यसरी स्वस्थ रहनुस् : गजुरियल योग महात्म्य !

केशवराज गजुरेल

आम मानिसहरुको बुझाईमा  योग भनेको नियमित रुपमा गरिने शारीरिक कसरतमात्र हो तर त्यस्तो होईन । यस बिषयमा छलफल हुँदै गर्दा एकजना साथीले भनि हाले – ‘घरमै बसेर उफ्रीपाफ्री गरे भैहाल्छ नि ! साधना केन्द्र  धाउनै पर्दैन, सेतो वस्त्र लाउनै पर्दैन ।’ उभिइ रहेका मन प्रसाद थ्याच्च बसेर प्याच्च बोले  – ‘केशब जी, यो स्वाँ स्वाँ फ्वाँ फ्वाँ गरेर बोसो घट्छ भन्ने मलाई लाग्दैन । मज्जाले मर्निङ्ग वाक गर्नुस ।ब्याट्मिण्टन खेल्नुस, दानापानी पेल्नुस, ध्यान पनि हुन्छ, ज्यान पनि बन्छ !’

मैलॆ यि टिप्पणीहरु माथि नकारात्मक प्रतिक्रिया जनाउनै चाहिनँ किनकी अरुलाई दु:खी बनाउन म जन्मिएको होइन । योग साधनाले मलाई सिकाएको कुरा नै  बिचारले सकारात्मक हुनु, मनको मैला ध्यानले धुनु  भन्ने हो । त्यसैले केही बोल्नु बान्छनीय ठानिनँ । तर पनि आफ्नो तर्कसङ्ग आफै समहत हुन सकिन । योगले दिने न्युनतम फाइदा र परिवर्तनको बारेमा केहि कुरा सुझाउनु पर्दछ भन्ने लाग्यो । त्यसैले केही बुझाउन तिर लागें ।

मैले सुरु गरेँ, अलिअलि सुझेको, थोरै बुझेको  गजुरियल योग महात्म्य !

सुन्नुस् साथी, ‘योग भनेको तन, मन र भजनको मिलन हो । अर्थात् तपाईं हामीले देखेको यो शरिर र लोभी मन मात्र हो । तर मन र आँखालाई  समेत नचाउने अदृश्य  शक्ति अर्कै छ, त्यहाँ पुग्ने बाटो भनेकै योग हो । भौतिक कुराले मात्र मानिसलाई शान्ती दिंदैन । यसका निमित्त मन खुशी हुनु जरुरी छ । यो संसारमा मन वा आत्मा खुशी  पार्न पनि सजिलो छैन ।  केही पाउँदा रमाउने कुरा  मात्र होइन, गुमाउँदा पनि शान्त रहन सक्नुपर्छ ।

दृश्य र भोग्य बस्तु नासवान छन् । जे कुराको प्राप्तीमा तिमीले जति सु:ख पाउछौ, गुमाउँदा दुईगुणा मन रुवाउछौ ।  त्यसैले मित्र, जीवनकालागि आवश्यक पर्ने आधारभूत कुरा बाहेक  कुनै कुराको संग्रहमा लाग्न आजैबाट छोड्नुस् , खुशीको सुरुवात यहींबाट हुनेछ  ।

जहाँसम्म तपाईंले बुझेको योगको कुरा छ, दौडधुप र उफ्रिने कुराले मात्र योगको अर्थ पुरा गर्दैन । यो केवल कसरत मात्र हो । यसले बाहिरी अङ्गलाई लचिलो बनाउन सक्छ, शरीरलाई कसिलो बनाउन सक्छ । पसिनाको माध्यामले बाह्य शरीरलाई स्वस्थ बनाउन सक्छ । क्षणिक दु:ख हरण गर्ला  तर आन्तरिक तन मनको मैलो धुन सक्दैन । हामीलाई सँधै दुख दिने मन हो । बाहिरी योगले मनको दुख कहिल्यै मेट्दैन, मुक्तिको बाटो भेट्दै भेट्दैन । मन कमजोर र विवेक फोहोर भयो भने मान्छे धेरै गल्न सक्छ, उस्तै परे ढल्न सक्छ ! त्यसैले आजै देखि गर्नुस् साधना सुरु, दिन नबिराई योग केन्द्रमा आउनुस् खुरुखुरु !’

मेरो यो दृश्य मुखबाट अदृश्य सु:खको कुरा सुनिसके पछि लामो स्वास तानेर घुटुक्क थुक निल्दै मन प्रसादले भने – ‘तपाईंका यि बैराग्य कुराले मेरो मिठो खाना खाईराखेको मुख र राम्रो नाना लाईराखेको दिमागलाई  सजिलोसंग पखाल्न सकेन । भन्नुस् त, मैले आजै देखि तपाइंलाई माने भने, यो मनलाई योगको शरणमा तानें भने, तुरुन्त्त मेरो ज्यानले के पाउछ,  जिवनमा परिवर्तन के आउँछ ?’

