‘मान्य सस्सेहरु’ले हैरान पारेपछि सभामुख पुगे उद्घोषण तालिममा, ‘निम्छरो कुण्ठा’ नबोक्न आग्रह !

प्रकाशित मिति: २५ बैशाख २०७६, बुधबार ०३:५८

सरल र शालिन सभामुख मानिने कृष्ण बहादुर महराले ‘उद्घोषण तालिम’ लिने हुनु भएको छ । उहाँले सदनमा बोल्दा धेरै शब्दहरुको उच्चारण अस्पष्ट हुने गरेको क्यारिकेचर विज्ञहरुको भनाईपछि सभामुख स्वयम् यो निर्णयमा पुग्नु भएको हो ।

गोप्य शूत्र भन्छ, ‘एकदिन उहाँ घरमा बसेर एफएममा समाचार हुनुहुन्थ्यो । त्यहाँ कसैले ‘माननीय सदस्यहरु’ भन्नु पर्नेमा ‘मान्य सस्सेहरु’ उच्चारण गर्यो । तत्कालै सभामुखले गलत उच्चारणलाई संसदको रेकर्डबाट हटाईएको रुलिङ् गर्नुभयो ।तर, सभामुखनी भाउजुले यो सदन नभएको र त्यो आवाज उहाँकै भएको संझाएपछि सभामुख उद्घोषण तालिममा जाने सोचमा हुनुहुन्थ्यो ।

हिजो सरकारको नीति तथा कार्यक्रममाथीको छलफलका क्रममा पनि सभामुखका थुप्रै शब्दहरु अस्पष्ट थिए । संसदमा सबैभन्दा बढि प्रयोग हुने ‘स्पष्टिकरण’, ‘प्रधानमन्त्री’, ‘ध्यानाकर्षण’, ‘ब्यवस्थापिका’जस्ता शब्दहरुको उच्चारण प्रष्ट सुनिंदैनन् । यस बाहेक बोल्दा धेरै पटक शब्द अड्किएको, रड्किएको र भड्किएको देखिन्छ ।

नाम नबताउने शर्तमा माननीय गोप्यलाल चौधरीले भने, ‘सभामुखले राष्ट्रियता भन्दा ‘रास्ता’ सुनिन्छ । प्रजातन्त्र भन्दा ‘पन्त्र’ बुझिन्छ । उहाँबाटै प्रभावित भएर आजकाल त मपनि संघियतालाई ‘संगिता’ भन्न थालेको छु ।’

प्रतिनिधि सभा नियमावली – २०७५ मा लेखिएको नछ– ‘संसद भनेको नेशनल ईभेन्ट हो, सभामुख त्यसको मास्टर अफ सेरेमोनी ! मास्टर अफ सेरेमोनीको कार्यक्रम सञ्चालन र शब्द उच्चारण सरल, सुन्दर र प्रष्ट हुनुपर्छ । त्यसो नभएमा तालिमको ब्यवस्था गर्नुपर्छ ।’

प्रतिपक्षी दलका एक सांसदले त तिसम्म निम्छरो कुरा गरे कि ‘बोल्दाखेरि सभाभुखज्यू किन लर्वरिनु हुन्छ ? यस बिषयमा एउटा ‘खानपिन आयोग’ गठन गर्नुपर्छ !’

सोही नियमावलीका आधारमा ‘सभामुखको उद्घोषण कला सन्बन्ध’मा खुला टेण्डर आह्वान गरिंदै थियो । तर, मनोज भेटुवालको कम्पनीले पनि टेन्डर हाल्ने खतरा देखिएकोले निवासमैं गोप्य तालिम थालिएको छ ।

‘अहिले उहाँ शिव ताण्डव तोत्र, जिबरिश भाषा तथा बेदका रिचाहरु पढ्दै हुनुहुन्छ । एक महिनापछि गगन थापा, केपी ओली, प्रचण्डजतिकै प्रष्ट उत्चारक हुनुहुनेछ ।’ उद्घोषण प्रशिक्षक दिनेश एडिसीले नाम छाप्न अनुरोध नगर्दै  बताए ।

सत्तापक्षका भावी सांसद जग-अनाथ खतिवडाले भने– ‘सबै सभामुख सुवास नेम्बाङ् हुँदैनन् जसले शुद्ध, प्रष्ट र सुमधुर बोलुन् ! तर, वर्तमान सभामुखले प्रष्ट उच्चारण गरे सुनमा सुगन्ध हुन्थ्यो, अस्पष्ट हुँदा त गुंदपाकमा गुगन्धजस्तो भयो । प्राक्टिस मेक्स कमरेड परफेक्ट !’

 

*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्यमात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी, ब्यहोरा र शैलीसंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधान गर्ने सुन्दर अवसर पनि बन्नेछ  । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् !

तस्विर सौजन्य : सामाजिक संजाल  

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com