नभागाैं साथी हो’ भन्ने नेता भागेपछी…

 

‘सामाजिक मुक्ती र परिवर्तनकालागि’ चर्को स्वरमा नारा भट्याउँदै शहर परिक्रमा गर्दा जोश पलाउनु, होस हराउनु, बेहोस हुनु सबै स्वीकार्य हुँदो रहेछ । तर, सोझा जनतालाई लड्न जोस्याउनेहरु आफुचाहीँ कतिसम्म होसियार हुन्छन् भन्ने कुरा कमैलाई थाहा हुन्छ ।

‘नभागौं साथी हो !’ भनेर उत्तेजित बनाउनेहरु सबैभन्दा पहिला भाग्छन् । यो कुरा थाहा नपाउने सोझा जनताहरु माथी लाठी बर्साइन्छ, गोली खाइन्छ, जिवन गुमाइन्छ, । यसरी एउटा निर्दोष नागरिक शहीद हुनपुग्छ ।

सहिद हुनेलाई थाहा हुन्न कि ‘जीवन’मा के के हुन्छ । शहीद हुन्छु, फोटोमा सजिन्छु,चर्चामा चुलिन्छु, समय बित्दै जाँदा खोपीमा हुलिन्छु । कहिलेकाँही सम्झिईन्छु, धेरै चाँही भुलिन्छु । पानामा लेखिन्छु, स्टोरमा फ्याँकिन्छु । सहीदरुपी भर्याङमा  खुट्किलो थपिन्छु । नेताकै पैताला मज्जाले टेकिन्छु भन्ने थाहै नपाई मान्छे सहीद हुन्छ ।

                                                            (तस्वीर साभार:सामाजिक सन्जाल)

सहीद कोटा र कोटीमा बाँडिन्छन्, अग्ला र होचामा दाँजिन्छन्  । उसका र मेरामा, घर र डेरामा ठेलिन्छन्, तानिन्छन् । समय बद्लिदा पुराना सहीद, नयाँ सहीद, गोली थापेका र गोली ताकेका सहीद, बिना पैसाका सहीद, लाखका सहीद, दश लाखका सहीद, मोलतोलका सहीद, बोलकबोलका सहीद बनाइन्छ ।

अहिले लाग्छ -धन्न सहीद भएनछु । नत्र यत्रो बितण्डा देख्ने रहेनछु । त्यो गोली छातीमै ठोक्किएको भए तिघ्रा र पिंडुलामा नरोकिएको भए म पनि यसै गरी ठेलिने रहेछु ।  पेलिने रहेछु ।  किनेने रहेछु ।  बेचिने रहेछु । ठुलै मान्छेका पैतालाले । बारबार टेकिने रहेछु । सहीद त केवल राजनीतिको भर्याङ मात्र हुने कुरा बुझि रहेछु, टुलुटुलु हेरी रहेछु । झलझली देखि रहेछु ।

सन्दर्भ : २०४६, चैत्र २६,                                                                                                                                                                * केशवराज गजुरेल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com