लक डाउन : कसैलाई गुडलक डाउन, कसैलाई ब्याडलक डाउन ! Korona Kavita

प्रकाशित मिति: 11 April, 2020 7:33 pm

 

 

-दीपक आचार्य ‘काकु’
कलाकार/निर्देशक

सदा भन्दा शान्त र चकम्मन थियो काठमाडौं,
एकोहोरो कुकुरको रुखो आवाजले अलिक भयभित झैं थियो काठमाडौं,
मन्दिरका घण्टाहरुको छुट्टी भएछ कि कसो !
सदा झैं मलाई ब्युझाउने ड्युटी नगरे झैं लाग्यो ।

झन्डै झन्डै ७ बजे तिर एक हुलको हल्लाले मेरा आँखा खुले,
ओहो घाममाथि आई सकेछ, आँखा मिच्दै थिएँ,
त्यो भीड मतिरै दौडदै आएको देखें, पछि-पछि पुलिस,
केही पक्कै अशुभ छ, म पनि हुलको पछि दौडिएँ ।

आफ्नो सिरानीको गैंती बेल्चाको बोरा त्यही छोडिए,
करिब पुलिसको दुई डन्डा मेरो ढाडमा बजारियो,
‘भित्र बस भनेको सुन्दैनस ?’ रुखो हुँकार पनि गुन्जियो,

अनौठो थियो शहर, लगभग नेपाल बन्द भन्दा पनि कडा,
एउटा चेन गेट खुल्ला देखें,
म भित्र छिरें, मैले पनि पुलिसको आदेश मानें,
तर कहाँ छिरें, कस्कोमा छिरें, आफैंलाई थाहा थिएन,
केवल थाहा थियो त मैले पुलिसले भनेको मानें, म घर भित्र पसें ।

पुलिसको आवाज सानो हुँदै हरायो,
हुलको पछि दौडँदै आफ्नो बाटो लाग्यो,
बाहिर चकमन्न तर भित्र अचानक अशान्त,
फेरी अर्को आवाज आयो,
‘आमा लौन चोर भित्र छिरेछ, बन्दको मौका छोपेर’
पुलिसको भन्दा रुखो स्वरमा बोलिन् एक युबती सानो टालोले आफ्नो मुहार ढाकेर ।

हुन पनि मेरै गल्ती थियो, चिन्दै नचिनेको ठाउँमा छिर्नु,
चसक्क भयो मुटु, उनिले दिएको चोरको परिचयले,
बाहिरभन्दा भित्र बस्न असहज भयो मलाई,
अनि फेरी पुलिसको आदेश तोडेर लागें,
म बाहिर अनिश्चित दिशातर्फ ।

मनमा अनेक तर्कनाहरु खेल्न थाले,
कसले गरेछ फेरी नेपाल बन्द ?
बिप्लबको भन्दा पनि खतरा
कहीं कतै खुलेका छैनन् सारा संसार नै चकमन्न,
छन त केबल दुई चार जना पुलिस,
अनि दुई चार म जस्तै अलमल्लमा परेका मजदूर ?

खै के के सोच्दै म शहर को अर्को चोकमा पुगेछु,
म माथि बज्रिएको पुलिसको लाठीको झट्टिले पो म होशिएँछु,
र थाहा पाएँ मैले फेरि कानून मिचेँछु,

एउटा झट्टीको पीडा सहि नसक्नु भउर सुमसुम्याउन नपाउँदै,
अर्को लट्ठी थपियो,
मर्नुभन्दा बहुलाउनु निको सम्झिएँ,
हिम्मत कसेर सोधें, सर किन पिट्नु भएको ?

निकै कर्कस स्वरमा जबाफ आयो, लकडाउन भन्ने थाहा छैन ?
किन बाहिर निस्किस् ?
भित्र छिर्दा चोर् बनिने बाहिर निस्कँदा कानून मिचिने,
म असमन्जसमा परें ।

अनुहार मास्कले ढाकिएर बोलेकोले होला शायद, मैले प्रस्ट सुनिन कि ?
नत्र जीवनमै पहिलो पटक सुन्दै थिएँ यस्तो शब्द ‘लकडाउन’
फेरी प्रती प्रश्न गर्ने हिम्मत बटुलेर सोधें,
‘सर यो लकडाउन भनेको के हो ?’

अलिक माथिल्लो दर्जाको पुलिस भएर होला,
आफ्नो आवाजलाई अलिक नरम बनाउँदै सम्हाउने कोशीस गरे,
लकडाउन भनेको आफ्नो घरको ढोकामा ताल्चा लगाउने,
र घर भित्र बस्ने, लकडाउन, मतलव, ढोकामा ताल्चा लगाउने ।

मैले समेत् बुझ्ने भाषामा पुलिसले सम्झाएको देखेर,
उहाँले सम्झाए भन्दा पनि धेरै सम्झिएँ,
पुलिसले थप्यो, तर यो पटक लाठी उझ्याउँदै,
अनि फेरी पहिलेकै लयमा फर्कँदै जा घर भित्र बस ।

लाठीको वेवास्ता गर्दै फेरी अर्को प्रश्न सोध्ने हिम्मत गरें,
जसको ताल्चा छ तर ढोका छैन,
मतलव म जस्तै ज्यालादारी गरेर सडकमै निदाउने ,
मजदुरहरुले ताल्चा कहाँ लगाउने ?

मलाई पिट्न तम्सिएको लाठी समेत बिसाएर केही सोचमग्न भए पुलिस,
मानौं मेरो प्रश्न उनको लागि निकै गर्हौं थियो,
चुपचाप, ना जवाफ, अर्को हुललाई लखेट्नतर्फ लागे उनी,
शायद मेरो प्रश्न को जवाफ उनीसंग नभएर होला,

अझै म मेरो प्रश्न को जवाफ खोजिरहेछु,
तपाईंसंग छ ?

दीपक आचार्य, कलाकार/निर्देशक

२०७६ चैत्र २८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com