जननी र जन्मभुमीको एउटा सत्यकथा जसमा तपाईंको आफ्नै ब्यथा छ, आँशु नझारी सुखै छैन…

कैले ठाडै उकालो त कैले ठाडै ओह्रालोको यो सातघण्टेयात्रा कल्पनाको सागरमा पौडिदै सम्पन्न भएको पत्तै भएन । जब पाईला तुसारोमा चिप्लिन्थे, तब मेरी आमाका आँशुको याद आउँथ्यो । तिसबर्षको उमेरमा पतीवियोगपछि ७ जना भल्ट्याङ्
भुल्टुङ् च्यापेर माइतीघर फर्किएकी आमाका आँशु यही बाटोमा कति झरे होलान्, भावुक हुन्छु ! मिर्मिरेमा अलैंची टिप्नेहरुको सऱ्याक सुरुकको आवाजलाई पिताजीको ‘आत्मा’ पसिना बगाईको ठान्थें, र भ्रमित हुन्थें ! यस्तै भ्रमहरुसंग भौतारिंदै मिर्मिरे हुँदा हामी कावेली नदीमा पुग्छौं, जुन नदिमा मेरा आधा दर्जन पुर्खाका अस्तुहरु पनि बगेका छन् ।


मातातीर्थ औंशीको अवसरमा पुन: प्रकासित ! प्रथम पटक प्रकासित मिति- December 2nd, 2012 on www.mysansar.com पढिसक्नु भएको भए कृपया समय खर्च नगर्नु होला !

मेरो जन्मस्थल ‘भँडारीबारी’ हो। ‘भँडारीबारी, ताप्लेजुङ् जिल्ला, मामाङ्खे नगरपालिका, वार्ड नंबर–१७, संग्रहालय चोक (बसपार्क अगाडि) पर्दैन, किनभने ‘मामाङ्खे’ एउटा दुर्गम गाबिस हो। सदरमुकाम फुङ्लिङ् बजारबाट चारघण्टाको मोटरयात्रामा पुगिने मामाङ्खे, मोटरबाटो नभएकोले दुई दिनको पैदल यात्रा मात्र गर्नुपर्छ ! ‘मेरो मामाङ्खे’ नेपालका हजारौं
बिकट गाउँहरुको प्रतिनिधि गाउँ पनि भएकोले मोटरबाटोले छुन अझै दशकौं कुर्नुपर्छ होला ! आशा छ, यो लेख आफ्नो जन्मस्थल देशका दुर्गम गाउँमा भएका लाखौं पाठकहरुको प्रतिनिधि ‘सत्यकथा’ हुनेछ।

अफ्रिकाबाहेक नेपाली पुगेका सबै महादेश टेक्ने अवसर पाइयो। अवसरले नै दुई दर्जनभन्दा बढि राष्ट्रहरुको यात्रा गरायो। संसारका सयौं शहर शयर गर्ने साइत जुर्‍यो। असंख्य पर्यटनस्थल अवलोकनको मौका मिल्यो। जीवनका सामान्य आवस्यकता पूरा भएकै थिए। तर भित्री हृदयमा एउटा अतृप्त इच्छा सलबलाई रहेको थियो– आफूले पहिलो पाइला टेकेको जन्मस्थललाई स्पर्श गर्ने ! त्यो इच्छा पनि पनि यसपटक पूरा भएको छ। यस उपलक्षमा मेरो जन्मस्थल ‘भँडारीबारी’मा तपाईंहरुलाई पनि ह्रदय खोलेर स्वागत गर्न चाहन्छु।

०३० साल बैसाखमा जन्मिएको म। कार्तिक ठूली एकादशीको दिन काका र बुबालाई सदाकालागि बिदा गरियो। ०३१ सालमा मावली गाउँ खेवाङ्तिर बसाईं जन्मभुमी टेक्ने मौका मिलेको थिएन। तर ३८ बर्षपछि आज त्यो महान् माटोमा पाईला राख्दैछु। माटोको मायाको यो गाथाले तपाईंलाई पनि तान्नेछ भन्ने अपेक्षा गर्दछु।

