अलबिदा बागबजारकी साँल्दिदी : पढ्नोस्, कैलेकाहीं दिल खोलेर रुनुपनि पर्छ…

काठमाण्डौ पुरानो बसपार्कबाट शंकरदेव क्याम्पसतिर लाग्दा बिचमा खसिबजार पर्छ । धेरै पहिले त्यहाँ हाम्रो एसटिडी, आईएसटिडको दोकान थियो । दोकान अगाडी एउटी संघर्षशिल महिला भोकसँग युद्ध लड्थिन् । अर्थात्, फुटपाथमा पसल थापेर परिवार पाल्थिन् ।

कहिले मोजा बेचेर छाक टार्थिन् । कहिले कागती भाग लगाएर घर चलाउँथिन् । कहिले साग बेचेर परिवार पाल्थिन् । पछिल्लो समय उनी सडक किनारामा खाटमा राखेर कपडा बेच्ने हैसियतमा पुगेकी थिईन् ।

उनलाई हामी साँल्दिदी भन्थ्यौं । उनको रुप, रङ्, हाउभाउ, बोलीचाली दुरुस्तै मेरी साँल्दिदीको जस्तै थियो । आमापनि झापाबाट आउनै बित्तिकै ‘साईंलीलाई भेट्ने जानुपर्ने’ भन्नु हुन्थ्यो ।

बागबजारको स्थायी बसोबास छोडेर बालकोट गएकोपनि दशक पुगिसक्यो तर दाजुहरु दिनैपिच्छेजस्तो साँल्दिदीलाई भेट्न पुगि रहनुहुन्थ्यो । बागबजार पुग्दा म सबैभन्दा पहिले त्यही फुटपाथमा पुग्थें । साँल्दिदीको हँसिलो, फरासिलो अनुहार हेर्थें, ‘के छ त भाइ चालामाला ?’ भन्ने शब्द सुन्थें । र, सु:ख, दु:खका बात मारेर फर्किन्थें ।

आज आमाले आँखाका डिलमा आँशुका ढिका पुछ्दै भन्नु भयो, ‘कार्कीकी छोरी हो, तामाङसँग बिहे गरेकी थिई ।’ तर मैले साँल्दिदीको नाम, थर, जात, धर्म कहिल्यै सोधिंन । किनकी उनको मुहारमा म दुर्गम इलाममा रहेकी, कहिलेकाहींमात्र भेट हुने मेरी आफ्नै साँल्दिदीलाई देख्दथें । फुटपाथकी मेरी साँल्दिदी दु:खको पहाडमा थिईन् तर कहिल्यै अध्यारो मुख लगाईनन् । सबैसँग मिठो बोल्थिन्, छिटो बोल्थिन् । हाँस्दै भन्थिन्, ‘भाइ, म त छिट्टी पो छु त !’

हिजो केशबदाईले सुनाउनु भयो, ‘खसी बजार साईंली त गईछिन् नि !’ दाजुको अनुहारमा हेर्दै सोधें, ‘कहाँ ?’ अनुहार अँध्यारो थियो, ओठ काँपि रहेका थिए । मैले बुझिहालें, ‘छिट्टी साँल्दिदी’ साँच्चै छिट्टै गईछिन् ! अस्ती अस्ती २६ गते पुरानो बसपार्कमा बिहान चारबजे फुल लिएर आउँदा एउटा अराजक चालकको ठक्करबाट घाइते भएकी थिईन्, हिजो सधैंका लागि, सबैकालागि गईछिन् ।

रगतको नातापनि छैन । कथित ‘ठूलो मान्छे’पनि हैनन् । फुटपाथमा चिनजान भयो । फुटपाथमै आफन्त भईयो र फुटपाथबाटै छुट्टिईयो । साँल्दिदी, तिम्रो मृत्यूको खबरले हामी स्तब्ध छौं ! आफ्नै दिदी बितेजस्तो भएको छ । सायद पुर्वजन्म वा पुर्नजन्ममा हाम्रै कुनै कनेक्सन थियो होला वा हुनेछ !!

गरिबीबाट आयौ । फुटपाथमा संघर्ष गऱ्यौ । र, फुटपाथमै देहत्याग गऱ्यौ । सायद सडक नै तिम्रो जीवन थियो  ! तिम्रो शरीर प्रकृतिमा बिलिन भएपनि चेतनातत्व यतै कतै घुमि रहेको होला, चाँडै शान्तीमा समाहित होओस् । यदी अस्तित्वले पुर्नजन्मको व्यवस्था गरेको रहेछ भने सुखी परिवारमा जन्म होओस् । दु:खको रिण यो जुनीमा तिरि सकेकी छ्यौ । ‘म त छिट्टी पो छु त’ भन्थ्यौं, छिट्टै आउ ल साँल्दिदी !  हार्दिक श्रद्धाञ्जली   💡

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com