एउटा गोलभेडा किसानको कथा : जसले तपाईं दिमागमा कम्पन पैदा गर्नेछ…

प्रकाशित मिति: ८ भाद्र २०७५, शुक्रबार ०५:१३

-मधुस न्यौपाने, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक सिमलचौरीका सूरवीर सुनार कृषि क्षेत्रका केही गर्नुपर्छ भन्ने व्यक्तित्वको नाम हो । युवा जोस । उमेर सत्ताइस पुग्न सात महिना बाँकी,  एग्रिकल्चरको पटक पटक ट्रेनिङ लिएको । स्नातक पढेको । ऊर्जाशील युवा । उनका टनेलमा गोलीभेँडा पाके । टिपियो । बजार लैजानका लागि गाडी बोलाइयो ।

…तर बिहानैदेखि धुम्मिएको अकासले घनघोर आँसु पोख्यो । त्यही दिन ग्रामीण राजमार्गमा ठूलो पहिरो आयो । गाडी बन्द भो । झरी बाक्लियो । गोलीभेँडा आधा कुहियो । बाँकी बयल्लियो । केही गाउँलेलाई बाँडिदियो । भरियाले बोकेको ज्याला पाए । बचेको दस कार्टुन गोलीभेँडा बजार पुग्थ्यो कि ! उनले झोकले भीरबाट फालिदिए । राजमार्ग बल्लतल्ल आइपुगे ।

काठमाडौ जाने बस चढे । कोठेश्वर ओर्लिए । महादेवस्थानमा पहिले पढ्ने साथीको घर थियो । बेलुका पुगे । सोधियो- ‘के ल्याइस् ?’ भर्खरै तरकारी पसलबाट रू.९५/- किलोग्राममा किनेर ल्याएको २ किलोग्राम गोलीभेँडा टक्र्याए । पाउने खुसी भए । गाउँको कोसेली । के थाहा उनीहरूलाई शूरवीरेको सपना तुहिएको छ । ऊ आज भित्रभित्रै कुहिएको छ । रात बित्यो । मिर्मिरे भो । घाम लाग्यो ।

सोधियो- ‘गाउँ आजै जानुहुन्छ ?’ सूरवीरेले कुरो बुझ्यो । हिँड्यो । बेलुका भेटियो सूरवीरे कोठेश्वर चोकमा । हातमा पर्चा थियो । धमाधम

लोकसेवा तयारी कक्षा सन्चालन रे व्यहोरा । उसले जागिर भेट्टाइसकेछ पर्चा बाँड्ने । खुसुक्क उसलाई एउटाले सोध्यो – ‘महिनाको कति खान्छौ ?’ भन्यो- ‘अहिले ४५००- छ,  ६ महिनापछि बढ्छ रे !’  ऊ मक्ख थियो कि बक्क । हेरेँ,  निधारमा गहिरो चिन्ता थियो, ज्वारभाटा थियो ।

मलाई उसको जीवनको आंशिक घटना कल्पना गर्दागर्दै झुपुझुपु निन्द्राले गाँजिसकेको छ । ऊ के गर्दैछ ? जान्न भोलि फेरि कोठेश्वर चोक जानु त छँदैछ,  न घर पो फर्कियो कि !!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com