जनगायक जीवन शर्माको व्यथा र ‘छ माया छपक्कै’को कथा !

दिपक–दीपाको ‘छ माया छपक्कै’ हेरेपछि लपक्कै हुनु पर्ने, म त कन्फ्युज पो भएँ ! फिलिम चलिसक्यो । पैसा फलिसक्यो । माग्नेले हँसाई सक्यो । दिनेले रुवाईसक्यो । दर्शकले दिईसके । निर्माताले लिईसके । अब तारिफ र आलोचनाको के अर्थ छ त ?

छ, अवस्य छ । शत्प्रतिशत सफल केही पनि हुन्न । खोट लाउनै नमिल्ने कोही पनि हुन्न । भन्न पर्ने केही कुरा छन्, पुरा गर्नु पर्दथ्यो, ती अपुरा छन् । तर म त्यतातिर गईंन, सोझै कथाकार/निर्देशक दीपेन्द्र लामातिर लागें ।

कथा छ– सधैं खडेरी पर्ने घडेरी गाउँमा पानी छैन । जहिल्यै काकाकुल हुनुपर्ने गाउँमा सधैं प्रगतिशिल पार्टीले जित्छ तर पानी कहिल्यै आउंदैन ।

नानी र पानीको चक्करमा घडेरी गाउंका केही प्रगतिशिल युवाहरु प्रजातान्त्रिक पार्टीमा प्रबेश गर्छन् । त्यस पार्टीले उनिहरुलाई प्रयोगमात्रै गर्छ । फेरी पार्टी छोडेर उनिहरुले ‘नो भोट’ अभियान छेड्छन् । चुनावमा कसैले भोट हाल्दैन । आन्दोलनको यो शान्तीपूर्ण तरिका सफल हुन्छ । पार्टीहरुले सामुहिक प्रतिबद्धता जनाउंछन् । अनि घडेरी गाउंमा पानी आउँछ । मर–मसला सहित सिनेमा सकिन्छ । हेर्न मज्जा आउँछ ।

‘छ माया छपक्कै’मा ‘कमरेड’, ‘प्रगतिशिल’, ‘क्रान्ती’जस्ता शब्दहरु प्रयोग छन् । घडेरी गाउँका सिद्धान्तनिष्ठ कमरेड कुलप्रसाद र केन्द्रका आदर्शच्यूत नेतृत्वको वरिपरि कथा घुमेको छ ।

‘केहीले कम्युनिष्ट बिरोधी चलचित्र भन्ने आरोप लगाए ।’ निर्देशक दीपेन्द्र लामाले सोधे, ‘तपाईंलाईचाहीं कस्तो लाग्यो सर ?’ त्यतिबेला भन्न भ्याईएन, अहिले आफ्नो बिचार लेख्दैछु, भूलचुक लिने दिने ।

‘कम्युनिष्ट’, ‘बिरोधी’, र ‘चलचित्र’: यी तिनवटा शब्द एकै ठाउंमा अंट्नै सक्दैनन् । चलचित्रको काम मनोरञ्जन र शन्देश हो । बिरोधीको काम बिरोध र अवरोध हो । कम्युष्टिले निष्ठापूर्वक देश र जनताको काम गर्ने हो ।
मैले बुझेको यही हो ।

कम्युनिष्ट भनेको जोगीजस्तै हुन्छन् जसको नीजि सम्पती हुंदैन रे ! ब्यक्तिगत स्वार्थ हुँदैन रे ! सम्पूर्ण जीवनमा देश र जनतामा समर्पित गर्छन् रे ! जसरी जोगीको घरबार हुँदैन त्यसैगरी कम्युनिष्टको दरबार हुंदैन रे ! जनता जस्तोमा सुत्छन्,

कम्युनिष्ट त्यस्तैमा बस्छन् रे । जे खान्छन्, त्यही खान्छन् रे !

