भेलुबाजे जिन्दाबाद, भ्यालुबाजे मुर्गा-भात !

प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलवार १०:०४

-संप्रस पौडेल, हेटौंडा ।

बाढी आएको खोलालाई भेल भनिन्छ । हुलमुललाई भेला । सख्खरलाई भेली त सोझोपनलाई भोला । माटोमुनीको तरकारी आलु, जङ्गली जनावर भालु । राष्ट्रिय खेल भलिबल । देशमा चुनावभन्दा बरू भ्यालेन्टाइनको भ्यालु छ । भेल, भेला, भेलि, भेली, भेलु…. । यही बाह्रखरीमा भेलु/भेल्लु नामका बाजेकै चर्चा हुनेछ आज ।‌

भेल्लुको काम:
भेल्लु बाजे टिकटकमा भाइरल नाम रहेछन् । खोज्दै ग‌एको त, युट्युबमा लाखौँको भ्युअर्स दिने काम पनि यिनकै रहेछ । तब न प्युठानदेखि काठमाण्डौँ भ्यालीमा भित्रिए भेल्लु ।

भेल्लुलाई नियुक्ती:
हास्यव्यङ्ग्य सिरियलमा छाएकै थिए । एकाएक चुनावकै सङ्घारमा एउटा पाटो चोइटिएको दलले पनि यिनलाई फूलमाला लगाएर भित्र्याएछ ।
दलमा भेल्लुभन्दा ज्यादा कमेडी गर्ने नेता छँदैथिए । एउटा भेल्लु बाजे धान्न धौ धौ भ‌एको दलले दुई/दुईटा क्यारी धान्ला ?

दलैपिच्छे भेल्लु:
यस्ता भेल्लु दलैपिच्छे होलान् । पूरातत्व विभागलाई खोज्न लाएर भ‌ए पनि एकौटा भेल्लु सबै दललाई भाग लाए हुन्नँ भन्या ? युट्युबदेखि टिकटकसम्म छाउँथे । ‘बेलकुल बेलकुल जिन्दावाद, बेलकुल बेलकुल मुर्दावाद ।’

विदेशी भेल्लुको भर:
अहिलेसम्म हामी विदेशी भेल्लुहरूको भरमा थियौँ । पहिले पहिले गाउँगाउँबाट असाध्य बिरामीहरू भेलोर (भारत) लगेर उपचार हुन्थ्यो । भारतबाटै ल्याइएको भेलपुरीलाई हामीले चटपटे बनाइदियौँ । स्वदेशी भेल्लु पाएपछि हामी पनि गर्भले (माफ गर्नोस् गर्वले) गमक्क छौँ ।

भेल्लुमाथि शङ्का:
दलले भेला गरेर भित्र्याइएको भेल्लु कसै कसैलाई भलायो उस्रेझैँ अफाप नहोस् ।
श्रीलंकामा लिट्टेका ठिट्टे नेता थिए, भेल्लु पिलाई प्रभाकरण । यता अरू भेल्लु नजन्मिउन् र जन्मिएमा अन्यत्र नजाउन् भन्दै यी भेल्लु बाजेको बन्ध्याकरण गरिदिन बेर छैन ।

भेल्लुका कारण चुनाव‌अघि नै रोजगारी:
भोली त्यो दलले भन्लान्- हामीले दशौँ युट्युबरलाई भेल्लु बाजेको भिडियो खिचाएर युवालाई रोजगारी दिएका छौँ ।

पढेर भन्नुहोला यस्ता खुइते लेख पनि लेख्छन् ? बेल्कुल बेल्कुल । लेख्न जाँगर चल्छ त क्यार्नु । धन्न शास फेर्न नि अल्छी लाग्दैन र मात्रै । नत्र त उहिल्यै मेरा राम नाम सत्य भैसक्थ्यो । जय भेल्लु ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com