दशैंको पूर्व सन्ध्या । काठमाण्डौबाट भद्रपुर-इलाम-फिदिमहुँदै ‘भँडारीबारी’सम्मको यात्रा स्मरण हो यो । मावलीगाउँ ‘खेवाङ्’बाट बिहानको तिनबजे काका शेखर र मावलीभाइ बद्रिसहित् जन्मगाउँको यात्रा शुरु हुन्छ । जंगलको बाटो, राँकोको प्रकास, तुसारोको चिप्लो– चिप्लिएर घुँडा र ढुँगाको युद्ध कतिपटक भयो, गनिसाध्ये छैन । भोक र तिर्खाको पिंडा भनिसाध्ये छैन । तर जन्मथलोको तरङ्ग यति चुम्बकिय हुँदोरहेछ कि कठिनभन्दा कठिन परिस्थितिमा पनि पाईलाहरु आफ्नै लयमा चल्दा रहेछन् ।

कैले ठाडै उकालो त कैले ठाडै ओह्रालोको यो सातघण्टेयात्रा कल्पनाको सागरमा पौडिदै सम्पन्न भएको पत्तै भएन । जब पाईला तुसारोमा चिप्लिन्थे, तब मेरी आमाका आँशुको याद आउँथ्यो । तिसबर्षको उमेरमा पतीवियोगपछि ७ जना भल्ट्याङ्भुल्टुङ् च्यापेर माइतीघर फर्किएकी आमाका आँशु यही बाटोमा कति झरे होलान्, भावुक हुन्छु ! मिर्मिरेमा अलैंची टिप्नेहरुको सऱ्याक सुरुकको आवाजलाई पिताजीको ‘आत्मा’ पसिना बगाईको ठान्थें, र भ्रमित हुन्थें ! यस्तै भ्रमहरुसंग भौतारिंदै मिर्मिरे हुँदा हामी कावेली नदीमा पुग्छौं, जुन नदिमा मेरा आधा दर्जन पुर्खाका अस्तुहरु पनि बगेका छन् ।

बिर्तामोडबाट पाँचथरको गणेशचोकसम्म सुबिधासम्पन्न यात्रापछि शुरु हुन्छ-‘गल्ड्याङ् गुल्डुङ् एक्सप्रेसमा रामनाम यात्रा ।’ पञ्चायतकालका शहीद हरि नेपालको गाउँ ‘सिनाम’को पंचमीसम्म ‘खाल्टाखुल्टी हाइवे’ गएपछि यात्रा अगाडी बढ्छ,
‘एघार नंबर पैदल यातायात’बाट ! हिरुवादिन, तेल्लोक, पेदाङ्हुँदै मेरो मावलीगाउँ ‘खेवाङ्’ पुग्दा इतिहासका पानाहरु एकपछि अर्को गर्दै पल्टिन थाल्छन, तिनलाई मा सदृस्य सम्झने प्रयास गर्छु !

यो गाउँमा मैले आफ्ना वाल्यकालका ‘सुनौला सातवर्ष’ बिताएको बिताएको छु । तर जस्तो छोडें, त्यस्तो रहेनछ ! योजना आयोगको दुरदृष्टि नपरेपनि जन सहकार्यको कारणले ‘पेल्ट्री सेट’बाट त्यो बिकट पहाड झलमल्ल बनेको रहेछ !यातायातको नाममा पाइला गन्दै हिड्नुको बिकल्प नभएपनि बाटोमा बिदेशी कञ्चनजंघा आरोहीहरु बग्रेल्ती भेटिंदा रहेछन् । उद्योगधन्दाको नामो निसान नरहेपनि अलैंची खेतीबाट छानामा ‘डिसहोम’ जडान गर्नेहरु ‘साँगादिन’भरी देख्दा गर्वले छाती फुलेर झण्डै सर्टका टाँक चुडिएनन् !

