कोविडसँग लक डाउनका कुरा : लिभिङ टुगेदर, डाईङ सेपरेट !

 

-केशबराज गजुरेल

अनुकुलतामा त सबैले सम्भावना देख्न सक्छन्, प्रतिकुलतामा भनें बीर्सिन्छन् ! हामी प्रतिकुलताका चुनौती र बेफाइदा मात्र देख्ने बानी परेका छौँ । तर साकारात्म्क बन्न सके चुनौतीभित्र पनि सम्भावना देख्न सकिन्छ । आउनोस् अब कोरोनाको महामारी र लकडाउनको वरिपरी बसेर हामीले हासिल गरेका सकारात्मक उपलब्धि र भोलीका सम्भावनाको बारे कुरा गरौँ।

कोरोनाअघि ‘हुने खानेहरु’ कमाउन र जमाउन मै मस्त हुन्थे । ‘हुँदा खानेहरु’ रोजिरोटी जोगाउन मै ब्यस्त हुन्थे । दुवै न समयमा घर आउंथे , न परिवारसँ मायाँ साट्नै पाउँथे । आज तिनै मान्छेहरु घर घरमा थुनिएका छन् । पारिवारिक मालामा उनिएका छन् । क्षणिक नै किन नहोस्, घर-घरमा खुशी छाएको छ । यो लक डाउन र कोरोनाकै देन हो ।

हिजोका दिन सहज थिए  तर साथीभाई कसैले कसैलाई समय दिन भ्याउँदैनथे । सबै कमाउनमै ब्यस्त हुन्थे । कसैलाई धेरै कमाउनु थियो, कसैको जिन्दगी जोगाउनु थियो । नीजि फाइदामै रमाउनु मज्जा मान्दथे, साथी-संगी नभए पनि हुन्छ भन्ने ठान्दथे !

आज सबैसंग समय प्रसस्त छ । बैठकमा ठेला उठ्नेगरी घरै बस्नु परेकोछ । दिन कटाउन ओल्लो खाटबाट पल्लो सरेको छ । त्यसैले हिजो कतै जम्काभेट हुँदा लाज पचाउँदै ‘सरी यार, सम्पर्क नम्वर नभएर कुरा हुन पाएन’ भन्नेहरु आज गुगलबट नम्वर पत्ता लगाएर सम्पर्क गर्दै छौं ।

हिजो झिनामसिना कुरा कोही खोज्न चाहँदैनथे । दु:खको बाटो रोज्न चाहँदैनथे । तर, आज समय फेरिएको छ । सानातिना काम गर्नुपरे अर्काको भर पर्नेहरु आफैं मेहनत गर्न थालेकाछन् । थोरै नै किन नहोस्, आत्मानिर्भर हुने बाटोमा कदम चालेका छन् !

धेरै रुपयाँ खर्चेर बजारबाट ल्याउने तरकारीमा मात्र सन्तुष्ट नहुनेहरु करेसाारीमा फलाउन थालेकाछन् । आफ्नै बारीको एक मुठ्ठी साग टिपेर चुल्हो चलाउन थालेकाछन् ! धुलो धमिलो हेर्दा हेर्दै मोतिबिन्दु चढेका आँखाले करेसाबारीमा हरियो परीयो देख्न थालेको छ । चस्मा नलगाइ आफ्नो कथा लेख्न थालेको छ !

‘बाह्र छोरा तेह्र नाती, बुढाको धोक्रो काँध माथी’ भनेझैं हुने खानेका छोरा रंगिन सपना खेलाउँदै बिदेसिने गरेका छन् । हुँदा खानेका छोरा जिन्दगीका ब्यथा केलाउँदै परदेश भास्सिने गरेका छन् ! यीनै सन्तानको खुशीमा यौवन सिध्याएका बा-आमाहरु कोही एक्लो छन् भने कोही भोकभोकै रोएर मर्ने गरेकाछन् !

ऐले तिनको मनमा अलिअलि आशा पलाएको छ । घरैमा भएका छोरा देश नोछोड्ला की भनेर मन बहलाएको छ । उता परदेशमा अलिअलि कमाएका हरु स्वदेश फर्किउँ कि भन्दैछन् रे । रोजगारी गुमाएकाहरु कैले घर पुगौँ भनेर दिन गर्दैछन् रे !

विश्वास गरौँ, अब अवश्य केही हुनेछ । बाँझा खेत जोतिनेछन् । भत्किएका घरका भित्ताहरु पोतिनेछन् । परनिर्भर मनहरु आत्मनिर्भर बन्नेछन् ! सबै सन्तान सँगै बस्ने मौका आउला । सबैको मनबाट लोभ र अहंकार हराउला ! गजब छ – कोरोना मौकामा आएको छ । अजबका मान्छेलाई आफैंतिर फर्काएको छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com