दशैको मुखमा भुकम्प : के को संकेत हाे ?

प्रकाशित मिति: ५ कार्तिक २०८०, आईतवार १२:०५

आज महाअष्टमीको दिन बलि चढाउन तयार रहेका नेपालीहरुलाई प्रकृतिद्वारा महाभुकम्पको धम्की दिइएको छ।

हातमा खुँडा लिएर भैँसी छप्काउनै लाग्दा हामीमाथि प्राकृतिक अन्याय भएको भनेर धादिङबासीहरुले आक्रोश पोखेका छन् ।भैँसीको घाँटीमा खुँडा छुनै लाग्दा भुकम्प गएपछि भैँसी र मान्छे दुबै लडेको र हातबाट खुँडा फुस्केर भैँसीको सिंगमा लागेर अहिले धादिङमा एक सिंगे भैँसीको चर्चा भइरहेको छ।

टीकाको दुई दिन अगाडि नै ६१को भुकम्प गएपछि टीकाको दिन अलि ठूलै भुकम्प जाने हो कि भनेर नेपालीहरु त्रसित छन्। यसैकारणले बुद्धिजिविहरुले प्रकृतिले नास्तिक रुप देखाएको भनेका छन् ।

धर्मशाष्त्रीहरुले अब चाहिँ घोर कलियुग लागेको कुरा प्रष्ट पारे भने नास्तिकहरुले भुकम्पले आफ्नो आन्दोलनलाई साथ दिएको बताएका छन् । त्यसैले अहिले “प्रकृति नास्तिक भएकै हो त?” भन्ने प्रश्नले सामाजिक संजाल भरिएको छ।

दशैँको मौका पारेर आएको भुकम्प धार्मिक रुपले कति पनि उचित छैन। तर नास्तिक दृष्टिकोणबाट हेर्दा प्रकृतिको साथ पाएर नास्तिकहरुले खुशी व्यक्त गरेका छन् । दशैँको हर्षोल्लासको समयमा एक्लो महसुस गर्ने नास्तिकहरुलाई यसपाली वास्तविक रुपमै दशैँ आएको छ।

“भुकम्प आयो, खाउँला पिउँला” भन्दै नास्तिक बस्तीहरुमा अहिले चहलपहल बढेको छ। टीकाको दिन ठूलै भुकम्प जाओस भन्ने आश गरेका नास्तिकहरु अहिले तिहारको पर्खाइमा छन्।

प्रकृतिको साथ कायम रहने हो भने लक्ष्मी पूजाको दिन पनि भुकम्प जाने र दियोमा राखिएको तेल सबै पोखिने पुर्वानुमान नेपाल नास्तिक संघले गरेको छ ।

देउसीभैलो खेलिरहँदा भुकम्प गयो भने देउसी भट्ट्याउनेहरुले आफ्नो शब्दहरु फेर्नुपर्ने हुनसक्छ भनेर चिन्ता व्यक्त गरेकाछन्। उता नास्तिकहरु भने देउसी खेलिरहेकै बेला ठूलो भुकम्प जाओस र ७७ जिल्ला पुग्नैपर्नेहरुलाई प्रकृतिले नै पुर्याइदियोस् भनेकाछन्।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com