समस्याबाट उम्किने रमाईला नेपाली काईदाहरु…

प्रकाशित मिति: ९ भाद्र २०७५, शनिबार १४:२५

समस्याबाट उम्किने ‘नेपाली काईदा’ बडो गज्जबको छ । राष्ट्रि्यता कमजोर भयो भने बिदेशीलाई दोष दियो, आफु हात बाँधेर बस्यो ! संघीयता धरापमा पऱ्यो भने नेतालाई गाली गऱ्यो, निदाई दियो ! नेता कुहियो भने रााजनीतिलाई धारे हात लगायो, गजक्क पऱ्यो ! राजनीति गन्हायो भने पार्टीहरुलाई सत्तो सराप गऱ्यो, आफु बिदेश भासियो !

पार्टी फुटेभने नीतिलाई दोष थोपऱ्यो, अनैतिक गाली गऱ्यो ! नीति टुट्यो भने समाजलाई भन्नु नभन्नु भयो, आफु भने आँखा चिम्लिदियो !
समाज फुट्यो भने देशका थाप्लामा गाली खन्याई दियो, आफु सञ्च काट्यो ! देश बिग्रियो भने सतिलाई सराप्यो, आफ्नो मति जस्ताको तस्तै राख्यो ! तर, ब्यक्ति बिग्रियो भने न कसैलाई दोष, न कसैमाथी आरोप ! कसो ?

तर, त्यसो हैन । ब्यक्ति ब्यक्तिबाट परिवार बन्छ । परिवार मिलेर समाज बन्छ । समाज समाज मिलेर देश बन्छ । देश मिलेर बिश्व बन्छ । बिश्वको कुरा अहिलेलाई यहीं छोडौं– देशको उन्नती वा अवनती प्रत्येक ब्यक्तिको सक्रियता वा निस्क्रियतामा भरपर्छ । ब्यक्ति जागे समाज झलमल्ल, ब्यक्ति भागे देशै अलमल्ल ! रियल प्रश्न उठ्छ– देशलाई अनिर्णयको बन्दी बनाउने नेताले, बन्दीगृहको पाले हुनुपर्ने निर्दोष जनताले ? गजुरियल बिश्लेषण भन्छ– बिसंगतीको दोषबाट हामी कोही ब्यक्तिपनि उम्कन सक्दैनौं । किनभने, कुरा नबुझीकन ताली ठोक्छौं । बिचार नचिनिकन नेता बोक्छौं ।

आज ‘उसलाई’ जिन्दाबाद भन्छौं । भोली त्यसैलाई मुर्दाबाद भन्छौं । ‘राम्रो’ खोज्न चाहाँदैनौं । ‘हाम्रो’ छोड्न सक्दैनौं । सबै नेता हाम्रा हुँदैनन्, ‘हाम्रा’ सबै राम्रा हुँदैनन् भन्ने सत्यलाई स्वीकार गर्दैनौं । हामीले यसो गरेपछि नेताले उसो त गर्ने नै भए नि । ब्यक्तिलाई बिगार्ने उसको नजिकका आफन्तहरु हुन् । हाम्रो दिमागमा डेरा जमाएर बसेका आफन्तले नै हाम्रो बाटो बाधा हालेकाछन् । मनको कुनामा घर जमाएका पाहुनाहरुले हामीलाई छिर्के लगाई रहेका छन् । आखाँको डिलमा सिमाना भएका छिमेकीहरुका कारण हामीलाई अगाडी बढ्न अप्ठेरो भएको हो । हाम्रो मनको महलबाट तिनिहरुलाई हटाउन सकेमात्र ब्यक्ति दोष रहित हुनेछ भन्ने गजुरियल ठम्याई छ ।

एकैछिनकालागि मान्नोस्– ब्यक्तिको एउटा बिशाल घर छ । घरमा धेरै कोठाहरु छन् । कोठामा थुप्रै आफन्तहरु बस्ने गर्दछन् । एउटा कोठामा ‘लोभ’ नामको भाइ बस्छ । अर्कोमा ‘मोह’ नामकी बैनी बस्छिन् । लोभ र मोहले ब्यक्तिको प्रगतीमा जहिल्यैपनि बाधा पुऱ्याउने गर्दछ । तल्लो तलामा ‘कलह’ भन्ने काका छोराले डेरा जमाएको छ । माथिल्लो तलामा ‘अहंकार’ नामको मामाको छोरो बस्दछ । अहंकार र कलहले ‘दया भाउजु’ र ‘करुणा’ बुहारीसँग झगडा गरिरहन्छ । दायाँ कौसीमा बस्ने ‘डाह’ र बायाँ कौसीमा बस्ने ‘रिस’ले घरको शान्ती भाँडेको बर्षौ भैसक्यो ।

‘दम्भ’ नामको छिमेकीले सिमाना मिचेको मिच्यै छ । ‘पाप’ नामको गुण्डादलले दुख दिएको दियै छ । कैलेकाहीं आउने ‘घृणा’ र ‘द्धेस’ नामका पाहुनाहरुलेपनि घरको माहोल गिजोलेकाछन् । ‘हिंसा’ र ‘कलह’ नामका छोराछोरीको पिंडा खप्न नसकेर ‘स्वीकार दाई’ र ‘सहनशिलता भाउजु’ले घर छोडेको बर्षौ भैस्क्यो । गजुरियल बिश्लेषण भन्छ– समाज बिगार्ने तत्व बाहिर छ, ब्यक्ति बिगार्ने तत्व भित्र छ । बाहिरको शत्रु दृष्य छ, देख्न सकिन्छ । साँध सिमाना लगाएर छेक्न सकिन्छ । भित्रको शत्रु अदृस्य छ, देख्न सकिन्न । मननमात्र गर्न सकिन्छ, पर्खाल लगाएर छेक्न सकिन्न । मनभित्रका शत्रुलाई बिवेकले मार्नु पर्दछ, धन वा ‘गन’ले संभव छैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com