चोक चोकका बाबा र थोक थोकका माताहरुको विगविगी…

प्रकाशित मिति: ७ आश्विन २०७५, आईतवार १३:४१

– संप्रस पौडेल ‘दिवस’

पहिले पहिले “बाबा” भन्ने बित्तिकै साधु बाबा कहलिन्थे भने “माता” भन्ने बित्तिकै आफ्नी मातालाई पनि ममता दिने साधुका रुपमा चिनिन्थे । आधुनिक बाबाहरु स्वदेशमा कमाउने अनी विदेशमा रमाउने गर्दछन् भने माताहरु थोकमा कमाउने र चोकमा रमाउने गर्दछन् ।

नेपाल परापूर्वकालदेखि नै यस्ता बाबा माताहरुले भरिएको थलो हो । अहिले पनि नेपालमा थरी थरीका बाबा माताहरु भेटिन्छन् । अहिलेका बाबा र पहिलेका बाबाबीच आकाश-बीचको अन्तर पाइन्छ ।

यहाँ कहिले आफैंले आफैंलाई गोली हान्ने बाबा भेटिन्छ । कहिले अर्काकी श्रीमती भगाएर हिँड्ने पनि भेटिन्छन् । कोही कोही त झारपात र गाँठागुठी थिचेर झोल र धुलो खुवाउँदै सबै रोगका उपचार समेत गर्न तम्सिने स्वघोषित डाक्टर बाबाहरु भेटिन्छन् ।

यहाँ ती आधुनिक बाबाहरुको प्रकारबारे विश्लेषण गरिएको छः

तरुनी बाबाः
मन्दिरमा बस्ने, गुफामा बस्ने, जंगलमा बस्ने अनी उनलाई भेट्न त्यही अँध्यारो मन्दिर, अँध्यारो गुफा र घनघोर जंगलमा बिहान बिहानै झिस्मिसेमा जानुपर्ने । प्रायः तरुनी केटीहरु नै यस्ता बाबाको भक्त बनेका हुन्छन् भने यस्ता बाबाहरुलाई तरुनी बाबा भनिन्छ । यसैले गुफामा बास बसेर तरुनीको आश गर्ने बाबाधारीहरुलाई तरुनी बाबाको कोटीमा राखी अध्ययन गर्न सकिन्छ ।

आधि पिता माताः
एक जना पीता र माता एकै भएकी (तेश्रो लिंगी) मातासँग भेट्ने अवसर मिल्यो । माता प्रणाम भनेको उनी भन्छिन् “म त आधा पिता पनि हुँ, यसैले बाबा भन्नु” । एक प्रश्न “माता कति प्रकारका हुन्छन्” भनी सोध्दा उनी भन्छिन् । “माता साँढे पाँच प्रकारका हुन्छन् । 1. जन्म दिने माता, 2. गाई-गौमाता, 3.श्रीमती (बच्चाका ममी भएकाले आजकल पतिले पनि  ममी भन्छिन्), 4. सासु आमा, 5. साधु तथा जोगिनी माता । “साँढे पाँच भन्नुहुन्थ्यो आधा त छुट्यो त । माता भन्नुहुन्छ “ए वृद्ध बालक याँ मलाई हेर् ।”

विवाहित र बहुविवाहित बाबाः
आफूलाई धार्मिक व्यक्तित्व मान्ने, अझ देवता नै मान्ने, आफ्नो जुठो खुवाउने, खुट्टाको मयल पखालेको पानी खुवाउने यस्ता बाबाहरु भेटिन्छन् । “घरबारमा सबैभन्दा धेरै तनाव छ, तनाव मुक्तिको एकै उपाय गृहत्याग हो” भन्ने अनी आफूचाहीँ एकमाथि अर्कै थप्दै विवाह गरिराख्ने यस्ता बाबाहरु बहुबिबाहित बाबा हुन् । यस्ता बाबाहरु नेपाल र भारतमा प्रशस्त भेटिन्छन् । यिनका पनि अन्धभक्तहरुको ठूलै भीडभाड हुने गर्दछ ।

ब्रह्मचारी बाबाः
यस कोटीका बाबाहरुको संख्या अन्यको तुलनामा कमै हुन्छ । यी बाबाहरुलाई बाल ब्रह्मचारी पनि भनिन्छ । ब्रह्मचर्यमा रहेका यी बाबाहरु अन्यका तुलनामा स्वतन्त्र मानिन्छन् । तर केही यस्ता जोगीबाबाहरु बाहरि बाहिर ब्रह्मचारी भित्र भित्र सर्वहारी पनि भेटिन्छन् ।

