मतपरिणामबाट तर्सिने रोग ‘फुर्तिलाइठिस सिन्ड्रोम’, चिन्ने कसरी ? बँच्ने यसरी !

प्रकाशित मिति: ५ मंसिर २०७९, सोमबार १०:३४

PIcture : Social Media

हिजो मतदान सकिएर मतगणनाको मौसम शुरु भएको छ । स्वास्थ्यको दृष्टिकोणले यो मौसम अत्यन्तै संवेदनशिल मानिन्छ । बिषेश गरेर महत्वकांक्षी उम्मेदवार, कट्टर कार्यकर्ता र अन्ध समर्थकहरुले एकदमै सचेत हुनुपर्दछ ।

यस्तो बेलामा मतपरिणाम कसैको सुन्दा ब्लड प्रेसर घटबढ हुनेगर्छ । कसैमा मुटुको धड्कन तलमाथी पर्नसक्छ । कोही रुने/कराउने गर्छन् भने कोहीमा हांस्ने /चिच्याउने सिम्टम्स देखिन्छ । यस्तो समस्यालाई गजुरीयल भाषामा ‘फुर्तिलाइठिस सिन्ड्रोम’ भनिन्छ ।

यो सिन्ड्रोम बढ्दै गएमा बिरामीले एकदमै कडा प्रतिकृया देखाउन थाल्छ । आफ्नो उम्मेद्धारको मत बढि आउँदा छिमेकीको पर्खाल भत्काउने, बिपक्षीको बढी आउँदा आफ्नै घरको खाँबो चिथर्नेसम्मका समस्या आउँछन् ।

यसको बेलैमा समाधान गर्नुपर्छ । समाधान के हो, त्योचाहीं मलाईपनि थाहा छैन । तर, यसबाट जोगिने केही गजुरीयल उपायचाहीं यस प्रकार छन् :

(क) ‘हार्नै नहुने मान्छे हारें’ भन्ने लाग्यो भने रक्सी धोक्न नथाल्नोस् । हिजो झुठा आस्वासन कति दिएँ भनेर चिन्तन गर्न शुरु गर्नोस् ।

(ख) विपक्षीले शुरुवाती अग्रता लियो भने पटक्कै निरास नहुनोस्, अन्तिम विजेता पनि उही भयो भने डिप्रेसनमा जाने खतरा हुन्छ ।

(ग) तपाईंको हेभिवेट नेताले जित्नुभयो भनेर शुभकामना दिन निवासतिर नदौडिनोस्, उहाँ चन्दादाताको महलमा आराम गर्दै हुनुहुन्छ ।

(घ) युवानेताले हार्नु भयो भनेर बिपक्षीलाई मुख नछाड्नोस्, उहाँको अलोकप्रियताको कारण तपाईंको चाकडी र चाप्लुसी पनि हो ।

(ङ) सोच्दै नसोचेको जीत हात लाग्यो भने पार्टी दिन नथाल्नोस्, कुनदिन कसले अदालतमा उजुरी हाल्दिन्छ, अनि पाटीको बास हुनुपर्ला ।

(च) चुनाव जित्ने नयन युवाहरुले बिजय जुलुसमा धेरै नचिच्याउनोस्, संसदमा पुराना युवाहरुलाई गाली गर्न तपाईंको आवाज चाहिन्छ ।

(छ) जीतलाई आफ्नो बाबुले दिएको अंश नठान्नोस्, जनताबाट लिएको रिणको रुपमा बुझ्नोस् र तिर्न थालिहाल्ने तरखर गर्नोस् ।

(ज) हारलाई राजनैतिक जीवनको अन्तिम संस्कार नमान्नोस्, आफ्नो संस्कारहिन राजनीतिको परिणाम पनि होला भनेर मनन गर्नोस् ।

(झ) जनमत तपाईंको एटिएम मेसिन हैन, जो तपाईंले चाहेको बेला खर्च गर्न मिल्ने । जनतालाई आन्तरिक पर्यटकको रुपमा बुझ्नोस् । जुन ठाउँ सुन्दर र सुरक्षित छ, त्यहीं जान्छन् भन्ने कुरा याद गर्नोस्

(ञ) जीतको उन्माद र हारको निराशाबाट दीर्घकालिन मुक्ति चाहानुहुन्छ भने यो लिंकमा क्लिक गर्नोस् ।

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com