गाँजा खाएर हँसाउन खोज्दा यस्तोसम्म भयो ! -मनोज गजुरेल

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार ०२:४२

आज शिवरात्री ! शिवरात्री भन्नासाथ मलाई एउटा घटनाले सधैँ झस्काई रहन्छ, त्यो हो – गाँजाको एक सर्को ! यो बिषय मैले पैलेपानी लेखेको हुँ, आजपनि दोहोर्याउदैछु । पढ्नोस्, शिवरात्रीमा गाँजा खाएभन्दा मज्जा आउँछ ।

धन्य, रङ्गपत्रकारहरूको ढङ्ग पुगेन, नत्र मनोज गजुरेल भन्ने नाम उहिल्यै ‘बदनाम’ भएर ‘गुमनाम’ भैसक्थ्यो। दुर्घटना केही वर्षअघिको हो। कान्तिपुर एफ.एम.ले पुल्चोकमा ‘होली हंगामा’ आयोजना गरेको थियो, जहाँ सञ्चार र कला क्षेत्रका थुप्रै युवायुवती आधुनिक पारामा होली मनाइरहेका थिए।

पत्रकार मित्र कृष्ण भट्टराईले मलाई ‘बुरा नमानो, होली है’ भन्दै चुरोटको खिल्लीमा भरिएको ‘शिवबुटी’ थमाए। नाइटादेखिको बल लगाएर एकै सर्कोमा आधा खिल्ली खलाँस गरिदिएँ। तर भैदियो, ठीक उल्टो।

अब बिस्तारै त्यो एक सर्कोले आफ्नो काम गर्न थाल्यो। नशाहरू थला बस्न थाले। शरीर सिन्कोजस्तो भएको भान हुन थाल्यो। मन अस्थिर भएर कैले बूढो भएको त कैले बालक नै रहेको भ्रममा भौंतारिन थाल्यो।

 

वरिपरिको दृश्य निकै अनौठो लाग्न थाल्यो। त्यहाँ नाँचिरहेकी नायिका रेखा थापा भ्यागुता उफ्रिएजस्तो लाग्छ ! गीत गाइरहेकी कोमल ओली बूढी बघिनी गर्जिएजस्तो लाग्छ ! स्टेसन म्यानेजर प्रभात रिमालले उद्घोषण गर्दा मान्छे नभएर विशाल पहाडले शंखध्वनि गरेको प्रतीत हुन्छ ! हंगामाका लागि तयार पारिएको स्वीमिङ पुलमा नृत्यरत मानिसहरू देख्दा यस्तो लाग्छ, ती माछाहरू हुन् जो पानी नपाएर छटपटाइरहेका छन् !

मनमा नौला-नौला भावहरू दौडन थाले। म मान्छेको समाजभन्दा निकै टाढा अर्कै प्राणीहरूको पञ्जामा परेको छु। म रुन थालें। दुई जना कमिलाजत्रा प्राणी आएर मलाई उचाल्दै एउटा ‘इलेक्ट्रोनिक्स’ कराईमा हाले, बिर्को लगाइदिए र ‘इन्जिन स्टार्ट’ गरेर मलाई ‘फ्राई गर्न’ आदेश दिए।

अहिले साथीहरू भन्छन्- ती प्राणीहरू पत्रकार बिदुर खतिवडा र सीताराम कट्टेल (धुर्मुस) थिए। उनीहरूले मलाई कराइमा होइन, ट्याक्सीमा राखेका रहेछन्। बिर्को लगाएको होइन, ढोका बन्द गरेका रहेछन्। ‘फ्राई गर्न’ होइन, चिसोले भिजेको मेरो शरीर तताउन ‘हिटर अन’ गरेका रहेछन्। तर त्यो एक सर्कोको कमालले मेरो दिमाग पूरै उथलपुथल भएको रहेछ !

अकस्मात् दिमागमा यस्तो भाव आयो कि म ६ महिनाको हुँदा स्वर्गवास भएका मेरा पिताजीको अहिले मृत्यु हुँदैछ ! म उहाँको अन्तिम स्वास भेट्न जाँदैछु ! यमदूत (ट्याक्सी ड्राइभर) लाई भने- ‘मलाई एयरपोर्ट लगिदेऊ।’ उसले सोध्यो- ‘पैसा छ ?’ नशा जतिसुकै गहिरो भए पनि चेतनाको एउटा सानो अंशचाहिँ सधैं जीवित हुँदो रहेछ। हिजो बुटवलबाट प्राप्त गरेको २५ हजार रुपैयाँ खल्तीमा रहेछ। १ हजारको नोट दिंदै मैले भनें- ‘पैसाको के चिन्ता लिन्छौ, लेऊ १ लाख रुपैयाँ।’

