कलाकारिताभन्दा कडा राहतकारिता ! – कोरोना कथा २०७६

 

-दीपक आचार्य ‘काकु’
( कलाकार / निर्देशक  )

लक डाउन को १२ औं दिनपछि आफुले जम्मा गरेको खानेकुरा सकिएछ । आफु बस्ने नजिकैको एउटा खाद्यान्न पसल खुलेको थाहा भयो । त्यहींबाट केही खानेकुरा किनेर फर्कँदै थिएँ । बाटोमा एकजना बृद्ध भेटिए जो लौरो टेकेर उभिई रहेका थिए ।

उनि निकै आशावादी अनुहारले यताउता हेर्दै थिए । मलाई कौतुहुलता जाग्यो । नजिकै गएर सोधेँ- ‘बुबा, लक डाउनमा यसरी बाहिर बस्न मिल्दैन नि ! कसैलाई पर्खनु भएको कि केही खोज्नु भएको ?’ मेरो सम्मानपुर्ण उत्सुकताले उनको मुहारमा केही भरोषाको भाव छल्कियो । नजिकै आएर मलाई प्रतिप्रश्न गरे- ‘बाबु, यो फेसबुक भन्ने ठाउँ कहाँ छ ?’

प्रश्न अनौठो लाग्यो । मैले जानेको जवाफ फर्काएँ- ‘फेसबुक त सबैको हात-हातमा छ बुबा । तर किन सोध्नु भएको ?’ उहाँ अलि अलमलिनु भयो । त्यसपछी आफ्नो कुरा शुरु गर्नु भयो – ‘खै बाबू, केही खान नपाएको ४ दिन भयो । धेरै आउँछन्, राहत दिने कुरो गर्छन् । मेरो अनुहार नियाल्छन् । अनि भन्छन्- ‘तपाईंले त राहत पाईसक्नु भयो, हामीले फेसबुकमा देखेको ! तर त्यो फेसबुकले मलाई दिएको छैन । त्यसलाई भेटेर मेरो राहत लिन पर्ने । कहिँ भेटिनँ बाबू ।’

म अलिक असमन्जस्यमा परेँ । आफ्नो मोबाइल निकालेर फेसबुकको बारेमा बताउन पर्‍यो भनेर फेसबुक खोलेँ । नभन्दै फेसबुकको भित्ताभरी उनैले राहत लिँदै गरेको फोटो छाएको रहेछ । मैले फोटो देखाउँदै सम्झाउने कोशीस गरेँ – ‘बुवा, यी हेर्नुस् त, तपाईंले राहत लिएको फोटो छ त यहाँ !’

बुबाले आफ्नो धमिलो दृष्‍टिले नियालेर आफ्नै फोटो हेरे । केही सम्झिए । अनि फोटोको कथा सुनाउन शुरु गरे – ‘बाबु, अस्तीको दिन एकहुल युवाहरु आएका थिए । सबैले पालैपालो मलाई केही सामान समाउन लगाए । फोटो खिचे । अनी, अरुसँग पनि फोटो खिच्नुछ भनेर हिँडे । उनीहरु फ़र्किएपछि मैले खोलेर हेरें, एउटा चाउचाउ र बिस्कुट थियो, त्यहीं खाएँ । सकियो । बाबु, फेसबुकमा भएको मेरो राहतचाहिँ भेट्टाई देउ न । चारदिन भयो भोकै भएको !’

बृद्धको कुरा सुनेर म निकै भावुक हुनपुगेँ । अनि आफुले किनेर ल्याएको आधा सामान दिने निर्णय गर्दै भनेँ- ‘बुवा, त्यो फेसबुकमा दिएको मैले किनेर ल्याएको सामान छ, आधा तपाईं लिनुस् ।’ मेरो कुरा सुनेर फेरी अप्ठेरो मान्दै शर्त तेर्स्याए -‘फोटो न खिच्ने भएमात्र सामान लिन्छु है बाबु ।’

मैले फोटो नखिची केही सामान उनको हातमा थमाई दिएँ । अनि बाटो लागेँ । बृद्ध अझै त्यो फेसबुक कहाँ छ भनेर पर्खी रहेका थिए । फर्कँदै गर्दा मेरो मन मा एउटा प्रश्न खेली रह्यो -‘के फोटो न खिची राहत दिन मिल्दैन ?’ जुन प्रश्न अहिलेपनी अफुले आफैंलाई सोधी रहेको छु – ‘सेवाको पनि यस्तो निकृष्ट प्रचार हुन्छ र ?’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com