सजिलो अंग्रेजी : सि यु नेक्स्ट अर्थात् उनि, तिमी र अर्की !

प्रकाशित मिति: ५ श्रावण २०७५, शनिबार ०५:३६

‘बोल्नु’ र ‘बकबक गर्नु’ फरक कुरा हुन् । बुझेर गरिएको कुराकानी ‘बोली’ हुन्छ, बुझ्दै नबुझी दिईएको अभिब्यक्ति ‘बकबक’ ठहरिन्छ । हामीमध्ये धेरै जना अंग्रेजीमा ‘बकबक’ गर्छौ तर बोल्न सक्दैनौं । अंग्रेजीमा बकबक गर्नुलाई ‘नेपाङ्ग्रेजी’मा बोल्नु पनि भनिन्छ । आउनोस्, आज रमाइलो अंग्रेजीलाई ‘नेपाङ्ग्रेजी’मा बकबक गरौं र पेट मिची मिची हाँसौं ।

हे गाइज, ह्वाट्स् अप् ?’ भन्ने शब्द त सबैले सुन्नु भएकै होला । धेरै युवाहरुले त प्रयोग नै गर्नुहुन्छ होला । केहीलाई यो शब्दको अर्थ पनि थाहा होला । तर यसको नेपाङ्ग्रेजी अर्थ कमैलाई थाहा छ । गजुरियल बिष्लेषणका अनुसार ‘हे गाइज्’को अर्थ ‘ए गौमाता’ र ‘ह्वाट्स अप्’को अर्थ ‘माथी के छ ?’ भन्ने हुन्छ । यसरी दुबै शब्दलाई एउटै वाक्य बनाएर बोल्दा ‘हे गाइज, ह्वाट्स् अप् ?’को नेपाङ्ग्रेजी अनुवाद ‘ए गौमाता, माथी के छ ?’ हुनजान्छ ।

अब ‘नाइस् टु मिट यु’ भन्ने शब्द सुन्नु भएको छ ? छ भने त्यसलाई नेपाङ्ग्रेजीमा उल्था गर्नोस् त ! गाह्रो लाग्यो भने सुन्नोस्– ‘नाइस्’ भनेको ‘स्वादिलो’, ‘टु’ भनेको ‘दुईटुक्रा’, ‘मिट’ भनेको ‘मासु’ र ‘यु’ भनेको ‘तिमीलाई’ हो । अब समग्र शब्दलाई वाक्यमा संयोजन गर्दा ‘नाइस् टु मिट यु’को नेपाङ्ग्रेजी अर्थ हुनजान्छ– ‘स्वादिलो दुईटुक्रा मासु तिमीलाई !’ तर नयाँ साथीलाई ‘नाइस् टु मिट यु’ नभन्नुहोला । किनकी यदी शाकाहारी रहेछ भने चित्त दुखाउन सक्छ क्या–‘मासु नै नखानेलाई दुईटुक्रामा बिटुलो बनाउन खोज्ने ?’ भन्दै !

धेरै नेपाली सेलिब्रेटीहरु कुराकानीको बिच बिचमा ‘बाई द वे’, ‘अल राइट’जस्ता शब्द मिसाउने गर्नुहुन्छ । म पनि एउटा छोटमोटे सेलिब्रिटी भएकोले त्यसको अंग्रेजी थाहा नभए पनि ‘नेपाङ्ग्रेजी’ अर्थ राम्रोसँग जानकारी छ । मलाई एकजना पत्रकारले सोधे– ‘तपाईंले बिचबिचमा बोलीरहनु भएको ‘बाइ द वे, अल राईट’ भन्ने शब्दकोको अर्थ के हो ?’ मैले तुरुन्तै जवाफ फकाऐें– ‘बाइ’ भनेको ‘किन्नु’, ‘द’ भनेको ‘यो’, ‘वे’ भनेको ‘बाटो’, ‘अल’ भनेको ‘सबै’ र ‘राइट’ भनेको ‘दायाँ †’ छक्क पर्दै पत्रकारले सोधे– ‘पुरा वाक्य भनिदिनोस् न त ।’ मैले जवाफ दिऐें– ‘बाइ त वे अल राइट’ भन्नाले ‘यो बाटो खरिद गऱ्यौ भने सबै दायाँतिर लाग्नेछन् ।’

