जित्ने र हार्ने दुवैकालागि उपयोगी खुराक, सित्थैमा !

प्रकाशित मिति: ६ मंसिर २०७९, मंगलवार १७:१८

(क) ‘हार्नै नहुने मान्छे हारें’ भन्ने लाग्यो भने रक्सी धोक्न नथाल्नोस् । हिजो झुठा आस्वासन कति दिएँ भनेर चिन्तन गर्न शुरु गर्नोस् ।

(ख) विपक्षीले शुरुवाती अग्रता लियो भने पटक्कै निरास नहुनोस्, अन्तिम विजेता पनि उही भयो भने डिप्रेसनमा जाने खतरा हुन्छ ।

(ग) तपाईंको हेभिवेट नेताले जित्नुभयो भनेर शुभकामना दिन निवासतिर नदौडिनोस्, उहाँ चन्दादाताको महलमा आराम गर्दै हुनुहुन्छ ।

(घ) युवानेताले हार्नु भयो भनेर बिपक्षीलाई मुख नछाड्नोस्, उहाँको अलोकप्रियताको कारण तपाईंको चाकडी र चाप्लुसी पनि हो ।

(ङ) सोच्दै नसोचेको जीत हात लाग्यो भने पार्टी दिन नथाल्नोस्, कुनदिन कसले अदालतमा उजुरी हाल्दिन्छ, अनि पाटीको बास हुनुपर्ला ।

(च) चुनाव जित्ने नयाँ युवाहरुले बिजय जुलुसमा धेरै नचिच्याउनोस्, संसदमा पुराना युवाहरुलाई तर्साउन चाहिन्छ ।

(छ) जीतलाई आफ्नो बाबुले दिएको अंश नठान्नोस्, जनताबाट लिएको रिणको रुपमा बुझ्नोस् र तिर्न थालिहाल्ने तरखर गर्नोस् ।

(ज) हारलाई राजनैतिक जीवनको अन्तिम संस्कार नमान्नोस्, आफ्नो संस्कारहिन राजनीतिको परिणाम पनि होला भनेर मनन गर्नोस् ।

(झ) जनमत तपाईंको एटिएम मेसिन हैन, जो तपाईंले चाहेको बेला खर्च गर्न मिल्ने । जनतालाई आन्तरिक पर्यटकको रुपमा बुझ्नोस् । जुन ठाउँ सुन्दर र सुरक्षित छ, त्यहीं जान्छन् भन्ने कुरा याद गर्नोस्

(ञ) जीतको उन्माद र हारको निराशाबाट दीर्घकालिन मुक्ति चाहानुहुन्छ भने यो लिंकमा क्लिक गर्नोस् ।

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com