लकडाउनको साईड ईफेक्ट – ओथारो नबसी चल्ला !

प्रकाशित मिति: ३० भाद्र २०७८, बुधबार १३:५५

– सरोज घिमिरे

धेरै महिनाको लकडाउनपश्चात देशका अधिकांश कुराहरू खुल्दै गए । कोरोनाको महामारी पनि घट्दै गयो । आफ्नो जन्मथलो छाडेर कर्मथलो काठमाडौँतिर लागे म पनि । नयाँ प्रविधिको अनलाइन कक्षाको सट्टामा पुरानै पाराको भौतिक कक्षा पढाउनु पर्ने भयो अब । आफूले बस्न नपाए पनि भाडा बढ्दै गरेको डेरा छँदै थियो काठमाडौँमा । भाडा थपिदै गए पनि पानी, बत्ती, नेट, टिभी, फोहोर जस्ता खुजुरे शीर्षकको पैसा तिर्नु नपरेकामा म खुसी थिएँ । यी शीर्षकमा खाने नाफा हराएकामा सायद घरबेटी दुःखी थिए होलान् । कस्तो भयो होला काठमाडौँ ? कस्ता भए होलान् साथीभाइ ? कस्तो भयो होला डेरा ? कसरी हिँड्ने मास्क लगाएर दिनभर ? मनमा अनेक जिज्ञासा भरिएर आएका थिए ।

बिहान दश बजेको जहाजबाट काठमाडौँ ओर्लिएँ । विमानस्थलदेखि नै अनौँठो लागिरहेको थियो मलाई । मोबाइलको डाटा खोलेर पठाउको एपबाट एउटा बाइक मगाएँ । एक जना भक्तपुरे ठिटाले छिटै गरेर म बस्ने घरको आँगनअगाडि रोके । गेटबाट भित्र हेरेको घरबेटी दिदी मेरो कोठाको झ्यालमा इस्कुस टिप्दै थिइन् । झ्यालमा इस्कुस ? म अचम्ममा परेँ । केही नबोली भित्र पसेँ । 

‘भाइ आइपुग्नुभयो ?’ आइपुगेको देखी देखी दिदीले बोल्ने निहुँका लागि प्रश्न गरिन् ।

‘हजुर दिदी । आइपुगेँ ।’ मैले कृत्रिम मुस्कानका साथ उत्तर दिएँ ।

पाँच छ महिनादेखि भाडा तिर्न बाँकी भएकाले उनलाई देख्दा मेरो ओठको प्राकृतिक मुस्कान हराइसकेको थियो ।

ढोकाको चाबी खोल्न झोलाबाट साँचो निकालेँ । ढोका उघार्न खोज्दा भित्रबाट अनौँठो गन्ध आइरहेको थियो । पहिला त्यसरी नगन्हाएकाले केको गन्ध हो चिन्न सकिन । कुन साँचो हो भनेर एकछिन आफैँ अलमलमा परेँ । साँचो चिनेजस्तै गरेर उघार्न खोजेँ । उघ्रिएन । साँचो फेरेँ । फेरि उघ्रिएन । नउघारेको धेरै दिन भएकाले होला बल्लतल्ल उघ्रियो । भित्र पस्दा अँध्यारो थियो । त्यही बेला बत्ती गएकाले बिजुली बाल्न पाइन । मोबाइलको बत्ती बालेर हेरेको झ्यालभरि इस्कुसका लहराले ढाकी सकेको रहेछ । मैले चैतमा किनेर ल्याएको इस्कुस क्या मजाले झाङ्गिएछ । बारीमा रोपेको भए पड्के त्यसरी के आउँथ्यो । 

अर्को कोठाको कुनाबाट च्यु च्यु आवाज आयो । यसो त्यतापट्टि हेरेको कुखुराका चल्ला माउसँग ओथारामा बसीरहेका थिए । कहाँबाट आए यी कुखुरा भनेर एकछिन सोचेँ । घर जानु भन्दा पहिला किनेर ल्याएका लोेकल कुखुराका केही अन्डा फ्रिजका टाउकामा छोडेको थिएँ । ती अन्डाबाट निस्केका कुखुराले चल्ला पारेछन् । मैले उता घरको बसाइमा पालेका कुखुरा, हाँस, बट्टाई, तित्रा बरु यति राम्रो सप्रेका थिएनन् । यता मानिसको हाते विष नलागेर होला क्या गज्जबका भएछन् । के खाएर हुर्किए भनेर यताउता हेरेँ । चामल राखेको बट्टा, दाल र गेडागुडीका बट्टा सबै उघारै पो रहेछन् ।

गिलासमा अलिकति पानी राखेर छोडेको धनियाँ पनि मजाले झाङ्गिएछ । आलुका बोट पनि लामा लामा भएछन् । घाम छिर्ने झ्यालको पाटो इस्कुसले छोपेर होला अरू वनस्पती पहेँला पहेँला देखेँ । 

