‘यस पटकको विश्वकप रसियाले लगेनछ भने पात काटेर कानमा राखिदिन्छु !’

‘आज अर्जेन्टिनाले जितेन भने कान काटेर पातमा राखिदिन्छु ।’ ‘रसियाले हारेछ भने पातका काटेर कानमा राखिदिन्छु ।’ ‘सर्बिया देश त झुरै रहेछ नि ।’ ‘कोरियाले खोरिया फांड्न गए हुन्छ ।’ ‘कालो भएकाले घानाले खेल्न सकेन ।’ ‘भन्नुमात्रै पानामा रहेछ, खेल त चिडी, भोटे, गुलाम केही रहेनछ ।’

‘मेस्सी जिन्दाबाद ।’ ‘अर्को मुर्दाबाद ।’ ‘खबरदार फलाना खेलाडीको बारेमा केही भन्लान् ।’ ‘ढिस्कानो टिम त देउता हो देउता ।’ ‘यसले जित्यो भने भातै खान्न ।’ ‘त्यसले हाऱ्यो भने रक्सी खान्छु ।’

रसियामा चलिरहेको बिश्वकपका बिषयमा नेपाली सोसियल मिडियामा आएका भन्न मिल्ने बिचारहरु हुन् माथीका वाक्यहरु । भन्न मिल्ने र नभन्दापनि हुने अरु कुरा यहां उल्लेख गरिंन । अरुलाई केवल विश्वकप लागेको छ तर हामीचाहीं ब्रम्हाण्डकप ठानि रहेकाछौं । यस्तो लाग्छ, संसारमा फुटबल बाहेक कुनै गतिबिधि भएकै छैनन्

संसार चल्न एउटा गति चाहिन्छ । ब्यक्तिमा गति, समाजमा गति, देशमा गति, बिश्वमा गति । गति भन्नाले गतिबिधि बुझ्नोस् । जसरी गतिबिनाको शरीरलाई मृत मानिन्छ त्यसैगरी गतिबिधि बिनाको समाजलाई पनि प्राणहिन ठानिन्छ । यस अर्थमा विश्वकप एउटा सुन्दर गतिबिधि हो ।

तर सबैथोक यहीमात्रै हो, यो बाहेक केहीपनि छैनजस्तो गर्नुचाहीं दुर्गति हो । कुनै अमूक देशको जित–हारलाई जीवन मरणको सवाल ठान्ने, अमूक खेलाडीको सहभागिताललाई नाम/बदनामको बिषय बनाउने कुरा दुर्गती हुन् । एउटा बिषयलाईमात्र बिषय ठान्ने, बांकी बिषयलाई संसय गर्ने कुराले मान्छेलाई मान्छे हैन, मुर्ती बनाई दिन्छ ।

हो, ठुल्ठूला देशकालागि खेल एउटा राजनीति हो । यसमा ठूल्ठूला झेलपनि हुन्छन् । खेलभित्रको राजनैनीतिक झेल नबुझेका हामीचाही बिनासित्थीमा बिबाद गर्छौं । विश्व राजनीतिका बादशाहहरुले टिमको फ्यान फलोईंङ् देखाएर झन मज्जाले राजनीति गरिरहेका हुन्छन्, हामीलाई यो कुरा पत्तै हुंदैन ।

खेल एउटा ब्यापारपनि हो । लाईभका देख्नु भएको होला नि, करोडौं डलरका बिज्ञापनहरु । ती त देखिने दाँतमात्र हुन्, नदेखिने कति हुन्छन् कति । अझ आतभित्रका दाह्राहरुको कुरै नगरौं । सट्टेबाजी, जुवागेम, ग्याम्लिङ्जस्ता दाह्राले खेललाई नराम्रोसँग घोचिरहेको हुन्छ । यस्तोमा हामी दर्शकले दर्शकमात्र हुन सकिन्छ, फुटबल टिमको मेनेजर नै ठान्नु हुन्न ।

माथीमा कुरालाई मनन गरेपछि अब आउनोस्, खेलभित्रका अनमोल कुराहरुको चर्चा गरौं ।

स्वाश्थ्यकालागि खेल । मित्रताका लागि खेल । प्रतिष्पर्धाकालागि खेल । अर्थोपार्जनकालागि खेल । संबन्ध स्थापर्नाथ खेल । भातृत्व पुर्नस्थापर्नाथ खेल । मनोरञ्जनकालागि खेल । आत्मारञ्जनकालागि खेल । खेललाई यतिमात्र सीमित राख्न सके खेलमा चलखेल हुन सक्दैनथ्यो ।

अं, खेलभित्रको एउटा अनमोल कुरा त झण्डै छुटेछ । खेलको कौशसले देशलाई चिनाउँछ । खेलाडीले ब्यवहारले त्यो देशको जनतालाई चिनाउँछ । राम्रो खेल्ने टिमले आफुलाई उन्नत बनाउँछ, देशलाई समुन्नत गराउँछ । तर, त्यसकालागि एउट शर्त हुन्छ, खेलाउनेका मनमा ईमान र जमान हुनुपर्छ, खेल्नेका मनमा देशप्रेमको दियो बल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com