हल्लो साथीहरु, एकछिन हल्ला नगरौं त, यता गम्भीर कुरो आयो !

प्रकाशित मिति: ४ बैशाख २०७७, बिहीबार १०:४४

‘केहि समय यस्ता कुरा नगरौं !’
डा. रवीन्द्र पाण्डे


– कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, सेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो … जस्ता तनाब दिने कुरा नगरौं | यस्ता कुरा भूकम्पको बेला पनि भएका थिए, नाकाबन्दीको बेला पनि भएका थिए | भोलि कोरोना संक्रमण नियन्त्रणमा आएपछि घाउहरु निको हुँदै जान्छन | नेपाल औद्योगिक देश हैन तसर्थ अर्थतन्त्र हामीले सोंचेजस्तो डुब्ने छैन | यो संकट पार गरेपछि बरु दिनमा १६ घण्टा काम गरौंला |

– भारतले सामान पठाउन बन्द गर्यो भने इन्धन, खाना र औषधि नपाएर मरिन्छ भन्ने जस्ता कुरा पनि नगरौं | नाकाबन्दीमा बाँचेका थियौं | औषधिको केमिकल चीनबाट ल्याउने हो भारतले पनि | हामीले सिधै चीनबाट ल्याउन सकिन्छ | नेपालमा सयौं औषधि कम्पनी छन्, उनीहरुले आफ्नो ब्यबसाय गर्नेछन | त्यस्तै हामीले ग्यास नपाए बिजुली, दाउरा, गुंइठा बालेर पनि काम चलाउन सक्छौं | बिद्युत उत्पादन र वितरणमा काम गर्यौं भने हामीलाई ग्यास सिलिन्डर नभएपनि काम चल्छ | नेपाल कृषिप्रधान देश हो | गाउँ पुरै बाँझो छ, गाह्रो पर्यो भने हामीहरु खेतीपाती गरेर, अर्गानिक खाना खाएर तथा गाउँ आवाद गरेर झन् आत्मनिर्भर हुनेछौं |

– लाखौंको रोजगारी जाने भयो भनेर चिन्ता नगरौं | खेतीपाती, बाख्रापालन, कुखुरापालन, गाईभैंसी पालन आदि गरेर हाम्रा फार्ममा अरुलाई रोजगार दिने हैसियत हाम्रो बन्नेछ |

– कोरोना फैलियो भने बिकसित देशमा लाख भन्दा धेरै मान्छेको मृत्यु भयो भने हाम्रो के गति होला भनेर चिन्ता नगरौं | मर्न त्यति सजिलो छैन | संसार कोरोनाले पीडित हुँदा हामी सुरक्षित हुनु संयोग मात्र हैन | हाम्रो हावापानी, खानपिन, रहनसहन कोरोना प्रतिरोधी छ | हामीकहाँ ४ – ६ हप्ता कोरोना लागेका मान्छे भन्दैछन – हामीलाई केहि पनि भएको छैन, एउटा लक्षण पनि देखिएको छैन | लाखौँ मान्छेको कोरोनाबाट मृत्यु हुँदा अहिलेसम्म पोजिटिभ देखिएका १ जना पनि आइसीयु / भेन्टिलेटरमा बस्नुपरेको छैन | उनीहरु दालभात, तरकारी खाएर तथा आफन्तसंग फोनमा कुरा गरेर अस्पतालमा बसेका छन् |

– सरकारले केहि गर्दैन, भ्रस्ट्राचार मात्र गर्छ भनेर निरासाको व्यापार नगरौं | सरकारले लकडाउन नगरेको भए स्थिति अर्कै हुनसक्थ्यो | देशभर क्वारेन्टाइन, आइसोलेसन केन्द्र, अस्पतालमा बेडको क्षमता, PPE जस्ता अत्याबश्यक कुरामा प्रगति भएको छ | प्रहरी प्रशासन रातदिन खटेको छ | स्वास्थ्यकर्मीहरु ज्यानको बाजी राखेर काम गरिरहेका छन् | जटिल परिस्थिति आयो भने सरकारले तदनुसार काम गर्नेछ | यस्तो बेलामा कात्रोमा खल्ती सिलाउनेलाई अख्तियार, सिआइबि, चुनाब आदिले तह लगाउनेछन् | उनीहरुलाई पापले भतभती पोल्नेछ | नराम्रो गर्नेको कहिल्यै राम्रो भएको छैन |

– सहरमा खान नपाएर तथा उपचार नपाएर धेरैजना मर्ने भए भएर निरुत्साहित गर्ने कुरा नगरौं | कोहि भोको र बिरामी भयो भने प्रहरी कार्यालय वा वडा कार्यालय जानु भयो भने भोक र ज्वरोले मरिने छैन | गाउँगाउँमा सरकारी स्वास्थ्य संस्था छन्, स्वास्थ्यकर्मीले हप्तामा सातै दिन काम गरिरहेका छन् |

– भारतमा कोरोना धेरै फैलियो भने इन्डियनहरु नेपाल आएर बर्बाद गर्छन भनेर पनि चिन्ता नगरौं | त्यो परिस्थिति देखियो भने सरकारले बोर्डर शिल गर्छ, मेचीदेखि महाकालीसम्म सुरक्षाकर्मी र स्थानीय जनताको गस्ती हुनेछ | आबश्यक परे सिमानामा कर्फ्यु लागु हुनेछ | हामी लाखौँ स्वयंसेवी जनताको स्वास्थ्य रक्षा गर्न सिमानामा उभिनेछौं |
..
चिन्ता, तनाब, असुरक्षा अनुभूति आदिले रोगसँग लड्ने शारीरिक, मानसिक तथा इम्युनिटी प्रणालीमा नकारात्मक असर गर्दछ | तसर्थ घरमै बसौं, स्वस्थ रहौं, मस्त रहौं | सकिन्छ आशाका किरण वितरण गरौं, सकिदैन, निराशाको मन्दबिष वितरण नगरौं |

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com