सलहलाई ‘कक्रक्क पार्ने’ गीत भेटियो, साउन १५ गते रिलिज हुने !

प्रकाशित मिति: १५ असार २०७७, सोमबार १४:१४

कृषि मन्त्री घनश्याम भुसालले ‘सलह कक्रक्कै पार्ने सङ्गीत’ खोजी रहेको समाचार सार्वजानिक भएपछि कलाकारहरुको एउटा बलियो टोली त्यसतर्फ जुर्मुराएको छ । ‘ब्राण्डवर्थ प्रा.ली.’ले यस्तो शक्तिशाली गीतको निर्माण शुरु गरेको छ जसले सलहको कलहलाई एकै झमटमा समाप्त पार्न सक्छ ।

गीतमा मनोज गजुरेलको रचना, यमन श्रेष्ठको सङ्गीत तथा पशुपती शर्माकाे स्वर रहेको छ । यस ‘कक्र्याक कुक्रुक’ गीतमा चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, धिरेन्द्र प्रेमर्षी, सिताराम कट्टेलले अतिथी मोडलको भुमिका निभाउनेछन् ।

साथमा, सुरेन्द्र केसी, जोगिन्दर पानवाला, राजा राजेन्द्र, सुबोध गौतम, सुमन कार्की, दीपक आचार्य ‘काकु’, रवी डंगाेल, पुर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईया’, शन्देश लामिछाने ‘बट्टारे’, रुबिना अधिकारी, अर्जुन दहाल, भरतमणी पौडेल, टेक बहादुर कोईरालाको नृत्य रहनेछ ।

त्यसैगरी यसमा पहिलो कमेडी च्याम्पियन हिमेश पन्त, दले दाई, खबपु, मेक्सम गौडेल, सुरज भिरखोईरे लगायतको ‘कमेडी मेटल’ पनि हेर्न सकिनेछ ।

सलहलाई कक्र्याउन कृषि मन्त्रीले अमेरिकी हेभी मेटल खोजि रहेको बताएपनी संगीतकार यमन श्रेष्ठ भन्छन् – ‘नेपाल छिरेको सलहले अङ्ग्रेजी बुझ्दैन । त्यसैले यसलाई ‘कमेडी मेटल’बाटै कक्र्याउन सकिन्छ ।’

सलह कक्रक्कै पार्ने यो गीत साउन १५ गते बिभिन्न टेलिभिजन तथा सोसल मिडियाहरुबाट रिलिज हुने निर्देशक मोहन गजुरेलले बताए । ‘गजुरीयल डटकम’ र ‘ब्राण्डवर्थ प्राली’ले यसअघि ‘प्राईम अर्ग्यानिक बेसार’ उत्पादन गर्ने घोषणा गरिसकेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com