भान्जा : ‘ए, मेरा पैसा कती भए ?’, मामा : ‘ए, मेरा पैसा कती गए !’ दसैंका रियल कथाहरु

हामी सात वर्ष मामाघर नजिक बस्यौं । मामाघर नजिक भएका कारणले हामीलाई दसैं आउनै पर्दैनथ्यो । महिनामा एकपटक दसैंजस्तै हुन्थ्यो । औंसी, पूर्णिमा, व्रत, पूजा, पुराण, सांगे के–के परिरहन्थ्यो । हजुरबा–हजुरआमा, मामा–माइजूले टीका लगाइदिइरहनुहुन्थ्यो, दक्षिणा पाइरहन्थ्यौं ।
यद्यपि दसैंमा भने फरक हुन्थ्यो । अरू भान्जाभान्जीले अलि बढी दक्षिणा पाउँथे । हाम्रो हातमा कम पथ्र्यो । सधैं माया गर्ने मामा–माइजूले किन यस्तो गर्‍या होला ? नजिकका भान्जाभान्जीलाई कम दिएर कहिलेकाहीं आउनेलाई किन बढी दिएका होलान् ? यस्ता थुप्रै प्रश्न मनमा आउँथे । अलिअलि चित्त पनि दुख्थ्यो ।

त्यसपछि हामी झापा बसाइँ सर्‍यौं । ९–१० वर्षको उमेर थियो । झापामा खामको चलन आइसकेको थियो । दक्षिणा दिँदा खाममा दिइन्थ्यो । टीका लगाइसकेर अरूहरू दही–चिउरा खान, पिङ मच्चाउन वा डाइस खेल्नतिर लाग्थे । मलाईचाहिं ट्वाइलेट चाहिन्थ्यो । दिसा–पिसाबको कारणले होइन, खाम खोल्ने हतारले ।

मेरोजस्तै स्वभाव हुने केटाकेटी सँगै ट्वाइलेट पस्थ्यौं । कसलाई कति दक्षिणा आएको छ, हेथ्र्यौं । धेरै पाउने खिस्स हाँस्थ्यो । थोरै पाउने हिस्स हुन्थ्यो । एक दिन यस्तो पनि भएको छ, माल्दाइको भन्दा मेरो खाममा बढी दक्षिणा थियो । उमेरमा खासै फरक नभएका हाम्रो दक्षिणामा चाहिं आकाश–जमिनको फरक थियो । भएछ के भने आमालाई दिन तयार पारिएको खाम झुक्किएर मलाई परेछ । आमालाई मेरो पाँच रुपैयाँ परेछ । त्यस्तै एक अर्को दसैंमा टीका थापेर हतारमा हिँड्नुपयो । तत्काल खाम चेक गर्न पाइएन । घरमा आएर हेर्दा खाम खाली थियो । त्यस दिन मलाई रातभर निन्द्रा लागेन । त्यो खाली खाम दिने घर कसको थियो, अहिले किन भनौं ?

मलाई निधारभरि टीका लगाउन मन पथ्र्यो । चामलको टीका जसले धेरै लगाइदिन्छ ऊ धनी हो भन्ने लाग्थ्यो । म बूढो मावलीमा जान हतारिन्थें । हजुरआमाले मेरा लागि एक पाउ चामलको टीका छुट्याएर राख्नुहुन्थ्यो । निधारभरि टीका र जमरा लगाएर गाउँ डुल्नुको मज्जै बेग्लै थियो । अझ त्यो टीका भोलिपल्ट बिहान उठ्दा पनि निधारमै रहेछ भने त झन् सगरमाथा विजेता भएझैं लाग्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com