काम कुरो एकातिर, कमरेडहरु जात्रातिर !

प्रकाशित मिति: १६ बैशाख २०७८, बिहीबार १५:५०

-केशवराज गजुरेल

बिनासकाले बिपरित बुद्धि ! अर्थात् सत्कर्मीबाट प्रकट हुने दुष्कर्म, सहजताबीचको असहज परिणाम, सद्भावको  बिरुद्ध दुराभाव, सफलताका बिरुद्ध असफलता, आत्मसम्मानको  सट्टामा हिनताबोध र आत्मग्लानी हुनुलाई बिनासकाले बिपरित बुद्धि भनिन्छ ।

सम्भावना नभएका र संस्कार नरहेकालाई कसैले गन्दैनन्, कुरा नजानेको वा कसैले नमानेको पात्रलाई कसैले भन्दै भन्दैनन्। भन्ने भनेको सुन्न सक्नेलाई नै हो, सुनेका कुरा गुन्न सक्नेलाई नै हो ! सज्जन ठानिएकाले दुर्जनको ब्यबहार देखायो भने, निष्कलंक भनिएकाले कलंकको टिका लागयो भने यसैलाई भनिन्छ – ‘बिनासकाले बिपरित बुद्धी

यो कुरा पहिला पहिला काम पाउन सकेनाैं भन्ने ‘कमरेटहरु’का लागि हो । ठाउँमा आउन सकेनौ भन्नेहरुका लागि हो । हिजो काम नपाउँदा जनताले मानेकै हो । तिम्रा आदर्श बचनलाइ सही ठानेकै हो । खोक्रो कुराको स्वाद बोक्रो नकोट्याउन्जेल मात्र हुन्छ ‘कमरेटहरु’ ! बोक्रो कोट्याएपछी गुदी देखिनु पर्छ । गुदी केलाउने बुद्धी पनि देखिनु पर्दछ ! चिलायो भन्दैमा मनलाग्दी कान्हाउनु हुँदैन, कुहिएर जताततै गन्हाउनु हुँदैन !

ठुलो लडाँइबाट माल पाएपनी चाल पाएको देखिएन ! यसलाई मसिनो ढंगले केलाउनु पर्दथ्यो ! तर केलाउने, निफन्ने त कुरै छोडौं ! यहाँ त मनलाग्दी मायाँ प्रिती खेलाउने देखि घुमाएर कमिशन मिलाउने, नीजि स्वार्थ मिल्दा जोड्ने नमिल्दा तोड्ने र फोड्ने सम्मको जाँगर देखिन थाल्यो !

कामरेडहरुमा लाखौँ कार्यकर्तालाइ भेडाबाख्रा ठान्ने ‘पर-वृत्ति’  देखिँदैछ  !  देशलाई ‘नीजी चरन’ मान्ने इतिहास लेखिँदैछ ! असिमित नेतालाई बफादार गोठाला भन्ने र सिमित नेतारु हैसियतदार मालिक बन्ने प्रवृत्तिको विकाश हुँदैछ ! पद प्रतिष्ठाले सुसज्जित हुनेले आफुलाई  सिंहासनमा सजाउने र लाखौँ जनतालाई शासनले कजाउने संस्कारको विकाश भएको छ !

‘कमरेटहरु’ , ऐले सम्म तपाईँ महान हुनुहुन्छ । तपाईं नै देशको शान हुनुहुन्छ ! सामन्ने आएर कसैले केहि नभन्ला, तपाईंले गरेका कर्तुतका ठेली नगन्ला ! तर, तपाईंले हेक्का राख्नु पर्छ, चुपचाप बस्नेहरु सबै बहिरा हुँदैनन् ।  आहत नै किन नहोस्, चिच्याएर रुँदैनन् ! तर, गौंडा अवश्य रुङ्नेछन् । मौका मिल्ना साथ् ठुङनेछन्, चेतना भया !

चर्को स्वरले सोध्नेछन् – ‘कमरेड, शासन छैन भन्नुभयो, शासकबाट खोसेर लियौं । मत भएन भन्नु भयो- दुईतिहाइको जनमत दियौं । ऐले खै त तिम्रा ति संसार बदल्ने कर्णप्रिय कुरा ? झर्ला र खाउँला भनेर पर्खिरहेछौं हामी निरिह बबुरा !

ऐलेसम्म त जनताको मनमाथी मनलाग्दी मडारीने बहाना छ । त्यसैले, जनजनको मनबाट बढारिने सम्भावना पनि छ  ! जनताले उच्च ओहदामा बसेर पिरतीमा बेरिनेको कथा मस्तिस्कमा लेखेकाछन् ! नाफाखोर माफियाको जालोमा घेरिनेको मुहार राम्ररी देखेकाछन् ! आवरणमा आदर्शका थोत्रा लुगा सिलाउने, भित्रभित्रै अरवौंका कमिशन मिलाउनेहरुका डंका सुनेकाछन् । कुरैकुरामा अमुल्य समय लपेटीएकाे राम्ररी गुनेकाछन् !

भाई फुटे गौंवार लुटे भन्ने जान्दा जान्दै पनि आफ्नैले –आफ्नालाई कुटेको, नीजी स्वार्थका लागि भाइ-भाइ फुटेको पनि हेर्दैछौं । हिजो भुईंमा हिड्न नसकेर लडेकालाई धुरी चढ्न मन लाग्यो भन्दैमा ढोडको लिस्नो ठड्याएर जनता हँसाउँदै हुनुहुन्छ ! देशलाई अनिश्चितताको दलदलमा फंसाउदै हुनुहुन्छ ! ‘यसैलाई भनिन्छ- बिनासकाले बिपरित बुद्धी !’

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com