बच्चाले ठुलो मान्छेका अगाडी कसरि हाँस्ने !

-मनोज गजुरेल-
‘बच्चा भएर पनि हाँस्ने हो ?’ अग्रजहरूको यो भनाइ सुन्दा यस्तो लाग्छ— हाँस्न पाउनु ‘बूढा’ हरूको मात्र अधिकार हो। बच्चाले रुन मात्रै पाउँछन् ! तर, सत्य के हो भने हाँस्ने त बच्चाहरूले नै हो। बरु ‘बूढा’हरूले चाहिं ख्याल गर्नुपर्ने हुन्छ, किनभने नक्कली दाँत उछिट्टनि सक्छ !

हाँसोविरोधीहरू भन्छन्- ‘केटाकेटीले ठूला मान्छेका अगाडि दाँत देखाउनु हुँदैन।’ बच्चाका मिलेका दाँत देखाउन नमिल्ने हो भने बूढाबूढीका नाङ्गिएका गिजा देखाउन मिल्छ त ? मेरो विचारमा दाँत देखाउन नमिल्ने तर्क नैतिक शिक्षाभन्दा पनि ‘थोते’ हुनुको पीडाको प्रतिक्रिया हो।

उनीहरूका नजरमा ‘छोरी मान्छे हाँसेको त पटक्कै सुहाउँदैन।’ तर ठुस्स परेकीभन्दा मुसुक्क हाँसेर बोलेकी छोरीको आकर्षण निकै बढी हुन्छ। यदि हाँसोले मान्छेको आयु लम्बिन्छ भन्ने थाहा पाएका भए सायद बाबुआमाहरूले हाँसोको हत्या गर्ने थिएनन्। किनभने जुन छोरी माइतमै हाँस्न पाउँदिनन्, तिनी कसरी हाँसी-खुसी श्रीमान्सँग जीवन बिताउन सक्छिन् ?

कक्षामा विद्यार्थीको अनुहार यस्तो देखिन्छ कि ऊ पढ्न होइन, बाबुको क्रिया गर्न बसिरहेको छ। कोही हँसिलो देखिइहाल्यो भने पनि सरको नजर परिहाल्छ- ‘ओए, तँ अलि सिरियस भएर ध्यान दे।’ विद्यालयमा पढ्नका लागि त ‘सिरियस’ हुनुपर्छ भने बिरामी भएर अस्पतालमा बस्नका लागि कस्तो हुनुपर्ला ? रमाइलोसँग गम्भीर कुरा पनि पढाउन सकिन्छ भन्ने ज्ञान नभएर हो वा पढ्नु भनेको ‘गम्भीरता’ का लागि हो, आनन्दका लागि होइन भन्ठानेर हो— शिक्षाक्षेत्रमा पनि हाँसोमाथि प्रतिबन्ध छ।

वर्षौंदेखि हामी सुन्दै आएका छौं- ‘पढाइ खेल होइन, यसका लागि गम्भीर बन्नुपर्छ।’ अनि फेरि शिक्षा दिन्छौं- ‘ठूलो भएर नेपाल आमालाई हँसाउनुपर्छ।’ अब विद्यार्थी आफैं गम्भीर छ भने उसले नेपाल आमालाई कसरी हँसाउला ? प्रश्न बडो हाँसउठ्दो छ।

केही मान्छेको बानी हुन्छ, गम्भीर विषयलाई पनि ठट्टैठट्टामा समाधान गर्ने तर हाँसो विरोधीहरू बोलिहाल्छन्- ‘सिरियस केश’मा पनि कस्तो ‘जोक’ गरेको ?’ विषय नै गम्भीर छ, त्यसमाथि व्यक्ति पनि अझ गम्भीर हुने हो भने त्यहाँको अवस्था त घोप्टेभीरजस्तो हुन पुग्छ। गम्भीरतालाई सहजतातिर लैजान सक्ने हास्यकलायुक्त व्यक्ति नै समाजमा पुजनीय हुनुपर्ने होइन र ?

उन्मुक्त भएर नाच्न पनि गाह्रो छ, समाज आक्रोशित भैहाल्छ- ‘कस्ती उत्ताउली केटी, गीत बज्यो कि नाच्न थालिहाल्छे।’ गीत बज्दा लम्पसार पर्नुपर्ने हो कि ठाडा खुट्टा लगाउनुपर्ने हो ? तर रात पर्दा चाँडै निदाउने, बिहान हुँदा सबैरै ब्युँझने र गीत बज्दा तुरुन्तै नाचिहाल्ने केटाकेटी ठूला भएपछि सबैभन्दा स्वस्थ, तन्दुरुस्त रहन्छन्। नपत्याए डाक्टरसँग सोध्नोस्।

भनिन्छ- ‘सुरा तान्दा मातेन, सुन्दरी देख्दा तातेन’ भने डाक्टरलाई देखाउनुपर्छ। तर पनि के भनिन्छ भने ‘कस्तो राम्रो बानी, कहिल्यै नजिस्किने।’ हाँस्ने, हँसाउने, रिसाउने, खुसाउने, मस्किने, जिस्किनेजस्ता मानवीय स्वभावबाट कोही टाढा छ भने बुझ्नोस्- त्यहाँ केही समस्या पक्कै छ, ‘ह्युमरलोजिस्ट’लाई देखाउनोस्।