एक हुल साङ्ला खाटमा कुदिरहेका थिए । अर्का हुल साङ्ला टेबलमा । तिनीहरूको पनि पार्टी फुटेछ । पुरा साम्राज्य उनीहरूकै भएछ । कोही मूल पार्टीमै थिए । कोही समाजवादी भइसकेछन् । एउटा हुलमा बुढा र पुराना झैँ लाग्ने साङ्ला भएकाले मैले त्यसलाई मूल पार्टी होला भन्ने ठानेँ । यसरी बन्द गरेको कोठामा कहाँबाट यी साङ्लाले राजनीति बुझे म अचम्ममा परेँ । अचानक रेडियो र टिभी बज्यो । हिँड्ने बेलामा बत्ती निभाउन बिर्से पनि रेडियो र टिभी बन्द गर्न बिर्सिएको रहेछ । 

पर राखेको जारभित्र पानी आफैँ हल्लियो । नियालेर हेरेँ । माछा खेलिरहेका रहेछन् । बिर्को खोलेको भए पनि ढोका लगाएको कोठामा कहाँबाट माछा आए ? प्रश्न निकै गम्भिर भयो । जारको पानीमा माछाका अन्डा थिए होलान् । छोडेपछि त्यहीबाट बच्चा निस्के होलान् । उत्तर सहजै पाएँ । माछाचाहिँ बाहिर निस्केर चर्न नमिल्ने र पानीमा चारोको व्यवस्था नभएकाले होला त्यति सपे्रका जस्ता लागेनन् । उता मैले पालेका माछालाई दैनिक विकासी चारो हाल्दा त ठिकै बढेका थिए भने यता केही नखाइ त्यतिका हुनु स्वभाविकै जस्तो लाग्यो । 

भुइँमा, भित्तामा, ओछ्यानमा सबैतिर तुषारो परेको रैछ । हातले बिस्तारो छामेँ । चिसो भएन । अचम्म लाग्यो खस्रो र न्यानो तुषारो ? अब सरकारलाई भन्छु । यो अनौँठो तुषारोका बारेमा गिनिज बुकमा नाम लेखाउँछु । त्यतैबाट पैसा कमाउँछु । जागिरसागिर छोड्दिन्छु । म निकै दङ्ग परेँ । नियालेर हेरेको केको तुषारो हुनु ! धुलो र ढुसीले सबै ढाकेको रहेछ ।

अर्को बट्टामा चामल बन्द गरेर राखेको थिएँ । त्योचाहिँ राम्रै होला भनेर बिर्को खोलेँ । अलिकति चामल हातमा झिकेर हेरेँ । आधा कालो आधा सेतो । झापाबाट ल्याएको कालो वास्मती मिसाएको रहेछ कि क्या हो ? अझै नियालेर हेरेँ । केको त्यस्तो हुनु । आधासरो घुन परेर कालो भएको रहेछ । हे भगवान् ! यो पनि काम नलाग्ने भएछ । 

छोरीको साइकलको चक्का पम्चर भएर डोरी जस्तो भएको, गोलहरू चाउरिएर किसमिस भएका, भाँडाकुँडामा हरियो रङ पलाएर वातावरणमैत्री भएका, किताबबाट ज्ञानको सुगन्ध आएको, भित्तामा माउसुली स्वतन्त्ररूपमा जुलुस गर्दै गरेका, ढोकामा कमिला धर्ना बसेका, बाथरूममा राखेको बुरुसमा साङ्लाले मुख दल्दै गरेका दृश्यले निकै रमाइलो बनायो । कोरोनाका बारेमा सबै किरा अनविज्ञ रहेछन् क्यारे मास्कचाहिँ कसैले लगाएका थिएनन् । टेबलमा केही थान पुराना मास्क छोडेको रहेछु । उचालेर हेरेको दुईचार वटा साङ्ला त्यसैभित्र रहेछन् । सायद कसरी लाउने भन्ने तरिका थाहा नपाउँदा भित्रै अल्मलिएका हुनुपर्छ जस्तो लाग्यो । केही कमिला सेनिटाइजर दल्न नजान्दा बट्टाभित्रै डुबेर मरेछन् । तिनको पनि निकै माया लागेर आयो ।

हैन मेरो मात्र डेराको यस्तो हाेला कि अरूको पनि यस्तै हुन्छ ? मनैदेखि जान्ने उत्सुकता जागेर आयो । अब यी सबै कुराको फोटो खिच्छु र फेसबुकमा हाल्छु । आहा क्या लाइक आउँछ होला ? कति कमेन्ट र सेयर हुन्छ होला ? मनभरि खुसी भरिएर आयो ।

सबै फोटा खिचेर फेसबुकमा पोस्ट गरेँ । पोस्ट नै हुँदैन त ! यस्तै बेलामा नेटले धोका दिनु परेको । नेपालको नेटको के भर छ र ! कसै गरे पोस्ट हुँदैन । ए नेटको पैसा नतिरेको त पाँच महिना पो भैसक्यो त । बल्ल थाहा पाएँ । 

‘बाबा ! बाबा ! ए बाबा ! उठ्नु पर्दैन ? कतिबेर सुतेको ?’ छोरीले झुलबाहिरबाट कराई ।

झल्यास्स बिउँझेँ । घाम निकै माथि आइसकेका रहेछन् । 

‘आज तपाईँ काटमाडु जाने भनेको होइन ? पिलेनमा जाने भनेको होइन कि हो ?’ छोरीले सम्झाई ।

ओहो कस्तो सपना देखेँछु । अब हतार हतार तयारी नगरे जहाज पो छुट्न सक्छ । भएसम्मको सस्तो टिकट गरेको छ । सार्न पनि मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com