एसियाको गरिबेस्ट राष्ट्र, रिचेस्ट दशैँ !

प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार १२:०४

हाम्रो टिका लगाइदिने चलन असाध्यै अनौठो लाग्छ । सानैदेखि ‘भात खेर फाल्नु हुँदैन, अन्नले सराप्छ’ भनेको सुन्दै आईयो । अझ मेरो ठुलोबाबाको घरमा त भात उब्रियाे भने झगडै पर्छ ।

टिका टाँस्दा चामल पनि खर्च हुन्छ, दही पनि खेर जान्छ । अबिर त हरेक पर्वमा खेरै जाने चिज हो । फेरी सानो टिका लगाएर नि हुँदैन हामीलाई; सिङ्गै निधार भर्नुपर्छ ।

केही धार्मिक कारण त पक्कै होला जसले यो चलनलाई उचित सिद्ध गर्छ । तर, म धार्मिकल्ली असाक्षर मान्छे भएकाले मेरा बुझाईहरुलाई त्यसरी नै बुझिदिनुहोला ।

टीका हाम्रो साँस्कृतिक ब्यवस्था हो भन्व गरिबी हाम्रो ब्यवहारिक अवस्था हो । अत: उब्रिएकाे भातका सिताहरुलाई सुकाएर पुनः चामलजस्तो कडा बनाएर वर्षभरी जम्मा गरेर टिकाको रुपमा प्रयोग कसो होला ?। लगाईसकेको टिका पुछ्ने बेला नाङ्लोमा झरी, धोइ भातकै रुपमा खान होला कि नहोला ?

नेपाल एसियाको नम्बर १ गरिब राष्ट्र हो । त्यसैले सिताको पुनर्प्रयोलाई राष्ट्रिय नीतिमै राख्दा ठिक होला नहोला ? एफक व्यक्ति-एक सिता अभियान सुरु गर्दा गरिबी घटाउन सकिएला नसकिएला

‘जति धेरै टीका उति धेरै आषिश’ भए त ठिकै होला तर चामलको एउटा गेडाले काम चल्छ भने एकचोटीको दशैँमा आधा पाउ चामलले मात्र काम चल्ला कि नचल्ला ? मेरो बिचारमा चले चल्ला, नचले कुखुरा !

रह्यो कुरा दहीको । टिका बनिसकेपछि सुकेर जाने दहीलाई पुन: दहीकरण गर्न सकिन्न । त्यसैले चामलको एक गेडा, दहीको एक थोपा गर्दा कसो होला ? अबिरको सानो कण मुछेर टिका लगाइदिदा होला कि नहोला ?

यसो गरे अन्नले नि त्यति नसराप्ला, मन्न पनि खुशी होला । आशिष कम्म नै लाग्ने भएछ भने चामल, दही र अबिरको मात्रा दोब्बर गरिदिउँला । साथै, ‘एक व्यक्ति-एक सिता’ अभियानले टिका लगाइदिने मान्छेको एउटा औँला मात्र फोहोर गर्नेछ । त्यसो गर्दा पानी पनि बँच्नेछ । हेरौं न, यस्तो गर्दा अब कसको बाउले सराप लाग्दो रहेछ !

यसपाली बडा दशैँ यसरी मनाउँदा अर्को साल कडा दशैँ मनाउन पाईन्छ । जस्तोसुकै अभाव र दबाबमा दशैँ संस्कृतिलाई ज्युँदाे राख्न सकिन्छ ।

*मिरोज ‘किम्मदन्ती‘ गजुरेल
(अध्यक्ष)

संस्कृति संरक्षण तथा गरिबी नियन्त्रण अभियान

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com