कमरेडले ‘कित्ता क्लियर’ गर्नुअघी…

प्रकाशित मिति: १६ पुष २०७७, बिहीबार ११:०९

सुमधुर संबन्धहरू एकैरातमा कसरी झुर हुन पुग्छन्, नेपालका पार्टीहरुबाट थाहा पाउन सकिन्छ । अझ ‘कम्युनिस्ट’हरु बिचको सम्बन्धबाट त ‘क्लियर कट’ थाहा हुन्छ ।

अघिल्लो रात सँगै सुतेको ‘वर्गीय मित्र’
उज्यालो नहुँदै ‘सामान्ती दलाल’ भईसकेको हुन्छ । एकछिन अगाडीको ‘महान् क्रान्तिकारी’ अाँखा झिमिक्क गर्दा ‘अवसरवादी गद्धार’को कित्तामा गईसकेको हुन्छ ।

उसले उसलाई खुईल्याउने, त्यसले त्यसलाई पखाल्ने, गुहुलाई गोबर बनाउने र गोबरलाई गुँदपाक बनाउने कुरामा ‘कमरेड’हरूलाई कसैले जित्न सक्दैन । साँच्चै भन्नुपर्दा गालीका लागि नेपाली शब्दकोशले समेत भ्याउँदैन । नपत्याए अहिलेको ओली-प्रचण्ड फुटको जोश र तलको ‘कमरेडी गाली शब्दकोष’ हेर्नुस् :-

 

हिजो : उहाँ त ‘महान् क्रान्तिकारी’ हुनुहुन्छ ।’
आज : ए, त्यो ? त्यो जतिको ‘अवसरवादी’ कोहीपनि छैन ।’

अघिसम्म : ‘क्रान्तिकारी राष्ट्रवाद’को प्रतीक हो उहाँ ।
अहिले : त्यो जतिको ‘राष्ट्रघाती’ त मैले आफुलाई पनि देखेको छैन !

स्वार्थ मिल्दा : उहाँको त ‘शालीक’ बनाउनु पर्छ ।
स्वार्थ सकिँदा : त्यसलाई त झुण्ड्याएपनि पाप लाग्दैन ।

घुस नपाउँदा : घुस लिनु र दिनु पाप हो ।
कमिसन नपाउँदा : पाप न साप, सोझो गरि थाप !

अहिले : ‘नेपाल आमाका सच्चा सपूत- लाल सलाम ।’
भरे: भारतीय दलाललाई – काल बोलाम् !

आफ्नो गुटमा लाग्दा : ‘उहाँ ‘सच्चिएर’ आउनु भो ।’
गुट त्याग्दा : त्यो ‘सक्किएर’ गयो !’

एकछिन अघि : सहयोद्धा
एकछिन पछि : स्वाहा गद्दार !

भट्टीमा बस्दा : उल्का देशभक्त
टट्टीमा पस्दा : उधुम अवसरवादी !

ताकपरे : महान् त्यागी
नत्र : पदलोलुप !

आँखा चिम्लिँदा : भुमीपुत्र
आँखा खोल्दा: विदेशी दलाल !

रात रहुन्जेल : नेपालको सान
अग्राख पलाएपछि : चाईनिज एजेन्ट !

निदाउँदा : लाल क्रान्तिकारी
ब्युँझिदा : दलाल नोकरशाही !

एकछिन अघि : ईमानदार तथा बौद्धिक व्यक्तित्व
एकछिन पछि : धोकेबाज तथा मूर्ख मनुस्य !

अस्तिसम्म : लडाकु तथा संघर्षशिल
हिजाे बिहान : अराजक र उग्रबादी !

जुट्दा : सरल तथा सुधारवादी
फुट्दा : यान्त्रिक तथा जडशुत्रवादी !

स्वार्थ मिल्दा : हेल्लो कमरेड, हाउ आर यु ?
स्वार्थ नमिल्दा : ओए, ज्यानमारा !

घाम झुल्किँदा : वलिदानी यार
घाम अस्ताउँदा : वलि दिन तयार !

*डिस्क्लेमर

यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com