मावली गाउँ ‘खेवाङ्’ले हामीलाई ‘झोलीका देउता’सरह स्वागत र सम्मान गऱ्यो । ‘खेवाङ्’ लिम्बु भाषा भएपनि त्यहाँ लिम्बु सहित् बाहुन, क्षेत्री, कामी, दमाई,नेवार, गुरुङ् लगायतका जातीहरु बसोबास गर्दछन् । दशैंको मुख थियो, लिम्बुनी माइजुहरु घर रंग्याउन कमेरो र मझिटोको ‘कलर कम्बिनेसन्’ गरिरहेका थिए । लिम्बु मामाहरु सबै जातीका युवा समेटेर तिहारको तयारी गरिरहेका देखिन्थे । सामाजिक सञ्जालमा हुने ‘अराजक लडाईं’को दुर्गन्धले मेरो ‘खेवाङ्’लाई आजसम्म गिजोलेको रहेनछ । ‘बाहुनबाद’ र ‘जातीबाद’को भालेजुधाईमा खेवाङ् अझैं ‘भाइचारा’को शन्देश बोकेर ठिङ्ग उभिइरहेको
पाउँदा मनमनै त्यो माटो र पानीलाई सलाम टक्राऐं ।

ए, म त तपाईंलाई मेरो जन्मथलो पो लैजादैछु, हगि ! उहाँ मेरो कान्छा काका, शेखर ! आफु बित्नु अघि बुबाले मलाई उहाँकै जिम्मा लगाउनु भएको थियो रे–‘एकमुठीको छ मुठे, मर्न नदिनु’ भन्दै ! बिचरा काकु ! हेर्नोस् त, कैंडा लागेर हिड्नै सक्नु भएको छैन तरपनि जन्मथलोको चुम्बकले उहाँलाई बेस्सरी तानि रहेको छ ! आउनोस्, काकु, आउनोस् !!

पैदलयात्राको दुईदिन पछि । हुर्रे ! लौ, आईपुगियो मेरो मामाङ्खे ! ‘ममहांग’ (मम नामका लिम्बु राजा)को गाउँ ! ‘माबो’ थरका लिम्बुहरुको थात थलो ! सयौं वर्षअघि ठराईतिरबाट आएका संग्रौला, खरेल, सिवाकोटीहरुको बासस्थान ! धर्म/संस्कार गर्न पाँचथरबाट डेढसय बर्ष अगाडी झिकाईका मेरा पुर्खाको कर्मभूमि !!

अहिले त ९५ प्रतिशत ‘माबो’हरु बस्दा रहेछन् । केही क्षेत्री र दमाइजातिमात्र । ‘अहा, कति राम्रो घर, गाबिस भवन हो ?’ सयबर्षको हाराहारीमा पुगेका पूर्व गोर्खा सैनिक फूल बहादुर माबोले ‘लिम्बुवानी खस लवज’मा जवाफ फर्काए– ‘आरे हाओ, के को गाबिस हुन्थ्यो, लिम्बु सांस्कृतिक संग्राहालय नि हाओ ।’ एकमात्र लिम्बु संग्राहलय, कञ्चनजंघा ट्रेकिङ रुट, आधार शिबिरबाट नजिकको दोश्रो गाबिसजस्ता थुप्रै परिचय बोकेको ‘मेरो मामाङ्खे’ले पनि एकराते मिठो माया र सम्मान दियो !

कसैले ‘सेकेण्ड सरको छोरा’ त कसैले ‘जेठा पण्डितको नाती’ भनेर संबोधन गर्नुभो । मितेरी संबन्ध भएका लिम्बुहरुले ‘भतिज’को मान् दिनुभयो भने मावली मित साइनो रहेका दर्जीहरुले ‘भान्जा’को संमान गर्नुभयो । संमान कार्यक्रममै काकाले कानमा खुसुक्क भन्नुभयो–‘ यो मित साईनोको संस्कृति र माटोको माया अरु संबन्धभन्दा निकै बलियो पो हुन्छ त !’ बिमतीको कुरै थिएन, मैले सहमतीमा टाउको हल्लाऐं ।

