काठमाण्डौँ सुनसान हुँदा सिड्नीमा समस्या !

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार ०६:२१

मिरोज ‘किम्मदन्ती’ गजुरेल

अष्ट्रेलियामा पढ्दै गरेकी मेरी एउटी साथीले फेसबुकमा एकजनाको फोटो देखिछिन्। फोटोमा दशैँको बेलामा खाली हुने काठ्माडौँको सडक रहेछ। खाली बाटोको फोटो देखेर घरको याद आयो भनी उनले मलाई मेसेज गरिन् ।

अब टीकाको दिन सबैजनाले टीका लगाएको फोटोमात्र हाल्ने भएकाले उसको स्वास्थ्यमा ठूलो समस्या देखिन सक्छ। काठ्माडौँमा गाडी नचल्दा त उनलाई त्यस्तो न्यास्रो लाग्यो भने कल्पना गर्नुहोस्, सबैको निधार भरिएको देख्दा उनको हालत के हुने हो ?

मेरी प्यारी साथीजस्तै अरु नेपालीहरु पनि यो समस्याबाट गुज्रिरहेका छन्। त्यसैले टीकाको दिन विदेशमा रहेका सबै काठ्माडौँबासीहरुलाई काठमाडौँ ल्याइपुर्याउनु पर्यो भनेर अपिल गर्दै यो पत्र लेखिएको हो ।

टीकाको दिन निधार भर्ने कि फेसबुक हेरेर मुर्छा पर्ने – यो नेपाल सरकारले आफै विचार गरोस्। आउँदा जाँदाको जहाज खर्चमात्र भएपनि सरकारले बेहोर्यो भने देशको राजधानीजस्तो ठाउँ वर्षको सबैभन्दा रमाइलो दिनमा चहलपहल बढ्छ।

सरकारलाई सजिलो होस् भनेर काठमाडौँबासीहरुलाई मात्र नेपाल ल्याइपुर्याइदिन माग गरिएको हो। उपत्यका बाहिरकाहरुको बारेमा न हामीले सोचेका छौँ, न सरकारले नै सोचोस्। सिन्धुपाल्चोकको कोही टीकाको दिन घरमा टीका लगाउन चाहन्छ भने उसको बाल मतलब गरियोस् ।

नेपालीहरुको महान चाडको दिन राजधानी खाली देखिनु भनेको राष्ट्रको लागि एकदमै लज्जास्पद कुरा हो। नेपालमा रहेका विदेशीहरुले के सोच्छन्, यो कुरामा पनि सरकारको ध्यान जाओस्।

सबै काठमाडौँबासीलाई ल्याउन सकिँदैन भनेपनि मेरी साथी र उसको बोइफ्रेन्डकोलागि चाहिँ सरकारले जसरी भएपनि व्यवस्था मिलाईदिनुपर्यो। केटीलाई साथी बनाएर उसको बोइफ्रेन्डको किन चिन्ता लिएको भन्नेबारे सरकारसँग छुट्टै छलफल गर्न बाँकी छ। अहिलेलाई उनीहरुलाई काठ्माडौँ ल्याइपुर्याउने कुरा एकदमै आवश्यक रहेको कुरामा सरकारको ध्यानाकर्षण होस्।

यति मात्र नरहेर, मेरी साथीको सानो भाइ पनि रहेकाले, भाइ टीकाको दिन पनि उसलाई उसको घरसम्म पुर्याइदिन नेपाल सरकारसँग माग गर्दछौँ। घरमा कुरा मिल्ने भनेको भाइसँग मात्र भएकाले उसलाई विजया दशमी र भाई टीकाको दिनचाहिँ उसको काठमाडौँकै घरमा मनाउन व्यवस्था मिलाइयोस्। यसमा मेरो स्वार्थ भनेको उसँग मेरो दोस्ती राखिराख्ने मात्रै हो।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com