‘नो नट अगेन’पछि आयो ‘लेट्स ट्राई अगेन’ ! – लक्ष्मण गाम्नागे

प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहीबार १८:५५


-लक्ष्मण गाम्नागे

चोर भन्नुहोस्, ठग भन्नुहोस्
लुच्चा, दुईजिब्रे, भाट भन्नुहोस्
दलाल भन्नुहोस्, लबस्तरो भन्नुहोस्,
बेसरम, कपटी, थेत्तरो भन्नुहोस्
भोटमारा भन्नुहोस्, पदलोलुप भन्नुहोस्
भातमारा, ज्यानमारा, लेन्डुप भन्नुहोस्
र्याले भन्नुहाेस्, पित्री भन्नुहोस्
उँघे, सिँगाने, पत्रु भन्नुहोस् ।

प्रतिगामी भन्नुहोस्, बजेट घिचुवा भन्नुहोस्
निरङ्कुस, लम्पसारवादी,
संविधान मिचुवा भन्नुहोस्
बलात्कारीको संरक्षक भन्नुहोस्,
दुई नम्बरी भन्नुहोस्
भ्रष्टाचारी, यौन दूराचारी, व्यभिचारी भन्नुहोस्
सराप्नुहोस्, धारे हात लाउनुहोस्
थुक्नुहोस्, पुतला बनाएर डढाउनुहोस
रौं ठाडा ठाडा पार्नुहोस्, कान राता राता बनाउनुहोस्
हृदयाघात हुनेगरी चिच्याएर दुनियाँलाई सुनाउनुहोस्

जति थर्काउनु छ आजै थर्काउनुहोस्
पाँच वर्षदेखि पालेको आक्रोस सबै फर्काउनुहोस् ।

होइन नभनुँला, चुपचाप रहुँला
ङिच्च ङिच्च गरुँला, सबै सहुँला
मेरो एउटै बिन्ती मान्नुहोस्
रोगी भए पनि, भोगी भए पनि
मतिछाडा भएपनि, गतिछाडा भएपनि

तपाईँले उहिल्यैदेखि मानेको, राम्ररी जानेको
पार्टीले पनि सर्वसम्मत छानेको
फेरि एकपटक भोट मलाई नै दिनुहोस्
आश्वासन उधारो छँदैछ, नगद हाताहाती लिनुहोस्

‘नट अगेन’ नभन्नुहोस्, ‘ट्राई अगेन’ भन्नुहोस्
अनुभवहीन नयाँ जोगीहरूका पछि नलाग्नुहोस्
सिद्धान्तनिष्ठ मतदातामा नाम लेखाउनुहोस्
आउनुहोस्, आउनुहोस्, आउनुहोस्
आज राति चोरदोबाटो चोकमा अवश्य आउनुहोस्

एक भुँडी मासुभात सित्तैमा खानुहोस्
बेस्सरी मात्नुहोस् र
मलाई नै भोट हाल्ने किर्या खाएर जानुहोस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com