Real Kura#दुईजनाको एउटै पुस्तक ‘आफ्नो किताब’: सोच्ने कला, बोल्ने कला र गर्ने कला….

 

 

 

“हाम्रो दृष्टि”व्यवहार र नम्र बोलीवचन

-डा. नम्रता पाण्डे
डा.प्रद्युम्नराज पाण्डे

 

सन् २००४ मैले जाइकाको छात्रवृत्तिमा माष्टर्स गर्न जापान जाने अवसर पाएपछि भौतिक सुखमा परिवार सुखजस्तो अरू हुन सक्दैन भन्ने मान्यताले हामी चारजनाको परिवार जापान प्रवेश गर्यौ । प्रवेश गर्नेबित्तिकै त्यहाँको नगर विकास समितिको कार्यालय पुग्यौं, अस्थायी बसोबासको प्रमाणपत्र लिन र छोराछोरीको विद्यालयबारे बुझ्न । साथमा विश्वविद्यालयका मित्र थिए सहयोग गर्न ।

हामी सबैले परिचय पत्र पायौं । छोरा ८ वर्षको थियो । त्यसैले उनीहरूले भने – उमेरअनुसार ऊ कक्षा २ मा नजिकैको प्राथमिक विद्यालयमा भोलिदेखि जानेछ । तिम्रो घरमै बिहान ८ बजे टोलीनेता उसलाई लिन आउनेछ । छोरी ४ वर्षकी मात्र भएकाले, बाबा विश्वविद्यालयको विद्यार्थी भए पनि आमाको कुनै काम नभएको हुदा सरकारी शिशु स्याहार केन्द्र पाउन गाह्रो हुन्छ । त्यसैले आमाले काम खोज्नु र सरकारी शिशु स्याहार केन्द्रमा राख्नु । तिमीहरू विदेशी हौ । निजी शिशु स्याहार केन्द्रमा फि बढी लाग्छ । पहिले काम खोज आमाले र दुवै जना व्यस्त भएपछि सरकारी शिशु स्याहार केन्द्रले छोरीको भर्ना लिन्छ ।

मनमनै हामीलाई धनी देशका विकसित मानिसहरू, मन पनि कति सहयोगी र इमानदारी भन्ने लागिरहेथ्यो । धन्यवादले भरिइरहेका थियौं हामी किनकि यत्तिको मीठो बोलीवचन र सहयोगी भावना सायद देशमा नेपालीबाट पाएका रहेनछौं । नभन्दै भोलिपल्ट बिहानै ८ बजे छोरालाई लिन टोली नेता आइपुगे घर नम्बर पत्ता लगाएर । त्यसपछि नजिकैको चौरमा भेला भएर त्यो क्षेत्रका सबै विद्यार्थी लामबद्ध भई टोली नेताको संरक्षत्वमा विद्यालय जाँदा रहेछन् ।

हाम्रो घरबाट विद्यालय हिडेर करिब १० मिनेटको दूरीमा थियो । छोरा भर्ना भएकै दिन विद्यालय परिवार र अभिभावकबीच परिचयात्मक कार्यक्रमका लागि हामीलाई ९ बजे बोलाइएको थियो । हामी बाबा, आमा र छोरी ३ जना समयमै छोराको विद्यालय पुग्यौं । मूलढोकामा पुगेर घन्टी बजायौं । करिब ५० वर्ष उमेरको लोग्ने मान्छे हातमा ३ जोर भित्र लगाउने चप्पल बोकेर ‘हाई’ भन्दै ढोका खोल्नुभयो । सोच्यौं – जापान समृद्ध मुलुक भएकाले होला, कार्यालय सहयोगी पनि सभ्य, सुन्दर हाकिमजस्तै रहेछन् । उनले हामीलाई चप्पल लगाउने इशारा गर्दै कोठाभित्र पस्ने अनुरोध गरे र आफू एक कुनामा रहेको धारामा हात धोएर रुमालले पुछ्दै हामीलाई पनि बस्ने अनुरोध गरे ।

 

