‘मृत्युलाई नजिकबाट कहाँ कहाँ देख्नु भएको छ ?’ – ‘बार्दली बा’का १२ जवाफ🤣

प्रकाशित मिति: २३ आश्विन २०७९, आईतवार ०८:१७

-संप्रस पाैडेल, हेटाैँडा

प्रश्न: तपाईँले मृत्युलाई नजिकबाट देख्नुभ‌एको छ ?
उत्तर:

१.
हेर्नोस्, नजिकबाट देख्ने मात्रै होइन मैले त फोटो नै खिचेको छु मृत्युको । संसारको सबै रङ मिसाउँदा कालो हुन्छ । मनपत्याए मिसाएर हेर्नोस् । मैले फोटो खिचेको त्यो क्यामेरा अस्ती पार्टी‌ फुट्दा कुनचाहिँ असतीले फुटाइदेछ । रिल उसको भागमा पर्‍यो ।

२.
एकदिनको‌ कुरा हो । एकै दिनमा दुई दिन भयो । त्यो २४ घण्टामा दुईटा रात र दुइटा दिन भयो । मान्छेहरूले थाहा पाएनन् । हुन पनि हो मान्छेले थाहा नपाउने कुरा मैले प्रत्यक्ष अनुभव गर्न पाएँ ।

३.
द्वन्द्वकालमा मेरो गाउँको घरमा गोली चल्यो । म शहरमा थिएँ । त्यो गोली मलाई खोजी खोजी शहरमैँ आयो । हुलाकीले गोली घरमैँ ल्याइदियो ।

आजकाल पो इन्टरनेट सिन्टरनेट, इमो सिमो, भाइबर साइबर, मेसेञ्जर सेसेञ्जर छ । गोलीले पहिले म्यासेज गर्दो हो । नभ‌ए भिडियो कल गर्दो हो । उबेला खामभित्र बसेर घरमा आयो ।

म पनि के कम ? खाममा बन्द भाको गोलीलाई गलत ठेगाना भनेर फिर्ता पठाइदिएँ । मेरो कानको छेउबाट ग‌एको गोली गोली नभ‌एर होलीको लोली हो ।

४.
चाइनिज कुङ फु र जापानिज सुमो मैले नै आविष्कार गरेको हुँ । संसारले अरिङ्गालको गोला र होलीको लोला फ्याँक्ने काम मैबाट नै सिकेका हुन् । पहिले पहिले म दुवै गोजीमा हात हालेर हिँड्थेँ । त्यहीबेला मैले बम बनाउने सूत्र पत्ता लाएको हुँ ।

हाइड्रोजन बम भन्न नजानेर अरूका खेताला जैरेहरूले हाइड्रोसिल भन्दिएछन् । प्रतिपक्षीचाहिँ कहिले पाक्ला र खाउँला भनेर बसेको । देशको स्थिति यस्तो छ ।

५.
म राम्रो फोटोग्राफर हुँ । तपाईँलाई थाहै छ । साउथ सुडानमा एउटो फोटोग्राफर थ्यो नि, त्यसले मेरै क्यामेरा चोरेर खिचेको फोटो भाइरल भयो । त्यो गिध्द पनि तपाईँको जस्तै अन्वारको थियो ।

.
मैले पटक पटक मृत्युलाई नजिकबाट देखेको छु । एकदिन मृत्युले मलाई भन्यो- जेलमैँ लिन आउँ कि सडकबाट थुतौँ ? मैले भोली आइज भन्दिएँ । त्यो त भैरव अर्यालको भोली मान्ने पिउसो परेछ ।

कहिल्यै आएन तर मैले नजिकबाट देखेकोचाहिँ हुँ । पक्राउ परेको राती म कान्लाबाट लडेर त्यसैसँग ठोक्किएको हुँ । मसँग ठोक्किएर त्यसका टाउकामा थुप्रै टुटुल्कै टुटुल्का थिए ।

७.
मैले एउटा रूख कोतरेर बजाउँदा बजाउँदै बाजा बन्यो । त्यसलाई मान्छेहरू गितार भन्दारैछन् । मैले गिटार बजाएको त्यही बेलादेखि हो ।

८.
मान्छे गैँडालाई राइनो भन्दारछन् । गैँडालाई नागरिकता दिनुपर्छ भन्ने मैँ हुँ । अनि केका राइनो ? गैँडा इज गैँडा । एकदिन गैँडाले मलाई सोध्यो- ‘तिमी मेरो नागरिकता किन चाहन्छौँ ?’ मैले केही भनिनँ तर परार साल नागरिकता दिएको भ‌ए ऊ अब मलाई भोट हाल्नेवाला हुन्थ्यो । भेडाहरू भ्या भ्या गरेर काम गर्नै दिएनन् ।

९.
मध्यरातमा गाउँमा हेलिकोप्टर आएथ्यो । सबै थर्कमान । झ्यालबाट नियालेर हेरेको थेँ । मगज बलियो र गह्रौँ भ‌एकोले टाउको गह्रौँ हुने नै भयो । खसेछु । म बेहोस भ‌एँ । भोलिपल्ट सबैले हेलिकप्टरबाट खसेको हो भने । बहुमतको कदर गर्ने मान्छे हुँ ।

१०.
चुच्चे नक्शाको सिरानी हालेर भुस् भुस् निदाइराथेँ । ब्यूझिँदा बार्दलीमा रैछु । मलाई आजकाल मान्छेहरू बार्दली बा भन्दा रछन् । यो देशमा बाबा, माताहरूकोमा भक्तहरूको ताँती लाग्दोछ । यस मानेमा म अली फरक छु ।
११.
पार्टी‌ फोर्नेहरु ताँती लाएर शरणार्थीझैँ भागेका छन् । ताँतीबाट एउटा जत्था ताँती लगाएर फर्केका छन् । तिनैलाई मैले ताँती लगाएर चुनावमा टिकट नदिएर थाति लगाइदिएँ ।

१२.
शायद मैले नजिकबाट देखेको मृत्यु पनि त्यतै कतै चेपिएर मर्‍यो होला । आजकाल मैले मृत्युको सपना पनि देख्न छोडिसकेँ । तपाईँ पनि कल्पनासम्म नगर्नूस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com