फोक्स्टनको शालिक : बेलायती भुमिमा गोर्खालीको शान

प्रकाशित मिति: १४ मंसिर २०७५, शुक्रबार १५:१६

 

‘म्याडम टुसड्स’ लन्डनको त्यो लोकप्रिय टुरिष्ट डेस्टिनेसन हो जहाँ संसारका चर्चित व्यक्तित्वहरुको मुर्ती राखिएको छ । मन्डेलादेखी मोदीसम्म, माईकल ज्याक्सनहुँदै सलमान खानसम्मका रेप्लिका (मुर्ति) हेर्न दैनिक हजारौं पर्यटक ओईरिन्छन् । हेर्दा सक्कली झैं लाग्ने यी सयौं  रेप्लिकाहरुको बीचमा हुनुपर्ने  एउटा चर्चित मुर्ती छैन   । त्यो हो, गोर्खाली सेना ! संसारभरीका चर्चित र लोकप्रिय व्यक्तित्वहरु भएको ठाउँमा एउटा ‘द ब्रेभ गोर्खा’को पनि त राखे हुन्थ्यो । मनमा प्रश्नको खहरे उर्लियो ।

बेलायती साम्राज्य फैलाउन र त्यसको सुरक्षा गर्न गोर्खा लडाकुहरुको ठूलो योगदान छ ।  लामो ईतिहास छ । लोकप्रिय छन् । चर्चित छन् । बिश्व प्रख्यात छन्  तर,  ‘म्याडम साउड’मा वीर गोर्खाले किन एउटै स्थान पाएन ! म्याडम टुसड्सका अधिकारीहरुको प्राथमिकतामा त परेन परेन, बेलायती गोर्खाहरुले किन पहल नगरेका होलान् ?

मैले यो प्रश्न मित्र धन गुरुङ ‘किरण’लाई साेधें । धनजीले भने- ‘फोक्स्टन आउनोस्, चित्त बुझ्दो जवाफ पाउनु हुन्छ ।’ धन गुरुङ तिनै युवा हुन् जो बेलायती चुनाव लडेर  पहिलो नेपाली काउन्सिलर जितेका थिए ।

धनजीको निमन्त्रणामा समाजसेवी कमल पौडेल सहित हामी फोक्स्टन लाग्यौं । बागलुङ मुल घर भएका कमल पौडेल ‘आईएममी लण्डन’ नामकाे रेमिट्यान्स ब्यवसायपनि चलाउछन् । साढे दुई घन्टाको यात्रापछी फोक्स्टन पुग्दा दिउँसोको ३ बजेको थियो । लन्चपछी धनजीकै भाषामा ‘गोर्खालीको तिर्थस्थल’ घुम्न निस्कियाैं ।

फर्स्ट गोर्खा रेजिमेन्ट, बृटिस फोर्स रेडियो स्टेसन, गोर्खाहरुको बाक्लो वस्ती रहेको फोक्स्टन घुम्दै थियौं । एउटा बगैंचामा पुगियो । त्यो ‘गार्डेन अफ रिमेम्बरेन्स’ रहेछ जहाँ एक गोर्खा सेनाको विशाल शालिक छ ।

धनजीले भने- ‘मनोजजी, गोर्खाली सेनाको शालिक म्याडम टुसाउडमा हैन, हाम्रो हृदयमा खडा गरेका छौँ ।’  शालिकमा फुल चढाउदै हामीले पनि सलाम टक्रायाैं ।

कुनै युद्ध मैदानमा खडा भएको देखिने त्यो शालिकले नजर भने सुदुर पुर्वतिर लगाएको देखिन्छ । धनजीले सोधे- ‘थाहा छ, किन पुर्वतिर हेरेको ?’ कमलजी भने- ‘किन होला ?’ धनको जवाफ थियो- ‘पुर्व दिशामा उसको जन्मभुमी छ, नेपाल !’

‘गार्डेन अफ रिमेम्बरेन्स’ भन्ने ठाउँमा स्थापित गोर्खा स्ट्याचु लगभग १२ फिटको छ । नेपाली एक करोडको लागतमा बनेको यो तामाको मुर्ति अफगान लडाइँमा वीरगती प्राप्त गर्ने रोयल गोर्खा रेजिमेन्टका १५ जनामा समर्पित छ । बृटिस गोर्खाको २०३ बर्षे इतिहासलाई पनि यसले झल्झल्ती याद गराउछ ।

यो धनजीका साना दु:खले आर्ज्याको  शालिक हैन । यसका लागि उनी र धन गुरुङ सहित फोक्स्टनका नेपालीहरुले धेरै पापड बेलेका छन् ।

जमिन पाउनका लागि लडेका छन् । शालिक राख्ने अनुमतीका लागि भिंडेका छन् । त्यसको संरक्षणका लागि संघर्ष गरेका छन् ।

सयौंको सहयोग र संघर्ष पश्चात बेलायती भुमीमा खडा भएको गोर्खालीको नासो संरक्षणको जिम्मा फोक्स्टन प्रशासनले लिएको छ । यानेकी गोर्खालीको आत्मसम्मानको चिनारीलाई बेलायती सरकार, जनता र समाजद्वारा स्विकार गरिएको छ ।

आशा छ, यो शालिकले बेलायती गोर्खाका आगामी पुस्तालाई आफ्नो ईतिहास, भाषा, संस्कृती र पहिचानका लागि युगाैं युगसम्म घच्घच्याई रहने छ । जय गोर्खाली, जय गोर्खा !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com