हामी अचम्म पर्यौं , प्रिन्सिपल लेखेको नेम प्लेट उनको कुर्सीमा थियो । चप्पल बोकेर दौडिदै ढोका खोल्न जाने हाम्रो नेपालमा कार्यालय सहयोगी देखेको, प्रिन्सिपलले यस्तो काम गर्छन् भन्ने हाम्रो सोचाइमा नभएको पहिलो अनुभवले जापानीहरूप्रति र उनीहरूको व्यवहारप्रति जापान प्रवेशको दोस्रो दिनमै नतमस्तक भयौं । जापान जानुअगाडि थोरै अभिवादनका भाषा र अत्यावश्यक कामचलाउ भाषा सिकेर गएका थियौं र पनि यहाँ थोरै समयमा सिकेको भाषाले खासै मद्दत गर्दैनथ्यो तर प्रिन्सिपलका कुरा र इशारा उनको आत्मीयताले व्यक्त गर्न खोजिएका सबै कुरा हामीले बुझ्यौं । छोरी तुरुन्तै शिशु स्याहार केन्द्र नजाने हुँदा दिउसोको समयमा उसलाई लिएर खेलाउन आए पनि हुन्छ
आमाले समेत भने ।

हुन त त्यहाँ घरनजिक ५–५ मिनेटको दूरीमा फराकिला चौर र पार्क थिए केटाकेटीका लागि । छोरालाई जापानी भाषाको कुनै ज्ञान थिएन र पनि उसले शारीरिक र भावनात्मक भाषाको अनुकरण गरेर सहज तरिकाले विद्यालय जाने आउने र सिक्ने गरिरहेका थिए । प्रतिदिन उनको भाषा सिक्ने क्रम विकसित हुँदै गइरहेको थियो । जापानीको प्रयोगात्मक शिक्षाको प्रभाव एक हप्ताको बीचमा उनले राम्ररी नै बोल्न र आफ्ना कुरा राख्न सक्ने भइसकेका थिए । बाबा विश्वविद्यालय जाने, छोरा विद्यालय, छोरी र म घरमा । समय काट्न त मलाई मुश्किल थिएन ।

 

ध्यान गरेर,प्रवचन सुनेर, सङ्गीत सुनेर र छोरीसँग खेलेर दिन बित्दथ्यो भने साँझ बिहान भान्छाको काम र घरको सरसफाइ ठीकै हुन्थ्यो
तर छोरीका लागि स्कुल जरुरी थियो । उनीहरूले सिकाएअनुसार ‘हेलो वोर्क’ भन्ने संस्था रहेछ विदेशीको सहयोगका लागि काम खोजिदिने संस्था । ठेगाना पत्ता लगाएर आइतबार पुग्यौं तर भाषाको कारणले उनीहरूले सोधेको जवाफ दिन र कामबारे विस्तृत जान्न गाह्रो थियो । उनीहरूले बुधबारको दिन अङ्ग्रेजी जान्ने कर्मचारी आउनुहुन्छ, हामी फोनमा कुरा गराउंछौ र काम पक्का हुन्छ भने । नभन्दै बुधबार १० बजे नै अङ्ग्रेजी बोल्ने कर्मचारीको फोन आयो । “पाण्डेजी तपार्ईं पूर्णरूपमा जापानी बोल्न सक्नुहुन्न, त्यसैले टाढा काममा जाने कुरा पनि गाह्रो हुन्छ । घर नजिक एउटा कृषि फार्म छ ।

त्यसमा उत्पादित वस्तु प्याकेजिङ गरेर स्टिकर टाँस्ने काम हुन्छ । फरक उत्पादनअनुसार फरक स्टिकर टाँस्ने हो । यसका लागि तपार्ईंले धेरै भाषा जान्नुपर्दैन । भोलि अन्तर्वार्ताका लागि जानुस्, तर आज फेब्रुअरी २५ हो, तपाईंको काम अप्रिल १ बाट शुरू हुन्छ” भनेर फोन नम्बर दिनुभयो । ओहो बल्ल काम मिल्यो भनेको फेरि २ महिना कुर्नुपर्ने भो भन्ने मनमा आयो तर मनमनै सबै कुरा मिल्दै गइरहेको छ, यो काम पनि चाँडै मिल्ला भन्ने विश्वास भित्रबाट पलाएको थियो । छोराले साथी बनाइसकेका थिए २ हप्ताभित्रमा र साथीका
बाबा आमालाई परिचय पनि गराइसकेका थिए । साथीको आमा थोरै अङ्ग्रेजी बोल्नुहुँदो रहेछ ।

