दशैँ – सम्झेर ल्याउँदा र बिर्सेर पठाउँदा

 

फेरी दशैं आयो । यो पोहोरपनि आएको थियो, अर्को सालपनि आउंछ । प्रत्येक सालका दशैंले फरक अनुभव छोडेर जान्छन् । कसैका सुखद् अनुभव होलान् । कसैलका दुखद अनुभव होलान् ।

आउनोस्, आज मेरा दशैं अनुभवहरु पढौं ।

हामी ७ बर्षसम्म मामाघर नजिक बस्यौं । मामाघर नजिक भएका कारणले हामीलाई दशैं आउनै पर्दैनथ्यो । महिनामा एक पटक दशैंजस्तै हुन्थ्यो । औंसी, पुर्णिमा, ब्रत, पुजा, पुराण, सांगे के के परिरहन्थ्यो । हजुरबा, हजुर आमा, मामा, माईजुले टिका लगाई दिई रहनु हुन्थ्यो । दक्षिणा पाईरहन्थ्यौं ।

तर दशैंमा भने फरक हुन्थ्यो । अरु भान्जा भान्जीले अलि धेरै दक्षिणा पाउथे । हाम्रो हातमा कम पर्दथ्यो । सधैं माया गर्ने मामा माईजुले किन यस्तो गऱ्या होला ? नजिकका भान्जाभान्जीलाई कम दिएर कैलेकाहीं आउनेलाई किन धेरै दिएका होलान् ? यस्ता थुप्रै प्रश्न आउंथे । अलिअलि चित्त पनि दुख्दथ्यो ।

नजिकका त सधैं नजिक छन् । अरु बेलापनि दिई रहिन्छ । कैलेकाहीं आउनेलाई सम्मान गर्नुपर्छ भन्ने अभिप्रायले त्यसो गरिएको रहेछ । यो कुरा गलतपनि हैन । तर, केटाकेटी बुद्धी, मामाले नजिकका तिर्थ हेला गरेजस्तो लाग्दथ्यो । यही कारण मलाई लाग्थ्यो, यो दशैं नआईदिए हुन्थ्यो । अहिले संझदा आफैंदेखि हांस उठ्छ ।

त्यसपछि हामी झापा बसाईं सऱ्यौं । ९, १० बर्षको उमेर थियो । झापामा खामको चलन आईसकेको थियो । दक्षिणा दिंदा खाममा दिने गरिन्थ्यो । यो अनुभव त्यही खामसंग संबन्धित छ ।

टिका लगाई सकेर अरुहरु दहि च्यूरा खान, पिंग मच्चाउन वा ढाईस खेल्नतिर लाग्दथे । मलाईचाहीं ट्वाईलेट चाहिन्थ्यो । दिशा पिसाबको कारणले हैन, खाम खोल्ने हतारले ।

मेरोजस्तै स्वभाव हुने केटाकेटी संगै ट्वाईलेट पस्दथ्यौं । कसलाई कति दक्षिणा आएको छ हेर्दैथ्यौं । धेरै पाउने खिस्स हास्थ्यो । थोरै पाउने हिस्स हुन्थ्यो ।

एकदिन यस्तो पनि भएको छ, माल्दाईको भन्दा मेरो खाममा धेरै दक्षिणा थियो । उमेरमा खासै फरक नभएका हामीलाई दक्षिणाचाहीं आकास जमिनको फरकको थियो । भएछ के भने आमालाई दिन तयार पारेको खाम झुक्किएर मलाई परेछ । आमालाई मेरो पांच रुपैंया परेछ । एक पटक खाथ थापेर हतारमा हिड्नु पऱ्यो । चेक गर्न पाईएन । घरमा आएर हेर्दा खाम खाली थियो । त्यसदिन राती निन्द्रा नै लागेन । यो घर कसको थियो, अहिले किन भनौं ?

मलाई निधारभरी टिका लगाउन मन पर्दथ्यो । दशैंका चामलको टिका जसले धेरै लगाउछ उ धनि हो भन्ने लाग्दथ्यो । बुढो मावलीमा जान हतारिन्थें । हजुर आमाले मेरालाई एक पाउ चामलको टिका छुट्याएर राख्नुहुन्थ्यो । बाल्यकालमा दक्षिणापनि मलाई निधारभरी टिका लगाउन मन पर्दथ्यो । निधारभरी टिका र जमरा लगाएर गाउं डुल्नुको मज्जे बेग्लै हुन्थ्यो । अझ त्यो टिका भोलीपल्ट बिहान उठ्दापनि निधारमै रहेछ भने त्यो त झन् सगरमाथाको शिखर बिजेता भएझैं लाग्दथ्यो ।

यी त भए बाल्यकालका कुरा । सबै कुरा समयक्रम सिकिने हुन् । उमेरसंगै दशैं धारणा परिवर्तित हुन्छ । अहिले मलाई लाग्छ, मैले त्यति धेरै चामल निधारमा किन खर्चिएको होला ? दक्षिणाका नाममा पैसाको अपेक्षा गर्नु त लोभ रहेछ । काटमारलाई किन धर्मसंग जोडेका होलान् ? एउटाको दशैं मनाउन अर्कोलाई किन बसाईं हिडाउनु परेको होला ? यस्ता प्रश्नले दिमाग रिंग्याउंछ तर उत्तर कहिल्यै मिलेको छैन । तपाईंले दिन सक्नुहुन्छ कि ? म तपाईंलाई दशैंको शुभ कामना दिन्छु, तपाईं कौतुहलता मेटिदिन सक्नुुन्छ ? दशैं सभ्य, शिष्ट र बिशिष्ठ होस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com