यो हो झगडाको कारण !

प्रकाशित मिति: १ भाद्र २०७६, आईतवार ०५:३६

 

श्रीमान आए गलेर साँझमा,
चर्केर कराए बच्चाहरुको माँझमा ।
साँझ परिसक्यो, के गर्दैछ्यौ ऐले ?
पुरा दिन बितिसक्यो, के के गर्यौ पहिले ?

उनि पनि के कम श्रीमान भन्दा,
चर्केरै कराइन छोडेरै धन्दा ।
बिहान गएर साँझमा आ’छौ,
घरको दु:ख के थाहा पा’छौ ?
कति होलान मेरा काम संझेर गुन,
थाहा छैन भने ध्यान दिएर सुन ।

बिहानीको निन्द्रा त्यागेर सबेरै उठछु,
तिम्रो र सन्तानको सेवामा जुट्छु ।
नुहाउन भ्याउदिन मुख मात्र लोपार्छु,
कपाल कोर्न भ्याउँदिन औंलाले कोपर्छु ।

चियाको चुस्की थमाउछु तिम्रै हातमा,
कुकीज र बिस्कुट ल्याइदिन्छु साथमा ।
केटाकेटी उठेर  सधैं झगडा गर्ने हो,
पिट्टा लाउँदै तिनलाई फकाई  फुल्याई गर्ने हो ।

एउटा हातले केलाई निफुनि गर्ने हो,
अर्को हातले चामल कचौराले भर्ने हो ।
सरसफाई गर्दै आफैं आगो फुक्,
मैले आफैं बन्नु पर्छ घरको कुक् ।

कुचो र खरेटो आफ्नै हातले अँठ्याउछु,
लत्ता र कपडा म आफै पट्याउँछु ।
केटाकेटीको झगडा मैल्यै नै मिलाइदिने,
फाटेको तिनका झोला आफैंले सिलाइदिने ।

पकायो, खुवायो मेहनत गरी,
अप्जस  सुन्नु पर्ने मैले सधैभरी ।
नन्द र आमाजु, ससुरा र सासु,
मान सम्मान गर्नै पर्छ, जति झरुन आँसु ।

गाउँघर र अफिसमा चर्चा हुन्न मेरो,
सन्ततीलाई  सोध्छन बाबु को हो तेरो !
दशौं खालका काम छन् नाम छ एक,
काम एउटा भए पनि उपमा छन अनेक ।

पुरानो चलनमा यसलाई भन्छन बुहार्तन,
जुठो पुरो भाँडाकुँडा माझ्नै पर्यो बर्तन् ।
अंग्रेजले ५ अक्षरमै बात्तो बसाएछ,
दशौं काम छन, एक शब्दमै मलाई फँसाएछ ।

अंग्रेजिमा भन्छन घरको कामलाई ‘chore’,
‘chore’, कै पछि नलागे पुरा हुन्न कोर्ष !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com