कलाकारहरुमा ‘फेसएप’ आतङ्क – ‘म त बित्छु कि क्या हो !’

प्रकाशित मिति: २ श्रावण २०७६, बिहीबार ०४:१०

‘फेसएप’मा फोटो खिच्नु भयो ? छैन भने १० पटक सोचेर खिच्नोस् । विज्ञहरुले भनेकाछन्, यो एप प्रयोग गर्दा डाटा चोरीको खतरा छ । चोरी भएका डाटा फोहोरी काममा प्रयोग हुन सक्छन् । फँस्ने फँसि हाल्यौं, बाँकीले विवेक पुर्याउनु होला ।

विज्ञहरुको भनाईमा कति सत्यता छ, त्यो पुष्टी हुनै बाँकी छ । त्यसपछि थप बिश्लेषण गरौंला । तर, फेसएपमा फोटो खिच्नेहरुका अनुभव भने अनौठा छन् । ‘बुढो हुँदा कस्तो देखिन्छु’ भन्ने जान्न खोज्दा साँच्चिकै बुढो हुन पुगेको धेरैको अनुभव छ ।

 

‘एकाबिहानै मेसेन्जरमा एउटा बुढोको फोटो आयो । बाउको होला भन्ठानेको, आफ्नै पो रहेछ ! रमाईलो राखेर पोष्ट गरि हालें । एक घण्टापछि त आँखा धमिलो हुन थाल्यो । बुढीलाई चस्मा मागें । लौरो टेक्दै पो बाहिर निस्किन्छे ! यो के अचम्म भो भन्दै दुबै हांस्न थाल्यौं, हांस्दा त दाँत नै छैन भन्या !’ –दीपकराज गिरि, कलाकार

‘यसैपनि माग्ने बुढो, त्यसमाथी ‘फेसएप’ गरेपछि थाङ्ने बुढो भईएछ ! त्यस्का बाजे ! त्यो ‘फेसएप’ फोटो पोष्ट गरेपछि है, मलाई त भननन रिंगटा लाग्न थाल्यो । भित्ता समातेर उभिन खोजेको खुट्टै टेकिन्न बा ! धन्न छोरोले लौरो ल्याईदियो, अनि उभिएँ । हैन, यो फेसएप वालाले र्ईन्टरनेटबाटै बुढ्यौलीको भाईरस सल्काई पठाए कि क्या हो ! हल्का रमाईलो !!’
-केदार प्रसाद घिमिरे,
माग्ने बुढा

‘बिहान दीपक गुरुले यस्तै फोटो हालेको रहेछ । अरु साथीहरुले पनि भ्याई सकेछन् । पछाडी परिएला भनेर मैंले पनि हाली हालीं । अहिले त मामा ! भन्नुहुन्छ, खोकी लागेर, ढाड दुखेर, हिंड्न नसकेर खपि खानु छैन । फोटोमा मात्र बुढो बनाउनी होला भन्ठानेको, सांच्चीकै सुताउंदो रहेछ नि ।’  -जितु नेपाल, मुन्द्रे

‘बस्न पाएँ भनेर थ्याच्च नबस्नु, खिच्न पाएँ भनेर ख्याच्च नखिच्नु भन्थे, हो रैछ । फेसएपमा फोटो खिचेपछि गर्धनको मासु झुण्डिएजस्तो देखिन्छ । दम बढेजस्तो हुन्छ । आयु घटेजस्तो लाग्छ । पिसाब फेर्दापनि जुत्ता भिज्लान् जस्तो हुन्छ । म त बित्छु कि क्या हो !’ लक्ष्मण गाम्नागे, अध्यक्ष, सिस्नुपानी नेपाल

‘खै, बिर्सिएँ है मैले त सप्पै कुरा ! चिलिम हुने बेलामा फिलिम न सिलिम् ! अब उहिले त के के गरियो गरियो गरियो, अहिले भन्यो भने त लाज पो लाग्छ ! सिनेमा खेलियो । नांचियो । हाँसियो । गर्नेजति सबै गरियो । अहिले संझिएर के गर्नु । ती जमाना गए, यी जमाना आए, पुराना दांत हराए, नयाँ पलाए !’ -दीपाश्री निरौला, कलाकार

‘संपूर्ण डाटा रसियन एक्सपर्टले तान्छन् भन्ने थाहा पाएको भए किन यस्तो गर्थें र बाबु । अहिले मेरो ईमेल प्रयोग गरेर धमाधम पैसा कमाउंदैछन् रे । मेरो फेसएप फोटो प्रयोग गरेर रसियन भोड्काको बिज्ञापन भैरा’छ । मुद्धा हालौं, कहाँ हालौं । बुढो मान्छे, मुद्धाभन्दा सुत्दा ठिक भनेर सुति रहेको बाबु !’ मनोज गजुरेल, सम्पादक, गजुरीयल डटकम


‘के भन्नु भो ? कान सुन्दिन र पो ! खै, हिंजोदेखी के भयो के ! भात खाँदा अड्किन्छ । पानी पिउँदा सर्किन्छ । निन्द्रापनि पातलो छ । सपनापनि नराम्रो देख्छु । फेसएपमा फोटो खिचेदेखी बुढी पनि ओछ्यान परी । तीर्थ लैजाउ भन्दैछे !’ -सुबोध गौतम, एमदुमसंगले

 

*डिस्क्लेमर

-गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्यमात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी, ब्यहोरा र शैलीसंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधान गर्ने सुन्दर अवसर पनि बन्नेछ  । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् !

तस्विर सौजन्य : सामाजिक संजाल  

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com