महानवमी, तलेजु र तीनतलेजु !

प्रकाशित मिति: ६ कार्तिक २०८०, सोमबार १४:२७

आज दशैँको नवौँ दिन, महानवमी। आज आफ्ना सवारी साधन र औजारहरुको पूजा गरिन्छ । साथै, आज हनुमान ढोकामा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणहरुकालागि खुला गर्ने गरिन्छ, एकदिनकालागी ।

मेरो बिचारमा दिनदिनै तलेजु भवानीको पूजा गर्न पाउनु पर्ने हो । तलेजु भवानीको पूजा गर्न पनि दिनभर पर्खिनु पर्ने !? र, भीडमा कोचाम्कोच गरेर धर्म गर्दा भवानी खुसी हुनेपनी हैनन् क्यारे !

भक्तजनको यस मर्कालाई ध्यानमा राखेर केही प्रस्ताव गर्दछु ।

तलेजु भवानीको मन्दिरमा अर्को तला थपौँ । भक्तजनको भिडबाट पनि यो माग आएको हो ।

एक भक्तजनका अनुसार, महेन्द्र मल्लले बनाएको मन्दिरमा एक तला थप्न मल्लवंशकै कसैले पहल गर्न आवश्यक छ । उनीहरुले शाहवंशजस्तै महेन्द्र पनि वीरेन्द्र नै हुनुपर्छ भनेर अहिले वीरेन्द्र मल्ल नाम गरेको एक व्यक्तिको खोजी भइरहेको छ।

“खै वीरेन्द्र मल्ल ?” र “वि आर लुकिंग फर वीरेन्द्र मल्ल !”को नारासहित अहिले ‘चारतलेजु भवानी आन्दोलन’ नै हुने खतरा छ ।

तर मन्दिरविद्हरुले गजुर राखिसकेको मन्दिरमा तला थप्न मिल्दै नमिल्ने भनेकाछन् । उनिहरुका अनुसार, मन्दिर भत्काएर अर्को चार तले मन्दिर बनाउने त सोच्न पनि सकिन्न ।

तर ‘चारतलेजुभवानी आन्दोलन’का संरक्षकहरुले भने सो कुरालाई ध्यान नदिएर गजुर माथि नै अर्को तला थप्नुपर्छ भनेकाछन् । उनीहरु भन्छन् – ‘मन्दिरको गजुरको टुप्पोले अर्को एक तला नधान्ने कुरै छैन । किनभने, यो तलेजु भवानीको मन्दिर हो – नारदमुनिजस्ताको मन्दिर होइन।

विश्लेषकहरुका अनुसार, यो आन्दोलन आजको दिनमात्र चुलिन्छ । किनभने, भोलीको दिनदेखि दशैँ मान्नेहरु टीका लगाउनमै व्यस्त हुनेछन् । अर्को साल भने महानवमीकै दिन सो आन्दोलन फेरी हुने पक्का छ ।

मिरोजकिम्मदन्तीगजुरेल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com