गाईजात्राको कुरा : ‘धेरै सपना देख्नु हुन्न, ब्युँझनु पर्दछ नत्र कोमामा पुगिन्छ ।’

आदरणीय दर्शक/पाठकहरु, गाईजात्रे अभिवादन । धेरैले सोध्नु भएको छ, गाईजात्रा किन गर्नु भएन ? सही जवाफका लागि तलको आर्टिकल पढ्नु पर्ने हुन्छ ।

कुरो के पऱ्यो भने, लामो समयको राजनैतिक अस्थिरतापछि बहुमतको सरकार बन्यो । बलियो प्रतिपक्ष तयार भयो । वामपन्थीहरु एक भए । प्रजातान्त्रिकहरु जोडिए । ‘चेक एण्ड ब्यालेन्स’को आधार निर्माण भयो । समृद्धिको ढोका खुलेर आयो । व्यंग्यको जरुरत नपर्लाजस्तो भयो ।

किनकी सरकारले यस्तै संभावना देखाई रहेको थियो । हामी प्रधानमन्त्रीका मिठा सपनामा रमाई रहेका थियौं । मन्त्रीहरुका गुलिया योजनामा भुलिरहेका थियौं । सरकारको प्रचार प्रसार, आश्वासन र योजना सुन्दा लागेको थियो, अब गाईजात्राका दिन गए, ब्यंग्य गर्नेहरु बेरोजगार हुने भए । तर…

तर, सरकार जनताको अविभावक हो । अविभावक आफ्ना सन्ततिप्रति कहिल्यै कृतघ्न हुन सक्दैन । अन्तत: सरकारले हास्यव्यंग्यकर्मीलाई बेरोजगार हुन दिएन । बरु प्रधानमन्त्री स्वयम् हास्यव्यंग्यमा लागेर गाईजात्रालाई सहयोग गरिरहनु भएको छ, यो हाम्रालागि दु:खको कुरा हो र ?

तपाईंहरु भन्नुहोला, हँसाउनेलाई बिषयवस्तुको अभाव भयो † कुरो त्यस्तो हैन । बिषयवस्तु टन्नै छन् तर हँसाउने सबै बिषय प्रधानमन्त्रीज्यूले भ्याईदिएपछि हामीले ‘रेष्ट’मा बस्नु परेकोमात्र हो ।

‘घरघरमा ग्यांस’को कुरालाई व्यंग्यको छुरा हानौंला भन्ने योजना थियो तर गाईजात्राको पूर्वसन्ध्यामा प्रधानमन्त्रीज्यूले गोबरग्यांस उद्घाटन गरेर बिटुलो बनाई दिनु भएको हो, बिषयको अभाव हैन ।

काठमाण्डौका अल्छी मेयरको गियर डाउन गर्ने तयारी थियो तर उनको अन्र्तवार्ता सुनेपछि ‘जले पे नमक’ छर्न मन लागेन । जुन मेयरलाई आफ्नो नगरले के के गर्दैछ भन्ने थाहा छैन, तिनको बिषयमा हाँसेर व्यंग्यको बेईज्जत गर्न मन लागेन । बिषय त कति छन् कति !

‘सडक पोखरी’माथी ब्यंग्यको पौडी खेल्ने प्रयास हुँदैथियो तर ‘बिमस्टेक’ले पुर्न थालेपछि हास्यव्यंग्य टालटुलमात्र भएको हो, दीर्घकालिन समाधान भएको हैन ।

‘मुर्गा प्रसाई’को फुर्फुर र ‘मार्सी चामल’को चुरफरमाथि दनक दिने बिचार थियो । ‘प्रसाईंका पाहुना’हरु माथी ब्यंग्यवाण बर्साउने नाममा मार्सी चामल माथी अन्याय गर्न हुन्न भन्न लागेकोमात्र ‘मार्सी काण्ड’ भुलेको हैन र भुल्नेपनि छैन । प्रदेशदेखी लिएर संघ समेतका मन्त्रीहरुको दोहोलो काड्ने ईच्छापनि कम भयो । ‘शिशु प्रजातन्त्र’ भनेजस्तो ‘शिशु संघीयता’लाई खतरा होला भनेर एकछिन मौन बसेकोमात्र हो, देशले भोग्नु परेको करको पिंडा सानो बिषयवस्तु हैन ।

अराजक करनीतिलाई ब्यंग्य गर्ने तयारीमा थियौं । तर नगरपालिका र गाउँ पालिकाहरुको ‘निशूल्क:’ विज्ञापन आउन थालेपछि एकछिन पर्खिएको हो । जनताको दबाब र ब्यंग्यको प्रहार कमजोर भएको हैन ।

सुन काण्डका सारा अदृष्य तस्वीरहरु बाहिर आउलान् । त्यसबाट क्यारिकेचर गर्ने ठूलो माछो फेला पर्ला भन्ने लागेको थियो । त्यो काण्डलाई पनि सुनपानी छर्किएर छोपछाप पारेपछि माछा पत्ता लगाउन अप्ठेरोमात्र भएको हो, बिषय नै नभएको हुँदै हैन ।

यातायातको सिण्डिकेट तोड्न पहल गर्ने महानिर्देशकको सकारात्मक नक्कल गर्न सोच्दै थिएँ । बिचरा तिनलाई पनि भुत्ते बनाएर लुते मन्त्रालयतिर मुन्ट्याई दिएपछि यस पटकको गाईजात्रा यस्तै भएछ भनेर जान्नोस् ।

‘चुच्चे रेल’ र ‘पाईपको तेल’पनि राम्रै बिक्ने बिषय थिए । मिठा सपनालाई ब्यंग्यको जालमा पारिहाल्नु हुन्नझैं लागेका छ तर मनोवैज्ञानिकहरु भने, ‘धेरै सपना देख्नु हुन्न, ब्युँझनु पर्दछ नत्र कोमामा पुगिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com