कलाकार बन्न कति पढ्नुपर्छ ? एक गजुरियल अनुभव…

त्यसबेला मेरो कलाकारिताको क्षेत्र खासै फैलिईसकेको थिएन । स्याल कराउने, कुकुर भुक्ने, बच्चा रुनेजस्ता २।४ वटा नक्कल गर्दथें । तरपनि, आफन्तहरु हाँस्दथे । साथीभाइहरु ताली बजाउँथे । छिमेकीहरु हौस्याउँथे । अग्रजहरु ‘संभावना बोकेको केटो’ भन्दथे । अर्थात् नजिकका मान्छेहरुबिचमा भने पंक्तिकार ‘चर्चित कलाकार’ भैसको थियो ।

त्यतिबेला मान्छेको आम धारणा थियो, कलाकार बन्नेले पढाईतिर ध्यान दिँदैनन् । अर्थात्, कलाकार बन्नकालागि पढाईको जरुरत छैन, कला भएपछि सबथोक भईहाल्छ । तर, पंक्तिकार पढाईमा ‘फष्टक्लास’ नभएपनि ‘थर्डक्लास’ पनि थिएन । एकदिन स्नातक परिक्षाको को परिक्षाफल आयो, दोश्रो श्रेणीमा पास भएछु ।

दंग पर्दै चक्लेट बाँड्न थालेँ । यसैक्रममा भाउजुपर्ने आफन्तसँग भेट भयो । बिएपास भएको खुशी दिमागमा खेलाउँदै सोधेंः ‘भाउजु, छोराछोरीको पढाई कस्तो छ ?’ भाउजुले जवाफ फर्काउनु भयोः ‘छोरीको त राम्रै छ बाबु ।’ फेरी सोधेंः ‘अनि, छोराको नि ?’ असजिलो मान्दै भाउजु पड्किनु भयोः ‘त्यसले त पढाईतिर ध्यान नै दिँदैन ।’ म केही बोल्न खोज्दै थिएँ, भाउजुले प्याच्च भन्नुभयोः ‘छोरालाई त पढ्न भनेपछि जिउमा काँडा उम्रिन्छन्, हजुरजस्तै बन्लाजस्तो छ ।’

भाउजुको जवाफ सुनेर मेरो गहुँगोरो अनुहार नि..लो भयो । बिएपासको सर्टिफिकेटले तर्रर आँशु खसाल्यो । प्राप्त खुशी धुलो पिठ्ठो हुनपुग्यो । हरियो अनुहार लगाएर फर्कन लाग्दै थिएँ, भाउजुले फेरी घोच्नुभयोः ‘हजुरको भतिजलाईपनि कलाकार बनाउनोस् है, यसले पढेर खालाजस्तो छैन ।’ चकलेटपनि दिईंन । रिजल्टको कुरो पनि सुनाईंन । पँहेलो अनुहार लगाएर केही नबोली फर्किएँ ।

अहिले संझन्छु, आखिर भाउजुले किन त्यसो भन्नु भएको होला ? के हाम्रा अविभावकहरुको नजरमा कलाकार बन्नकालागि अध्ययनको जरुरी छैन भन्ने बुझाई हो ? कि नपढेका, फेल भएका र अन्त ‘नबिकेका’जति कलाकारितामा ‘सल्टाउन’ सकिन्छ भन्ने धारणा हो ? त्यसबेला मैले उत्तर भेट्न सकेको थिईंन ।१५।१६ बर्षको गजुरियल अनुभवमा भन्न सक्छु, कला पचासप्रतिशमात्र जन्मसिद्ध प्रतिभा हो, बाँकी पचासप्रतिशत त निरन्तरको अभ्यास हो । निरन्तर अभ्यासले शत्प्रतिशत बन्ने हो ।

जन्मसिद्ध कलालाई माझ्ने र चम्काउने काम शिक्षाले गर्छ । ‘शिक्षा’को अर्थ बिद्यालय, विश्वबिद्यालयको सर्टिफिकेट लिनुमात्र हैन, स्वअध्ययनले पनि मान्छेलाई सफल बनाउन सक्छ । यदी नेपाली कलाकारहरुसँग अन्तराष्ट्रिय भाषा, साहित्य र संस्कृतिको पनि ज्ञान हु“दो हो त नेपाली कलाकारिता विश्वव्यापी भैसक्थ्यो ।

प्रबल गुरुंग जो फैसन डिजाईनको क्षेत्रमा अन्तराष्ट्र्यि क्षमता राख्दछन्, उनलाई नै उदाहरण लिऔं । डिजाईन कलाको कारणमात्रै उनि सफल भएका होईनन् । उनिसँग भाषाको ज्ञान छ । जहाँ सफल छन्, त्यो देशको कला र संस्कृति बुझेका छन् । नियम कानुनको हेक्का छ । त्यहाँका मानिसहरु के सोच्छन् र कस्तो चिज मन पराउँछन् भन्ने कुराको गहिरो अध्ययन गरेकाछन् । त्यसैले त उनले डिजाईन गरेका पोशाकले अमेरिकाका राष्ट्र्पतिपत्नीदेखि हलिउड सेलिब्रेटीसम्मको मन जितेकाछन् ।

कला सबैसँग हुन्छ तर कलाकार त्यो मात्रै हुन्छ जसले बहुसंख्यक जनताको मन जित्छ । बहुसंख्यकको मन त्यसले जित्छ जसले धेरै मानिसको मनोबिज्ञान पढ्न सक्छ । मनोबिज्ञानका सकारात्मक र नकारात्मक पाटाहरुलाई बिश्लेषण गरेर प्रश्तुत गरिएको कला दिर्घजीबि हुन्छ । त्यसकालागि त बिश्वबिद्यालयमा नपढेपनि समाजलाई त मिहिन ढंगले पढ्नैपर्छ । नपढेपनि कलाकार भईन्छ भन्ने कुरा पुरानो भैसक्यो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com