रिचा, के महाभारत हो यो- ‘कमेडी च्याम्पियन !’

प्रकाशित मिति: ४ आश्विन २०७६, शनिबार ०७:३२

‘यदा यदा हि मनुस्यम्, पतला भवतु हालतम् ।
अभ्युत्थानं कमेडीस्यम्, तदात्नामम् च्याम्पियन् ।।
परित्राणाय मनोरञ्जनम्, बिनासाय टेन्सनम् ।
स्माईलम् स्थापर्नाथाय, संभवामी युगे युगे…..।।’
अर्थात्,
हे गर्जुन ! जब जब धर्तीमा नकारात्मकताको दुर्गन्ध फैलिन थाल्छ, तब तब आकासबाट सकारात्मकताको सुगन्ध बर्सिन थाल्छ । मनुस्यमा दुःख, पिंडा, निराशा, लोभ, मोह, घमण्ड, ईर्ष्या बढ्दै गएपछि एउटा यस्तो पात्रको जन्म हुन्छ जसले हाम्रो अनुहारमा हाँसो, मनमा खुशी र जीवनमा आनन्द ल्याउँछ ।
गर्जुन ! प्रत्येक दशबर्षमा युग परिवर्तन हुने गर्दछ । मह, सन्तोष पन्त युग, शाम्दे शेर्पा, मनोज गजुरेल युग, दीपक-दीपा, जीतु, धुर्मुस-सुन्तली युग, सन्दीप क्षेत्री, राजा राजेन्द्र युग ! यसैगरी अब नेपाली हास्यव्यंग्य संसारमा अर्को युग पुरुषको जन्म हुँदैछ, उसको नाम हुनेछ– ‘कमेडी च्याम्पियन !’

गर्जुन ! संसारमा तिम्रो भन्नु के छ ? तिमीले जे भनेर हँसायौ, त्यो तिमीभन्दा पहिले अरुले नै गरि सकेको थियो । अब आउनेले जसरी हँसाउने छन्, तिम्रै बिषय लिएर हँसाउनेछन् । केवल समय, शैली, उर्जा र परिस्थिति फरक हुन्छ । यही नै श्रृष्टिको नियम हो । ब्यर्थै किन चिन्ता गर्छौ !

गर्जुन ! यसको अर्थ यो हैन कि तिम्रो युग समाप्त भयो । सिर्जनशिलताको हतियार भएसम्म कमेडीको कुरुक्षेत्रमा कोहीपनि ‘डेट एक्सपायर्ड’ हुँदैन । उ न जन्मिन्छ, न मर्छ । केवल उसको रुप परिवर्तन हुन्छ । ‘कमेडी च्याम्पियन’ पनि तिम्रै परिमार्जित रुप हो । दिल खोलेर सहयोग र स्वागत गर गर्जुन !

हे गर्जुन ! ‘कमेडी च्याम्पियन’ कौरव बिनाको महाभारत हुनेछ । पाण्डवहरुबिच नै कमेडी वार चल्नेछ । हाँसोका हतियार उठ्नेछन् । ब्यंग्यका वाँण छोडिनेछन् । काउकुती र लुटपुटीको धमाका हुनेछ । ताली र हाँसोको युद्ध मैदानबाट एकजना ‘च्याम्पियन’ उठ्ने छ जसले कसैमा हारको भाव आउने छैन । खुशीको शन्देश दिनेछ ।

गर्जुन ! नेपाल आईडलको युद्ध लडि सकेका, आईडिया रुपी मिसालको भण्डार भएका बिशाल भण्डारीले कमेडी च्याम्पियनको निर्देशन गर्नेछन् । निर्माणको संपूर्ण अधिकार लोकप्रिय भैसकेकी नायीका केकी अधिकारीको हुनेछ । यो कार्यक्रम सुन्दरता र प्रतिभाको सिमा खानी रिमा विश्वकर्माको भरमा चल्नेछ । जान-पहिचान एण्ड नन अदर देन 😀 सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र रिचा शर्माले कमेडीको यो महाभारतमा उत्प्रेरकको जिम्मेवारी सम्हाल्नेछन् ।

त्यसैले हे गर्जुन ! संसारभरीका नेपाली जातीलाई प्रतिक्षा गर्नोस् भनि देउ । अब रुने, रुवाउनेको हैन, हाँस्ने हँसाउनेको पालो हो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com