तर, अहिलेको सन्दर्भमा यी सबै दन्त्यकथामात्र हुन् जो पुस्तकमा मात्र पाईन्छन् । मरेपछि स्वर्ग पुगिन्छ भनेर ज्युंदै मर्न सिकाउने अन्धविश्वास र क्रान्तीपछि मुक्ति पाईन्छ भन्दै लड्न पठाउने सिद्धान्तमा खासै भिन्नता छैन । यस अर्थमा सिनेमा ‘कम्युष्टि बिरोधी कथा’ हैन, सिद्धान्त र चरित्रबिचको अनमेल संबन्धको यर्थाथ चित्रण हो ।

अहिलेको युवाले जुन पार्टीको सिद्धान्त अंगाल्छ त्यो माक्र्सबादको ठेली पढेर वा समाजवादको बेद घोकेर वा राजाबादको रहस्य बुझेर अंगालेको हैन । बाबु कम्युनिष्ट भएकाले छोराहरु कम्युनिष्टमा लागेका होलान् ! श्रीमान् कांग्रेस भएकाले श्रीमती कांग्रेस भएकी होलिन् ! आशा, निरासा, अपेक्षा, सुरक्षा आदी ईत्यादिका कारण हामी यो वा त्यो पार्टीको नजिक वा टाढा भएका हौं ।

हाम्रो यही कमजोरीलाई राजनैतिक शक्तिहरुले आफ्नो एटिएम (एनि टायम मतदाता) बनाएर दुरुपयोग गरिरहन्छन्, यो बादी होस् वा त्यो बादी ।

‘छ माया छपक्कै’ले उठाएको बिषयलाई पुष्टि गर्न अहिले जन गायक जीवन शर्माको अवस्था हेरे पुग्छ । सधैंभरी जनताको गीत गाएर हिंड्ने जीवनले अलिअलि भएको सम्पती छोराहरुलाई दिएर हिंडे । आफ्नो भन्नु केही छैन । छोराहरुको अवस्थापनि झण्डै त्यस्तै छ । ‘वास्तविक सर्वहारा’ जीवनका छोरा अहिले जीवन मरणको दोसांधमा छन् । उपचार गर्न धौ धौ छ ।

उपचारको क्रममा आधा डुबी सकेकाछन्, निको भएपनि नभएपनि रिणमा चुलुम्म डुब्छन् । के आदर्शको राजनीति गर्नु भनेको यसरी नै डुबान क्षेत्रमा पस्नु हो त ?

यो त चिनिएका जीवनको कथा भयो । दुरदराजका गुमनाम हजारौं जीवन शर्माहरु आर्दशको राजनीति गर्दागर्दै रोगी बनेकाछन् । जोगी बनेकाछन् । सिद्धान्तले भोको पेट नभरिने निश्कर्षमा पुगेकाछन् ।

अंग्रेजीमा स्नातोकोत्तर गरेका जीवन शर्माले चाहेको भए सुबिधा सम्पन्न जीवन बांच्न र बचाउन सक्थे । तर, उनले जनताको साथ रोजे । नीजि सम्पती तोडे । कतै ब्यवसाय गरेनन् । छोराहरुसंग भएका अलिअलि नगद पनि नारायण भयो । अहिले आफुसंग पनि फुट्या कौडी छैन । तरपनि गंभीर बिमार छोरोको हात सुम्सुम्याउंदै जीवन भन्छन्–‘मलाई बिश्वास छ, जीवन हुञ्जेल मृत्यू आउंदैन ।’

‘छ माया छपक्कै’ कम्युनिष्ट बिरोधी कथा हैन, सिद्धान्तलाई ब्यवहारमा उतार्न दबाब दिने चलचित्र हो । सिनेमालाई नाम र दाम काफी मिलेको छ । तपाईंको सिनेमाका बीजपात्र जीवन शर्माहरुलाई अप्ठेरो परेको बेला भरथेग गर्नुपर्छ है दीपकजी, थप बलियो शन्देश जान्छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com