उसले फिस्स हाँस्दै पैसा खल्तीमा हाल्यो र एयरपोर्टतिर हान्नियो। ६-७ किलोमिटरको त्यो यात्रा यति लामो लाग्यो कि म त्यो १५ मिनेटको समयमा सोह्र पटक सुतेर सत्र पटक ब्युँझिएँ होला ! सीधै गएर काउन्टरमा भनें- ‘मलाई स्वर्गलोकको टिकट दिनोस्।’ ठट्टा गरेजस्तो लाग्यो क्यारे, ‘आफ्नो गाउँघर सबैलाई स्वर्गै लाग्छ’ भन्दै झापा, भद्रपुरको एउटा टिकट लिएर जहाजतिर जान भने। जहाज चढ्ने बेलामा मलाई यति गाह्रो भयो कि त्यो भर्‍याङ, भर्‍यांङ नभएर सगरमाथा चढेजस्तो लाग्यो। बल्ल-बल्ल चढेर सिटमा बस्छु- यस्तो लाग्छ, त्यो विशाल सिटमा म सानो छ महिनाको बच्चा एक्लै बसिरहेको छु। चकलेट लिएर आएकी ‘डियर होस्टेज’लाई रुँदै हप्काएछु- ‘सुकेका गोबरमा डल्ला प्लास्टिकले बेेरेर ख्वाउने ?’ जोकजस्तो लागेर होला, मुसुक्क हाँसिन्। तर जब उनले ल्याएको चिसो पेयपदार्थलाई ‘विष घोलेको पानी ख्वाएर मार्ने षड्यन्त्र गरेको’ आरोप लगाएँ, तब अरू पेसेन्जरसहितले मलाई ‘दिमागी हालत ठीक नभएको’ मानेर प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेछन्।

 

भद्रपुर एयरपोर्टमा जहाज यसरी थचारियो कि ठूलो ग्रह आएर पृथ्वीमा थचारिएको छ। धर्ती र ग्रहको च्यापमा परेर जहाज कच्याक-कुचुक भएझैं लाग्यो। जहाज कर्मचारीले मलाई सोझै प्रहरीको जिम्मा लगाइदिए।

काँधमा टलक्क टल्कने सिरुपाते खुकुरी र डन्डा झुन्ड्याएको अजंगको एउटा हर्कुलसले भन्यो- ‘तपाईंजस्तो मान्छेले गाँजा खाएर हिंड्न मिल्छ ?’ मलाई अब पूर्ण रूपमा गाँजा लागिसकेको थियो। म ऊमाथि जाइलागें-‘गाँजा मैले हैन, तिमीहरूले खाएका छौ। मेरा पिताजीले के बिगार्नुभयो र यति चाँडै लिन आयौ पापी यमदूतहरू ?’ एउटाले मलाई जमाएर झापड हान्यो। मेरो गाँजामय दिमागले ठान्यो- ‘ममाथि ‘ यमदण्ड’ बर्सियो।’

यो घटना परबाट प्रचण्डपुत्र प्रकाशले देखिरहेका रहेछन्, जो कोचिला ब्युरोको बैठक सकेर पितासहित र्फकंदै थिए। ‘ओ, मनोज दाइ, को भयो ?’ हुन त त्यस प्रकाशको आवाज थियो, तर मेरो दिमागमा के लाग्यो भने- उनीहरू मेरो पैसा लुट्न आइरहेका छन् ! मैले भनें- ‘जति लैजानु छ, लैजाऊ। तर मेरो पिताजीलाई पैसाचाहिं देऊ है।’ 

प्रकाशले पत्ता लगाइहाले- ‘ए, बूढालाई कसैले गाँजा ख्वाएछ। ल, छोडेपछि भेटौंला है।’ यति भनेर उनि अलप भए। पेसेन्जर छोड्न धरमपुरबाट सिग्देल माइलो भाइ आएको रहेछ। उसले भन्यो कि उहाँलाई म घर पुर्‍याइदिन्छु। यमदूतले धकेल्दै उसको टेक्सीमा चढाइदिए। म भाइसँगै लागें पश्चिम झापाको धरमपुरतिर।

४० किलोमिटरको त्यो यात्रामा मेरो दिमागमा के-के कुरा आएनन् होला ? अगाडिबाट आएको ट्रकले बाटो क्रस गर्दा छुद्र ग्रह पृथ्वीसँग झन्डै ठोक्किन आएझैं लाग्छ ! हर्न बजाउँदा मेघ गर्जिएजस्तो भान हुन्छ ! ब्रेक लगाउँदा ‘हर्ट अट्याक’ होलाजस्तो लाग्थ्यो ! जर्किनमा परेर गाडी हल्लिंदा भुइँचालो आएझैं लागेर थरथर काम छुट्छ ! के के हो के के !

टेक्सी सोझै एउटा डरलाग्दो भूत बंगाला अगाडि रोकिएझैं लाग्यो, वास्तवमा त्यो मेरो झापाको घर थियो। त्यहाँबाट एउटी डरलाग्दी महिला जगल्टा फिंजाउंदै मतिर आइन्, अहिले बुझ्दा ती मेरी प्यारी आमा हुनुहुँदो रहेछ ! तिनले मलाई एक झापड लगाइछिन्-‘तँलाई मैले ठूला मान्छे बनाएको यही दिन देख्न रहेछ हैन गँजडी !’

त्यो झापडमा यस्तो शक्ति थियो, जसले मेरो सारा नशा उत्रिएछ। ती बूढी आमैको खुट्टा समाउँदै भने- ‘अब उप्रान्त, म गाँजा कहिल्यै तान्दिनँ माता।’ यस बेलासम्म गाउँभरिका मान्छे ‘गँजडीको गफ’ सुन्न भेला भैसकेका थिए। आमाले पुनः अर्को झापड हान्दै भन्नुभो- ‘यी सबैका अगाडी कसम् खा।’ यो दोश्रो झापडले भने अचम्म भयो ! भयो के भने म त झसंग ब्युँझिएछु ! कहाँको होली हंगामा, कहाँको प्लेन, कहाँको प्रकाश, कहाँको आमा ! म त सपना पो देखिरहेको रहेछु ! त्यही सपनाबाट ब्युँझिएपछि त यो रचना फुरेको नि !

‘गाँजा तान्ने ए मेरा साथी,
यसको लत नपरोस् कोहीमाथि।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com