खुल्ला मन्चपछी कहाँ चल्दैछ डोजर !

प्रकाशित मिति: १५ बैशाख २०७६, आईतवार ०४:४०

खुल्लामञ्चमा अनाधिकृत रुपमा बनाईएका टहरे सटर डोजर लगाएर लटरपटर पारिएका छन् । एक्कासी अजंङ्गको डोजर आएर आफ्नो सपनाको खेती, समृद्धिको आधार छिनभरमै कर्याक कुरुक्क पारेपछि धुरुधुरु रुंने हरुको वेदना समेत  विभिन्न मिडियामा आएको सुनियो ।

नियम कानुन र सहमतिलाई लात मार्दै करौंडौं हात पार्न उद्दत ठगदार गायव छन् । नगरि निर्माण गर्ने ठगदार सम्पर्क बिहिन छन् । नियम कानून र सहमतिको अधिनमा रहेर ठेकेदारले काम गरेको भए, सटर बनाउने खर्च ठगदारकै परेको भए जनताका पैसा डुव्ने थिएनन् । दु:खका आँशु झारेर दुनियाँ सामु रुने थिएनन् ।

समस्याका महल रातारात, खातका खात खडा होउन्जेल ‘तैं चुप मैं चुप हुँदै कमिसन खाएर बस्नेहरु, कमिसन पाउन धाएर बस्नेहरु, झर्ला र खाउँला भनेर  बस्नेहरु पनि ठगदारको मतियार हुन् । यो कमाउ प्रपन्च रच्ने, वहिदार हुन् या खरदार, ढुकनदार हुन वा हुकुमदार यि सबै खपराधी हुन भन्ने कुरा चेतना भया !

टहरा ठड्याइए अनि लडाइए । देख्दा यो  विषय सामान्य छ  तर अरबौंको ब्यापार गर्ने, ठेक्का हात पार्ने, काम गर्दा झारा टार्ने ठगदार र सानो पुँजि जम्मा गरेर व्यापार गरेर अपार बनौंला भन्ने सपना देख्नेलाई एउटै जाँतोमा हालेर पिस्नु  राम्रो होला र !

टहरा भत्काउन खटिएका एक अधिकारीको भनाई छ- ‘सटर खरिद गरेकाहरुलाई अन्याय हुने छैन तर प्रमाण लिएर उजुर गर्न सक्नुहुन्छ ।’ सर, सबैकुरा लिखित नहुन सक्छन् ठगिकलाका बेइमानी बानीकाहरुले सकेसम्म प्रमाणिक रुपमा कारोबार गर्दैनन् । आफ्नो हात माथि पार्ने मात्र होइन, अरुको हातमाथि आफ्नो पाइतालो नै टेक्छन् ।

सरकार भनेको सरकारी सम्पतिको पहरेदार मात्र होइन, जनताको सुरक्षाको रखवार पनि हो भन्ने बिर्सनु हुदैन। सार्वजनिक सम्पति अतिक्रमण माथि न्याय खोज्न लाग्दा जनधनको सुरक्षा र जनजीविका माथि अन्याय हुनुहुन्न है !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com