अर्ग्यानिक जमरा, रेडिमेड टीका !
प्रकाशित मिति: २ कार्तिक २०८०, बिहीबार १०:२३
*मिरोज ‘किम्मदन्ती‘ गजुरेल
दशैँको बेला नेपाल घुम्न आएका एक पर्यटकले मलाई भने – “हैन, नेपालीहरुमा त्यस्तो के फरक छ र हरेक वर्ष अक्टोबरमा कानबाट सागपात उम्रिन्छ ?” मैले भने – “सर, फरक केही हैन। कुरा यति हो – हामीसँग टन्न जौ छ। एकदिन रोपेर १० दिन पछाडि त्यो घाँस कानमा झुन्डाउन मिल्छ भने किन नझुन्डाउने ?”
ती पर्यटकले फेरी सोधे – “लु, जौ टन्न छ, त्यो मैले मानेँ। तर त्यो रातो चामल पनि छ्यापछ्याप्ती पाउने देश हो कि के हो नेपाल?” अक्षतालाई रातो चामल भनेको नबुझेर मैले उनको कुरा टारेँ। त्यतिकैमा मेरो दिमागमा एउटा आइडिया आयो – दशैँको लागि भनेर रेडीमेड रातो टीका बनाउने। जति धेरै आशिष दियो त्यति नै धपक्क बल्ने टीका। कसैको टीका फिका देखियो भने बुझ्नोस – उसको मतलब कसैलाई छैन।
जमराको सन्दर्भ निकालेर लेखेको लेखलाई टीकासम्म आइपुग्न धेरै समय लाग्दैन रहेछ। हुन त दशैँको कुरा न हो, जमराको कुरा आएपछि टीका आइहाल्छ। फेरी जमराको कुरामा फर्किँदा, निधारको टीका सुक्नुअगाडि नै जमरा भुइँमा खसिसक्छ। एउटा दशैँमा जतिवटा जमरा भुइँमा खस्छ, त्यतिवटा जौ खेती गर्ने किसानहरुको मुटु चिसो हुन्छ। तपाईं एकजनाको जमरा भुइँमा खस्दा गाउँको कुनै किसानको फोक्सो जमेर मृत्यु हुन सक्छ।
तपाईंलाई मैले न टीका नथाप्नुहोस् भनेको हो, न जमरा नलगाउनुहोस्। मेरो भनाइको तात्पर्य यति हो – अक्षतामा चामल कम गर्नुहोस् र जमरालाई कानमा झुन्डयाइरहनुहोस्। वर्षभरी दशैँ होस् जस्तो लाग्दैन तपाईंलाई ? कानमा जमरा रहिरहँदा हरेक दिन आधा दशैँ मनाइरहे जस्तो हुन्छ ।
हामी गाईलाई पुज्ने धर्मका मानिसहरु, खेर जाने सबै जमरालाई सुकाएर पराल बनाइदिन मिल्दैन ? अथवा, गौमाताले खाने कुरा हाम्रो लागि अपौष्टिक होला त ? भोक लागेपछि एउटा जमरा तान्ने अनि चपाउन थालिहाल्ने।
यही कुरालाई लिएर “दशैँ बचाओ अभियान” र “अन्न जोगाओ अभियान” बीच तनाव सिर्जना भएको छ। एकतर्फ ले भन्छ – आशिर्बाद आवश्यक छ, अर्कोले भन्छ – अन्नले सराप्छ। दुबै पक्षको माग पुरा गर्न एउटै कुरा आवश्यक देखिएको छ – आफुले आफैलाई टीका लगाइदिने, जमरा पनि कानमा आफै हालिदिने, टीका-जमरा सुकेपछि जति छाक पुग्छ, त्यति नै पुर्याउने।
दशैँ दिनदिनै मनाउन पाइयोस्, बडा दशैँ वर्षेनी मनाइन्छ, छोटा दशैँको लागि भनेर बार्है मास छुट्ट्याइदिउँ।