एक नारी ब्रह्मचारी बाबाः
बाबाका प्रकारहरुमध्ये यी अनौठो प्रकारको बाबा हुन् । यिनीहरुको एक मात्र नारी श्रीमती हुन्छिन् । जसलाई माता कहलाउँछन् र आफ्नै वरीपरी घुमाइराख्छन् । यसले उनको घरबार राम्रैगरी सञ्चालन हुन्छ । नेपालमा यस्ता बाबाहरु अन्य बाबाको स‌ंख्याभन्दा धेरै देखिन्छन् । यिनीहरु भक्तजनलाई उनीहरुको हजुरबुबादेखि नै तीनपुस्ते नै ब्रह्मचारी भएको बताउँछन् । आम्दानीको सबै भाग श्रीमतीको पोल्टोमा पर्ने हुँनाले कतिपय यस्ता बाबाहरु श्रीमती पीडित हुन्छन् । यी बाबालाई कसै कसैले “पट-अञ्जली बाबा” पनि भन्दछन् । साधु बाबाले आफ्ना भक्त अञ्जली नाम गरेको केटी पट्याएकाले “पट अञ्जली बाबा” भनिएको हुनुपर्छ ।

जार बाबाः
यस्ता बाबाहरु अर्काकी श्रीमती मात्रै भगाउँछन् । एक दिन यस्तै कोटीका बाबालाई सोधेँः बाबा तपाईँ अर्काकी श्रीमती किन भगाउँनुहुन्छ ? उनले भने “भगाउने नै अर्काकी श्रीमती हो, आफ्नो त जोगाएर राख्ने हो ।” यिनको दिव्यदर्शन सुनेपछि यसै बाबा भइँदैन रैछ भन्ने लाग्छ ।

टोम बाबाः
यी टोम बाबाहरु ॐ को नाममा टोम नजानेका तर पिछलग्गुका अगाडी संसारज्ञाताका रुपमा चिनिन्छन् । बेला बेलामा ८ चोटी, १०८ चोटी र १००८ चोटी ॐ जप्ने तर ॐ भन्दा अर्थोक नजानेका यी बाबाहरुका अघीपछी लावालस्कर पनि राम्रै देखिन्छ । यी बाबाहरुकहाँ झारफूकका लागि बिरामीहरुको भीड देखिन्छ । उनीहरु मन्त्र उच्चारण पनि गर्छन् । मन्त्रको शुरुवात ॐ बाट हुन्छ जुन सबैले प्रष्ट सुन्छन् तर त्यसपछि ‌अन्त्यमा फू भनेको मात्र सुनाउँछन् । बिसेक भए आफूले र बढी भए वा ज्यानै गएमा ढिला ल्याएको भन्दै पटक पटक आरोपबाट भाग्न सफल हुन्छन् ।

बाबा माताहरुको वृतान्त लेखिसकेपछि निश्कर्षमा के भन्न सकिन्छ भनेः
नेपाल तथा भारत क्षेत्रहरुमा बाबा र माताहरुको भीड निकै छ । घरबार गरेका बाबाहरु हजुरबा र माताहरु हजुरआमा भैसकेका हुन पनि सक्छन् । बाबाहरु कसैका काका वा ठुलोबा र माताहरु कसैका काकी, सानीमा वा ठूलीआमा हुन पनि सक्छन् । जो जे भए पनि उनीहरु टोलकपदेखि ‌वर्ल्डकपसम्मको भविष्णवाणी गर्दछन् । उनीहरु साहित्यदेखि राजनीतिसम्ममा पहुँच राख्दछन् । कोही दाह्री पाल्छन् त कोही दैनिक छुरा चलाउँछन् । माताहरुले घरधन्दादेखि साधुधन्दासम्म गर्नुपर्ने भएकाले यिनको पनि सम्मान गरौं । कतिपय बाबाहरु फोहोरीदेखि चोरीसम्म सकृय देखिन्छन् । बाबाहरु दोहोरी साँझ हुँदै ब्याटलसम्म पुगेपछि लाइफ सेटल गर्नतिर लागेको पनि देख्न सकिन्छ ।

(डिस्क्लाईर :लेख विशुद्ध हास्यव्यंग्यका लागि रचिएको हो । यसबाट कुनै बाबा माताका नाममा ठगिरहेका व्यक्तिहरुलाई असर पर्न गएमा यो संयोग मात्र हैन वास्तविक पनि ठानिनेछ ।)

[email protected]

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com