यस्तो दशैं क-कस्ले मनाउँनु भएको छ ?

प्रकाशित मिति: २१ आश्विन २०७६, मंगलवार ०९:४१

केशव गजुरेल

आहा ! त्यो दशैं पो दशैं, यो दशैं के दशैं !
कहिले आउला भनेर पर्खिएको दशैं,
कमाउन गएको छोरो घर फर्किएको दशैं ।
आमाले माटो मुछेर भित्तो टालेको दशैं,
मिलेर आँगनको फोहोर फालेको दशैं ।

धान भिजाएर हाँडीमा भुटेको दशैं,
ढिकी बजाएर चिउरा कुटेको पो दशैं ।
कमेरो र रातो माटोले भित्तो पोतेको दशैं,
मजिटो कुटेर भित्तामा फेटा गुथेको दशैं ।

 

पंहेला जमरा घरमा झुलेको दशैं,
रोटेपिङ्ग र लिङ्गेपिङ्गमा भुलेको दशैं ।
भट्याउदै बाले टिका लाइदिएको दशैं,
श्रद्धाले शिर झुकाई आशिष लिएको दशैं ।

रातो टिकाले निधार भरिएको दशैं,
आशिष दक्षिणा ग्रहण गरिएको दशैं ।
दही, चिउरा र केरा मुछेर खाएको दशैं
उज्याला नयाँ नाना लाएको दशैं ।
आहा ! त्यो दशैं पो दशैं, यो दशैं के दशैं !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com