म कल्पना गर्छु, यो सत्यकथा तपाईंहरु मध्ये धेरैजना मिल्नसक्छ । तपाईं हामी कोही कुनै दुर्गम गाउँबाट स्थानीय बजार झऱ्यौं होला ! बजारबाट शहरमा बसाईं सऱ्यौं होला ! शहरबाट राजधानीमा स्थायी बसोबास थालियो होला ! कतिपयले देश नै छोडेर युरोप, अमेरिका, बेलायतमा घरजम गर्नुभयो होला ! तर…हाम्रो हृदयमा जन्मस्थलको तरङ्ग जिवनपर्यन्त रहन्छ । किनकी जन्म, जननी र जन्मस्थल- यी सबै मानिसको रगतसँग जोडिएका सम्बन्धहरु हुन् ।

हरेक मान्छेकालागि आफ्नो जन्मस्थल एउटा तिर्थस्थल हुनुपर्दछ । सयवटा तिर्थ भन्दा एउटा जन्मस्थल आनन्ददायक हुँदोरहेछ । त्यसैले यसो गरौं न, अब ‘बर्थप्लेस टुरिज्म’को ‘कन्सेप्ट’ अगाडी बढाऔं । म तपाईंलाई मेरो ताप्लेजुङ्गको मामाङ्खे घुमाउने ‘स्कीम’ ल्याउँछु । तपाईं मलाई लमजुङ्को घलेगाउँ डुलाउने कार्यक्रम बनाउनोस । उहाँले जुम्लाको गाउँ पैयां ‘भिजिट’मा लैजानुहुन्छ । तिनले संखुवासभाको मादीको मजा चखाउने योजना बनाउलान् ! किनकि स्थाई रुपमा थात्थलो छोड्नेहरुले सके बर्षमा एकपटक, नसके जिवनमा एकपटक जन्मस्थल पुग्नैपर्ने रहेछ । यस्तो भयो भने जन्मस्थलले छुटेका आफन्त भेटेर फुरुङ्ग हुनेछ, हामीहरुले बिर्सिएको माटोको सुगन्ध पाएर आनन्दित महसुस गर्नेछौं ।

अब मेरो जन्मघर पुग्ने बेला भयो है ! लु, हेर्नुस, पारी ‘हाङ्गोलाको’ अनकण्टार भीर, वारी चिहानडाँडा ! अनि बिचमा रहेको यो ऐतिहासिक घर !! स्थानीय शिक्षक लक्ष्मी ताम्लिङ्ले भन्नुभयो–‘ ल मनोजसर, तपाईं जन्मिएको भँडारीबारी भन्ने घर यही हो ।’ …हर्षासुले मेरा आँखा भरिए । घर वरिपरी घुमें । दलिन सुम्सुम्याऐं । भित्तो छामें । अँगेनामा बसें, बार्दलीमा चढें । संझना नभएपनि वाल्यकालका घटनाहरुलाई कल्पना गर्दै अँगेनाको डिलमा थचक्क बसें ।

घरमा अहिले स्थानीय ‘लिम्बु काका’ बस्नुहुँदो रहेछ । ससाना भाइबैनीहरु रहेछन् । उनिहरुलाई चकलेट दिएँ । भावनामा आएर अंगाले हालेर मेरो कथा सुनाउन थालें । बाहिरबाट टिका माबोकाकाले ठट्टा गर्नुभयो–‘भाइबैनीहरुसंग अंश मागेको हो कि क्या हो मनोजजी, छिटो निस्कनु पऱ्यो ?’

निस्कने बेलामा फेरी ‘म जन्मिएको मझेरी’ नियालें । ‘बुबा बितेको बलेंसी’मा टोलाऐं । ‘आमा रोएको आँगन’मा एकोहोरिऐं । अनि त्यही आँगनको एकमुठ्ठी माटो टिपेर झोलामा राखें । अनि जन्ममुभी र जन्मदातालाई मनमनै धन्यवाद दिएर साथीहरु संगै कावेली नदितिर ओरालो लागें, गीत गुनगुनाउँदै– ‘बायाँ पर्‍यो कञ्चनजंघा, खेवाङ् पर्‍यो दायाँ यो छातीको दायाँ बायाँ मामाङखेको मायाँ !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com