यदी तपाईं अंग्रेजी ‘बोल्नु’ हुन्छ भने ‘बकबक’ गर्नेका अगाडी सोचेर बोल्नुहोला, बित्यास पर्नसक्छ । एक पटक म बाटोमा केराको बोक्रामा चिप्लिएर पछारिन पुगें । संगै रहेका मित्रले मेरो हात समाउँदै सोध्नु भयो– ‘आर यु ओके ?’ घुँडा पिल्सिएको झोंकमा मैले जंगिऐंं– ‘यु आर नै ओके होला नि ।’ उनि अचम्भित भए–‘किन रिसाएको ?’ मैले नेपाङ्ग्रेजी अर्थमा बताऐंं– ‘के म पिलित्त चिप्लिने ‘साबुन’ हो र आर यु ‘ओके’ भन्नलाई ?†’ उनि खित्खित् हाँस्न थाले ।

‘ह्याभ अ नाइस् डे’– नेपाङ्ग्रेजीका ज्ञातालाई छुट्टिने बेलामा कहिल्यै यो शब्द प्रयोग नगर्नुहोला । किनभने यसोभन्दा मैले झण्डै झापु खाएको छु । उनलाई मैले भनें ‘ह्याभ अ नाइस डे ।’ मित्रले सातो खाए–‘भात खान पाउँदिंन र मैले ?’ शुरुमा त बुझिंन । तर अहिले नेपाङ्ग्रेजीको कक्षा लिएपछि पो साथी रिसाएको कारण थाहा भयो । ‘ह्याभ अ नाइस डे’को अर्थ त ‘एउटा मि…ठो दिन खानोस् ल’ पो रहेछ । मिठो ‘म:म:’ खाने मान्छेलाई ‘मिठो दिन’ खानोस् भन्दा धन्न पो मारेनन् !

नेपाङ्ग्रेजीभाषी मित्रलाई ‘ह्याङ् आउट’मा जाने अनुरोध कहिल्यै नगर्नुहोला । उसले तपाईंलाई जवाफ दिनेछ–‘जसलाई मर्न मन छ, त्यो गए भैगयो नि, म किन जाने ।’ किनभने ‘ह्याङ् आउट’को नेपाङ्ग्रेजी अर्थ ‘बाहिर कतै गएर पासो लाग्ने’ भन्ने हुन्छ ।

नेपांग्रेजी ‘बोल्ने’ महिला मित्रलाई ‘किप इन टच’ नभन्नोस्, थप्पड खानुहोला । किनभने हात मिलाउँदै ‘किप इन टच’ भन्नुको नेपाङ्ग्रेजी अर्थ ‘यसरी नै छोईराख ल’ हुनजान्छ । अर्काकी प्रेमिकालाई तपाईंको हात ‘छोइराख्ने’ के दर्कार ? त्यसैगरी ‘डण्ट माइन्ड, ओके †’को नेपाङ्ग्रेजी अर्थ ‘दिमाग छैन ल’ हुन्छ । अंग्रेजीमा ‘आई वाज फिडिङ्’को अर्थ ‘म खुवाई रहेको थिऐं’ भएजस्तै नपांग्रेजीमा ‘आइ वाज किडिङ्’को अर्थ ‘म बच्चालाई खुवाई रहेको थिऐं’ हुन्छ । कसैलाई ‘वेलकम’ गर्नुभन्दा पहिले सोच्नोस्, त्यो मान्छे अंग्रेजीपनि बुझ्छ कि नेपांग्रेजीमात्रै बोल्छ । नेपांग्रेजीमा ‘वेल’ भनेको तेल हो, ‘कम’ भनेको ‘आयो’ हो । के थाहा ‘वेलकम’को अर्थ ‘तेल घस्न आइज’ भन्यो भन्ठानेर दनक पो दिने हो कि !

अन्त्यमा बिदाई हुने बेलामा ‘सि यु नेक्स्ट’ भन्नु अगाडी सोच्नोस्, कतै त्यो मान्छेले यो शब्दलाई नेपाङ्ग्रेजीमा उल्था गर्ने त हैन † किनकी नेपाङ्ग्रेजीमा ‘सि’ माने ‘उनी’, ‘यु’ माने ‘तिमी’ र ‘नेक्स्ट्’ माने ‘अर्की’ हुन्छ । ‘सि यु नेक्स्ट्’ अर्थात् ‘उनि, तिमी र अर्की’ भनेर उनिहरुको बारेमा तपाईं हामीले किन चासो राख्ने † कसो ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com