मलाई पनि अलिअलि योगले छुन लागेको बेला, स-योग शिक्षक हुनै लागेको बेला, मौकाको चौका हान्नै पर्यो, फाइदाका कुरा भन्नै पर्यो ।उत्साहितहुँदै अगाडी सरें, हिपप शैलीमा भन्न सुरु गरेँ –

‘बिहान भरि सुतिदैन कुम्भकर्णसरी, ठिक पांच बजे उठि  हिंड्ने योगमा संधैभरी ! केन्द्र पुग्दा साथी भाइको प्रेम सद्भाव मिल्ने, समान अर्थ समान स्वार्थ मिलिजुली खेल्ने । वातावरण सुद्धि गर्न घन्काउने ओमकार, अन्तरमनको मैलो फाल्न जप्ने बैद्दिक मन्त्र । माता-पिता, गुरुजनलाई बन्दनाले पुज्ने, राष्ट्र सम्मान हाम्रो धर्म सयौं थुङ्गा गाउने । राष्ट्रिय गीतमा ताल मिलाई यौगिक जगिङ्ग गर्ने, झुक्दाखेरी स्वास छोड्ने, उठ्दा स्वास भर्ने । सुर्यासन पुर्णासन छोडिदैन कहिल्यै, आराधना ति सुर्यको  गर्नैपर्छ जहिल्यै । बाह्र दण्ड आठ बैठक सकिंदैन सबले, मिश्रदंड उफ्रिन छोड्ने छैनौं कहिल्यै । आराम दिन शरीरलाई बाजा बजाउने,  त्यसपछि भजन किर्तन गाना गाउने ।

साना साना नशनाडी तन्काउनै पर्ने, आरामसंग भुँईमा बसी सुक्ष्म व्यायाम गर्ने । कम्मर मुनि कम्मर माथि सुक्ष्म बाह्र छन्, मिलाएर गर्यौं भने  निकै आराम दिन्छन् ।

सय अंकमा अस्सी मार्कको सिङ्ग्गै प्राणायम पर्छ, शरीरका भित्रि भागको ब्यायाम यसले गर्छ । क्रियात्मक पांचवटा छन्, ध्यानात्मक तिन छन्, यिनलाई समय दिनसके धेरै लाभ दिन्छन् । अनुलोमविलोम, बाह्य, उज्जाई क्रिया प्राणायाम हुन्, कपालभाती भस्त्रिकाले यिनलाई पछ्याउछन् । प्रणव, उद्गिद, भ्रामरी ध्यान प्राणायाम हुन्, मनमा शान्ति तनमा शान्ति  यिनले सधै दिन्छन् । सबै खाले प्राणायमले भित्री रोगलाई छुन्छ, बिधि मिलाई गर्न सके चित्त सुद्धि हुन्छ ।

भुइमा बसी गर्ने आशन चारवटा छन्, मंडुक, ससक, बक्र, गोमुख यिनीहरु हुन् । सुगर वा डाइबिटिजको अचुक औषधी यो, बिधीपुर्वक जसले गर्छ स्वस्थ हुन्छ त्यो । पेटको बलले गर्ने आशन छन् यि तिन, मकर, भूजंग, सलभ हुन् यी । ढाडको बलले गर्ने आशन पाँच वटा छन्, मर्कट, पवन, पाद, हल र साइकिलिङ्ग  हुन् । पेट र  ढाडका आशनले धेरै फाइदा भर्छ, पेटको बोशो, कम्मरको उचित ब्यायाम गर्छ ।

एकैछिन हल भित्रै चुपचाप हराइन्छ, शवाशनको माध्यामबाट आराम गराइन्छ । मृत्यु यस्तै हुन्छ भनि  अनुभव गर्ने, शरिर स्वस्थ हुँदै गएको विस्वास भर्ने । डराउनु  पर्दैन वियोग  होला भनि, सावाधानी बताइन्छ रोग छानी छानी  । बिधि अनि  फाइदाको  बर्णन हुन्छ प्रत्येक क्षणमा, हास्यसन, शिंहासन छोडीदैन दिनमा । विधिपूर्वक शान्ति पाठले विट मार्दै जान्छौं, गुरु पुज्छौं अन्त्यमा गुरुभ्यो नम: भन्छौं।

आन्त्यमा, पहिलो फाइदा आफैलाई दोश्रो फाइदा घरमा, योग जागरणले खुशी छरौं मानाव जगत भरमा ।

सर्वे ववन्तु सुखिन: सर्वे सन्तु निरामया: । सर्वे भद्राणी पश्यन्तु मा कश्चिद दु:ख भाग्भवेत ।। ओं शान्ति: शान्ति: शान्ति: ।
(पतंजली सुर्यविनायक नगर योग समितिको अगुवाईमा २१औ समुहको सहयोग शिक्षक तालिममा सहभागीहरु द्वारा निकालिएको स्मारिकामा प्रकाशित लेख )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com