बेमौसमको व्यंङ्ग्य : म गर्छु कोरोनाको कुरा, काका गर्छन् करुणाको कुरा !

-केशबराज ।

एकदिन शेखर काकाले खाना खाएर मुख खोकल्दै मनको एउटा कुरा ओकले – ‘दाम्पत्य जीवनमा तीनवटा चरण आउँछन् भतिज ।’ मैले सोधें – ‘कुन कुन चरण काकाश्री ?’
आफ्नो दायाँ हातको चोरी औंलो खडा गरेर बायाँ हातको कान्छी औंला देखि भाँच्न सुरु गरे – ‘पहिलो, सुँघासुँघ, दोश्रो, ठूँगाठूँग र तेश्रो, रुँघारुँघको चरण पर्दछन् !’

मैले पनि धार्नीको टाउको हल्लाएँ र पावाको जिब्रो फ़ड्कार्दै भनें – ‘सुँघासुँघ भनेको एक अर्काले पालै पालो अत्तरको वासना लिंदै मजा लिएजस्तो, ठुँगाठुँग अर्थात् चारोको निहुँमा भालेपोथी परेवाले एकले अर्कालाई ठुँगेर बदला दिएजस्तो र रूँगारूँग भनेको बेत बसेर थाकेकी बुढी गाईको छेवैमा बसेको लखतरान साँढे उघ्राउँदै जिए जस्तो रहेछ ! हैन त काकाश्री ?’

मेरो विश्लेषण सुनेर काका एकपटक धक फुकाएर हाँसे ! तर मेरो तर्कले उनको मनको कुण्ठामा पानी खन्याउँन सकेन ! त्यसैले काका कुरा पुर्याउँन सुरिए- ‘हेर भतिज, तिम्रो बुझाईले पात चाहिं खेलायो तर जरा केलाउँन सकेन !’

काकाले थपे – ‘कुरा यस्तो हो- सुरुसुरुमा मान्छे भन्दा बलवान उनिहरुको यौवन हुन्छ । मिलनका तानाबाना उसैले बुन्छ ! एकैछिन पनि टाढा जानै दिंदैन, एक्लाएक्लै खानै दिँदैन ! मिठो मसिनो केही चाहिन्न, भात भए पुग्छ, सिरक डसना चाहिन्न, रात आए पुग्छ ! दुबैले यसैलाई ठानेका हुन्छन् जीवन मरण, यसैलाई भनिन्छ, सुँघासुँघको चरण !’

बैंसको खेलो सेलाउँदै जान्छ, यथार्थ कुरा केलाउँदै जान्छन् । अनि सुरु हुन्छन् कामका कुरा, सुमधुर बाणी बन्न थाल्छन् फलामका छुरा ! बाबुले जानेका कुरा छोराले जान्नै पर्ने हुन्छ, सासुले भनेको कुरा बुहारीले मान्नै पर्ने हुन्छ ! आमाले सोध्लिन् – दुइजना मात्र रहन कहाँ पाइयो, बुढेसकालमा हामीलाई खेलौना चाहिन्छ ! यथार्थ कुराले बल्ल मन छुन्छ, दौडधुप र धपेटी अब सुरु हुन्छ ! व्वाक्क र ब्यक्क, चुँ चुँ र च्याँ च्याँ, खाइ खाइ र खुइ खुइ, स्याँ स्याँ र फ्याँ फ्याँ ! बच्चा बच्चीको झगडामा बाउआमाको रोइलो ! यो हो ठूँगाठूँगको चरण !

जिन्दगी सधैं रंगिन हुँदिन भतिज, एकदिन शक्तिले मान्छेलाई छोड्छ । टुटेका मनहरुलाई बाध्य बनाएर जोद्छ  ! जिवनको उर्जा सबै सन्ततीलाई बढाउनमैं पोखिन्छ । सम्पति जति पढाउँदै सकिन्छ । उता, छोरी ज्वाँइका घर जान्छिन्, यता छोरालाई बुहारीले तान्छिन् ! उनिहरुले सके सम्म पकाउने र खाने हो, नसक्दा खुरुखुरु ओछ्यानमा जाने हो । दिनभरी आँगनमा बसेर समय कटाउँछन्, बटुवालाई हेरेर मन बुझाउँछन् ! साँझ परेपछी अँग्यानाको डीलमा बसेर गर्छन् उँघाउँघ ,यसैलाई भनिन्छ बुढेसकालको रुँघारुँघ !

काकाको कुरो मलाई त मन पर्यो । तपाईंलाई नि ?

तस्विर साभार : सामाजिक संजाल

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com