मतपत्रको रङ खैरो बनाउन प्रस्ताव, अमेरिका र युरोपबाट अनुदानको ओईरो लाग्ने आशा !

प्रकाशित मिति: २६ फाल्गुन २०७८, बिहीबार ११:०८

आसन्न स्थानीय निर्वाचनकालागी सरकारले तिघ्रा तयारी थालेको छ । मतपत्र छाप्ने तथा मतदाता च्याप्ने प्रक्रिया लगभग सकिएको छ । तर, विपक्षी नेता केपी शर्मा ओली मतपत्रको रङ चयनलाई लिएर आगो भएकाछन् भने देउवाले दमकलको व्यवस्था गरेकाछन् ।

निर्वाचनमा राजनीति घुसेको आरोप लगाउँदै अभिनेता ओलीले उल्याए- ‘मतपत्र भनेको रातो हुनुपर्छ, हरियो त घाँस पनि हुन्छ ।’ तर, कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले सरकारी तयारीको बचाउ गर्दै भने- ‘एमसीसीमा आँखा फुटेको एमाले मतपत्रलाई पनि घाँसै देख्छ ।’

यता हरियो मतपत्रमा मतभेद देखिएपछि उता नीर वचन आयोग नि…लो बनेको छ । आयोगका प्रभड्का नवरङ शर्माले बताए- ‘एमालेलाई रातै चाहिने, काङ्ग्रेसलाई हरियो नभई नहुने ! त्यसैले दुवै रङ्ग मिसाएर पँहेला मतपत्र बनाउने सोचमा छौँ ।’

तर, सरकारमा सहभागी कमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहेँलो पन्चायतको रङ भएकोले खैरो मतपत्र छाप्न प्रस्ताव गरे ।व्याख्यात्मक टिप्पणी गर्दै उनले भने- ‘खैरो रङ चयन गर्दा अमेरिका तथा युरोपियन खुसी हुने र डोनेसन पनि ओईर्याउने खतरा रहेकाले हामी त्यो खतरा पाउ मोल्न तयार हुनुपर्दछ ।’

हरियो मतपत्रको आईडिया Wrong कि Right भन्ने विषयमा जनमत पनि बाँडिएकाे छ । गजुरियल डटकमले नगरेको एक सर्वेक्षण अनुसार; ५ प्रतिशतको विचारमा मतपत्रको रङ कालो राख्दा ठीक हुन्छ भन्ने थियो । उनीहरुको तर्क थियो- ‘चुनाव आउँदा देशलाई काल आएजस्तो हुने तथा उम्मेदवार आउँदा कालो मन लिएरै आउने हुँदा मतपत्रपनि कालै हुनुपर्छ !’

त्यसैगरी; ५ प्रतिशतको विचार, मतपत्र हैन, चुनाव चिन्हचाहिँ कालो हुनुपर्ने थियो । उनीहरुका अनुसार, नीति हैन नेता कालो भएकाले चिन्हको रङ कालो हुनुपर्छ नकि मतपत्रको !

१५ प्रतिशतले भने मतपत्रको रङभन्दापनि मतदाताले ढङ्ग फेर्नुपर्ने बताए । त्यसैगरी १५ प्रतिशतले रङको आईडियालाई ‘Wrong भन्ने विपक्षी नेता Right कि Left ?’ भन्ने प्रश्न गरेका थिए ।

बहुमत ६० प्रतिशतको निचोड थियो- ‘मतपत्र रङविहिन र चुनावचिन्ह Colorless हुनु उपयुक्त हुन्छ । उनीहरुका अनुसार- देशको मुहार र जनताको अनुहारमा चुनावले खासै चमक नल्याउने भएकाले रङ जुनसुकै भएपनि फरक पर्दैन !

एजेन्सीको सहयोगमा गनोज मजुरेलको टिपोट

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com