भनेको संपर्कमात्र हो । संबन्ध बढाउन मोबाईल बलियो हैन, मनोवल राम्रो र बलियो हुनुपर्छ ।

फेसबुक फ्यास्स हुनेछ । एकछिन च्वास्स हुनेछ । मान्छे डिप्रेसनमा जानसक्छ । सन्तुलन गुमाउन सक्छ । स्वमृत्यूवरण गर्न खोज्नेछ । तर, बिस्तारै ठिकठाक हुनेछ । फेसबुक बिनापनि चलेको थियो, चलि रहेछ र चल्नेछ ।

के हामी चाहान्छौं यस्तो भोली पर्व ? चाहान्छौं भने स्वागत गर्न तयार होऔं । चाहांदैनौं भने सुचना, प्रबिधि र सञ्जालको सम्यक प्रयोग गरौं । फागु पुर्णिमाको शुभ कामना ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com