‘यो यु.के हैन, लुके रहेछ बाबु !’…

प्रकाशित मिति: १४ आश्विन २०७५, आईतवार ०१:१५

बृद्ध भत्ता बढाउँछौं, हामीलाई जिताउनुस् भनेर भोट मागेको पार्टी सरकारमा छ । यो इतिहासकै शक्तिशाली सरकार पनि हो । ‘गर्भको बात र मौसमको साथ’ निश्चित हुँदैन भन्छन, त्यसैले पछि के गर्ला भन्न सकिन्न तर दुइ तिहाइको शक्तिशाली सरकारको पहिलो बजेट जेष्ठ नागरिकका निम्ति ‘हिस्स बूढी हरिया दाँत’ नै साबित भयो । पछिको कुरा गर्भमै छ, ब्याँउछ वा तुहिन्छ भन्न सकिन्न ।

यस्तै चर्चा बजारमा चलिरहेको बेला सरकारलाई चुनौती दिएर हैन, संदेशले सम्झाएर तोपगाछी-धरमपुर बचत तथा ऋण सहकारीको दशाैं साधारणसभाको अवसर पारेर असौज १३, २०७५ मा तोपगाछी-धरमपुर मैत्री समाजले १४ जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ ।

कार्यक्रम संचालकले प्रमुख अथिति समाजकल्याण मन्त्री थममाया थापालाई सम्मानित जेष्ठ नागरिकतिर देखाउँदै भन्नु भयाे – ‘मन्त्रीज्यु, वाहाँहरु महिनाको पाँच हजार भत्ताको प्रतिक्षामा हुनुहुन्छ है !’ यसाे भन्दा हलमा छाएको हाँसोले मन्त्रीलाई मैले अझै गर्न केहि बाँकी रहेछ भन्ने भावनाले खिसिट्युरी गरेको कुरा राम्ररी झल्किन्थ्यो ।

असल काम भनेको सरकारले गरोस् वा संस्थाले, काम काम नै हो । परिणामा सन्देश आयो आएन, सामाजिक सन्तुष्टी मिल्यो मिलेन, अनुकरणीय भयो वा भएन भन्ने कुरा प्रमुख हो र महत्वपूर्ण पनि ।

बोली बचन ठुलोले बोलोस् वा सानोले यो बिषय गौण हो । तर कोबाट मननयोग्य बाणी आयो त्यो मुख्य कुरा हो । मन्त्रीज्यु अनुभवी र वाक्कटुतामा पोख्त हुनुहुन्थ्यो । अभिब्याक्ति मिठै भए पनि बीचार पुरानै आयो । कुरा जेष्ठ हुन् वा कान्छा, खासै मन छोएन । तर…

कोही मानिस पद र प्रतिस्ठाले सानै किन नहोस्, आखिर बिचार त सर्वत्र प्रस्फुटन हुने कुरा रहेछ । छोटीमुख बढ़ी बात भन्लान् भन्ने कुराको पर्वाह नगरी सम्मान कार्यक्रमको महत्वबारे प्रस्ट पार्दै आयोजक सस्था मैत्री समाजका अध्यक्ष श्री हर्कराज राईले पो भने त, बृद्ब बाबु-आमा बहाल रहेका सन्ततिलाइ भित्तैमा पुग्ने गरी !

‘नाग पञ्चमीमा एक दिन सर्पलाई पुजेर भोलिपल्ट देखि खेदि खेदि लठ्ठीले बजाए झैं गर्ने हो भने यो सम्मानको अर्थ के ?’ उनले थपे -‘युकेमा रहेका एक बृद्ध, मेरा आफन्तले मलाई भन्नु भयो, यो ठाँउ युवाहरुका निम्तिमात्र युके रहेछ । हामी बृद्धहरुका लागि त आफन्तसँग भेट्न नपाईंने, गाँउघर घुम्न नपाईंने, मन लागेको खान नपाईंने, चुपचाप बन्द कोठा भित्र बसिरहनु पर्ने ! त्यसैले यहाँ कसैले बस्नु नपरोस । यो त युके हैन लुके रहेछ, लुका ! कोठा भित्रै लुकिरहनु पर्ने !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com