केही मानिस हँसाउनुलाई ठूलो अपराध मान्छन्- ‘यहाँ आफूलाई कस्तो चिन्ता परेको छ, ऊचाहिं हँसाउन खोज्छ।’ चिन्तामाथि चिन्ता थप्न खोजेको भए पो रिसाउने कुरो हुन्छ। मर्न लागेकालाई बचाउन खोज्ने तथा रुन लागेकालाई हँसाउन खोज्नेलाई त साक्षात् हास्यदेव पो मान्नुपर्छ।

हाँसो प्रतिबन्धको सिकार बालक मात्र होइन, युवाहरू पनि भएका छन्। केही मानिसमा यस्तो बुझाइ छ कि, हाँस्यो कि नास्यो- ‘हाँसी-हाँसी बोलिरहेको छ, यस्ताका कुरा कसरी पत्याउनु ?’ त्यसको अर्थ रिसाउँदै भनेको कुराको विश्वास हुने भयो कि त रुँदै कराउँदै बोलेका विचारमात्रै पत्यारिला हुने भए, तर हाँसेर बोलेका कुरामा जति दम हुन्छ, ठुस्स परेर बोलेका विचारमा दम त्योभन्दा एकदमै कम हुन्छ।

यहाँ दिल खोलेर हाँस्नुलाई असभ्यता मानिन्छ। ‘टोलै उचाल्ने गरी हाँस्दा के भन्लान् अरूले’ भन्नेहरूलाई थाहा हुनुपर्छ- हाँसो असभ्यता होइन, दीर्घ जीवनको परिचायक हो। दिनमा दस मिनेट दिल खोलेर हाँस्नाले बिमारी नाश हुन्छ।

मेरी आमा भन्नुहुन्थ्यो- ‘यो कान्छो, केहीमा सिरियस छैन, पछि दुःख पाउँछ यसले।’ तर संसारमा ‘सफल’ भएका मानिसहरूको बाल्यकाल पढ्नोस्- तिनीहरू अधिकांश उटपट्याङ्, हाउडे र औतारी थिए। बाल्यकालमा ‘सिरियस’ देखिने नानीहरू पढाइमा त पास हुन्छन्, तर जीवनमा फेल भएका थुप्रै उदाहरण छन्।

‘जुनियर कर्मचारी’ले हाकिमका अगाडि लल्याक-लुलुक हुनुपर्ने, ‘सिनियर अफिसर’ले ‘स्टाफ’का सामु गजक्क पर्नुपर्ने। यस्तो संस्कारमा कसरी हुन्छ प्रसासक-जनसेवक सहकार्य ? कसरी हुन्छ मालिक-मजदुर सुमधुर सम्बन्ध ? एकले अर्काको दायित्व र दायरालाई सम्मान गर्दै मन्द मुस्कानसाथ सम्बन्ध विस्तार गर्ने मन्त्र हो- हास्यकला।

‘ओए, लाइसेन्स निकाल्।’ यसरी झन्किने प्रहरीसँग मेरो कुनै गुनासो छैन। उनी माथिदेखि नै पेलिंदै आएकाले कार्यक्षेत्रमा त्यसको प्रभाव देखिनु त स्वाभाविक हो। ती राष्ट्रसेवक प्रहरी-सेनामा पनि ‘सेन्स अफ ह्यूमर’ हास्यरस बाँड्न सके ‘फोर्स-पब्लिक रिलेसन’ थप सुमधुर बन्न सक्छ।

देशलाई खुसी पार्छु भन्ने अधिकांश नेताको अनुहारमा रिस, आक्रोश र घृणाको राप देखिन्छ। हास्यकला प्रयोग गर्ने केही नेतामाथि आरोप लगाइन्छ- ‘चुटकिला भनेर नेता भइँदैन।’ यस्तो लाग्छ, नेताको काम सरकारलाई सताउने, विरोधीलाई बिगार्ने र जनतालाई रुवाउने मात्र हो।

अबको सिद्धान्त ‘हाँसोबाद’ हो, हास्यप्रेमीमात्रै सफल हुन्छ। सिस्नुपानी नेपालले जीवनलाई हाँस्दै हँसाउदै कार्यक्षेत्रमा सफल बन्ने अभियान थाल्दैछ। हाम्रो ‘हास्यालय’मा तपाईंलाई पनि स्वागत छ।

स्रोत:साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

हार्दिक पटेलको नेपाल काण्ड, हिन्दी न्युजले ठोक्यो- ‘चौकिदार नही ईमानदार बोलो !’

“चौकिदार ढुँडने नेपाल पहुँचे पाटिदार नेता हार्दिक पटेल हार मानकर हिन्दुस्तान लौट अाए है ।

संविधान दिवस कि संविधान डिवाेर्स !

संविधान दिवसको शुभकामना । यो संविधानलाई उज्यालो मान्नेलाई शुभकामना । आफ्नो मात बपौती ठान्नेलाई शुभकामना

बाघ हैनौ झम्टिने, चितुवा हैनौ चिथर्ने,फकाउने, फुल्याउने, डोलीमा चढाई लैजाने !

असोज २ गते सरकारी अस्पतालको ओपीडी सेवा निःशुल्क शुल्क ल्याब टेस्ट,औषधिहरुबाट दोब्र्याईने । ‘अराजक तत्वलाई

तपाईंको मन हँसाउने तिन चुट्किला

प्रेमीका : ‘तिमी के काम गर्दैछौ ?’ प्रेमी : म गोर्खापत्र सँस्थानमा काम गर्थें, ऐले

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com