उहाँको सहयोगमा कुरामोची कृषि फर्ममा अन्तर्वार्ता दिन गएं । त्यहा“ कुरामोची किनुको भन्ने महिला फार्मको निर्देशक हुनुहुँदो रहेछ । मेरो आमाजस्तै लाग्यो । हामी दुईले एकअर्कामा परिचय गर्यौ । आँखा जुधे, मन एकाकार भइसकेको आभास हुन्थ्यो । कुराको क्रममा
मुस्कुराउदै, खुशी भावमा, आफ्नै छोरीलाई झैं ‘हुन्छ अप्रिल एकबाट काममा आउनू ।’ ‘मलाई अंग्रेजी आउदैन, तिमी जापानिज सिक्दै गर र मलाई पनि अंग्रेजी सिकाऊ’ भन्नुभयो । संगै गएको साथीले मध्यस्थकर्ताको भूमिका निभाउनुभएको थियो । बीचमै “छोरी र म घरमा, मलाई भन्दा पनि छोरीलाई स्कुल जान ढीला भयो । चाडै काममा आउन मिल्दैन” भनेर सोधें ।

उहाँले मेरो अनुहारमा हेरेर तुरुन्तै ‘हुन्छ त, भोलिदेखि नै आउनू’ भन्नुभयो । प्रत्येक व्यक्तिमा भगवान् हुन्छ भन्ने उदाहरण यही होला भन्ने भयो । हर्षित र धन्यवादले भरिएर काममा लागेको कागज बनाई घर फर्किए“ । त्यसै दिन दिउसो कागजपत्र बोकेर छोरीका लागि सरकारी शिशु स्याहार केन्द्रमा गएँ । उनको भर्ना भयो भोलिपल्टदेखि नै स्कुल आउने गरी । त्यहाँ सबै चिनापरिचय, स्कुलका नियमबारे, छोरीलाई मनपर्ने, मन नपर्ने खानालगायत खेलको विस्तृत विवरण लिए । यसो गर्दा जापानी नबुझ्ने बच्चा भए पनि सजिलै स्कुलमा रमाओस् र खुशी होस् भन्ने उनीहरूको आशय थियो ।

यहाँ पनि व्यवहार र नम्र बोलीवचनले हामीलाई नतमस्तक बनाइसकेको थियो । भोलिपल्ट छोरी स्कुल, आमा काममा, दुवैले नयाँ ठाउँमा असहज महसुस गर्नुपरेन । सजिलो काम, नम्र र सहयोगी मित्र विस्तारै भाषा र रहनसहन सिक्दै गएं । रमाइलो बढ्दै गयो । अब म उनीहरूसंग हाँस्ने, जिस्किने, बोल्ने, काममा निपुण र भाषामा पोख्त हुन थालिसकेकी थिएं । काम गर्थें, घन्टाअनुसार पैसा आउंथ्यो, जहिले चाह्यो बिदा मिल्थ्यो र पनि मलाई त्यो काम उनीहरूले मेरो सहयोगका लागि दिएको भनेर अहोभावले भरिएको हुन्थें । द्वितीय विश्वयुद्धले क्षतविक्षत पारेको यो देशले मात्र छ दशकमा आर्थिक विकासमा लामो फड्को मारीसकेको देख्दा नेपाल हुँदा सुनेको कुरा वास्तविकतामा परिणत भएको थियो ।

 

रहँदै बस्दै जाँदा यहाँका मानिसको बोलीचाली, व्यवहार, कर्तव्यपरायणता र सभ्यता विश्वकै अग्रणी मुलुकको सूचीमा छ जापान भन्नुमा कुनै अनुपयुक्त लागेन । जीवनका प्रत्येक मोडमा आउने परिणाम हाम्रो जीवनप्रतिको हेराइ, बुझाइ र सकारात्मकताको फल नै हो भन्ने निर्क्यौल भयो ।

                                                  –आफ्नो किताबबाट

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com