सरकार ! भोको पेटले लकडाउन उल्लङ्घन गर्यो भने ?! ‘ड्यामेज कन्ट्रोल’को रियल तरिका !

डा. रवीन्द्र पाण्डे

 

 

प्रिय सरकार,

सरकार जनताको अभिभावक हो | आफ्नो अभिभावकसंग गुनासो गर्न पाउने नागरिकको अधिकार हो भने आफ्ना नागरिकको गुनासो सुन्नु अभिभावकको कर्तब्य हो | यो गुनासो मेरो मात्र होइन, ३ करोड जनताको गुनासो हो | गुनासो सुन्ने र कार्यान्वयन गर्ने क्षमता सरकारसंग हुन्छ भन्ने मान्यता संसारभर भएकोले हाम्रो सरकारसंग पनि त्यो क्षमता छ भन्ने मेरो मान्यता हो |
१. मेरो सरकार ! सरकार प्याज जस्तो हुनु भएन, साग जस्तो हुनुपर्यो | प्याजमा भएका पत्र अर्थात लेयरले हाम्रो सरकारलाई घेरे कि ? संसारका अरु देशमा सागजस्ता सरकार छन् | कुनै पत्रले नघेरिएका, पानीको थोपा पनि ग्रहण गर्ने, असिनाका दाना पनि सहने अनि आफु चिमोटिएर जनताको हातमुख जोड्न पनि सहयोग गर्ने | के प्याज सरकार हाम्रो नियति हो ?
२. टेलिभिजन, पत्रपत्रिका, सामाजिक संजाल हेर्दा आँखाबाट आँशुका थोपा यसै भत्किन्छन् | मुटु चिसो भएर आउँछ, मनमा तुफान चल्छ | ती सयौं भोका मान्छेको लस्कर, रोगी मान्छेको लस्कर, सुत्केरी र शिशुहरुको रोदन | उनीहरु हाइकिंगको लागि हिंडेका हैनन्, कमिसन र कालोधनको कुम्लो बोकेर भागेका होइनन् | उनीहरु सरकारको बिरोध गर्न बिद्रोहमा उत्रेका आतंककारी हैनन् | मेरो सरकार ! तिनीहरु पेटमा अन्नको गेडो नपरेर बौलाएका नागरिक हुन्, सिटामोलको गोली किन्ने खुबी नभएका पानीमरुवा हुन् | उनीहरुले सरकारको बिरोधमा नारा लगाएका छैनन् | नपत्याए प्याजका पत्रहरू खोलेर सुन, उनीहरु मनमनै भन्दैछन् – कि खान देऊ, कि घर जान देऊ | तिनीहरुलाई आफ्ना हातसँग झोंक चलेको छ, त्यो स्वस्तिक चिन्ह मतपत्रमा ठोक्ने हातलाई सिलौटामा राखेर लोराले कच:कच: थिच्ने मन लागेको छ |
मेरो सरकार ! सहरमा भोकै मर्ने भयौं, गाउँमा खनखोरस गरेर बाँच्छौं भन्ने ती देशद्रोहीलाई सहर निकाला गर | एउटा कोठा लिएर पढ्न बसेका बिद्यार्थीलाई सहरबाट लेखेट | त्यस्ता सर्वहारालाई यो मिठो धुन बज्ने तथा सप्तरंगी फूल फुल्ने सहरबाट गाडीमा हालेर सहर निकाला गर |
३. मेरो सरकार ! सिमानाबाट भित्र आउनुपर्ने बाहिर छन्, बाहिर हुनुपर्ने भित्र आइरहेका छन् | सयौं किलोमिटर तातो अलकत्रे बाटोलाई खुट्टाले नाप्दै नाप्दै सिमाना पारी पाल टाँगेर बसेका ती भोकानांगाहरु सरकारलाई स्वस्तिक छाप हानेका देशद्रोही हुन् | रोग, भोक र शोकले ती यति आक्रान्त छन् कि आफ्नै माटोमा आस र सास बिसाउने अन्तिम इच्छा छ, उनीहरुको | उनीहरुलाई सिमा निकाला गरेर गाउँमा पठाउन पाए सरकारको मिठो निद्रा कसैले बिथोल्ने थिएन कि ?
४. प्रिय सरकार ! खाडीको धुपमा पसिनाको धारा चुहाएर रेमिट्यान्सले सरकार पालेका ती भुस्तिघ्रेहरु जागिर गएर मर्नु न बाँच्नु भएका छन् | उनीहरु भन्दैछन, हामीलाई देश फर्काउ सरकार ! हामीले बाँझो जमिनमा सुन फलाएर सरकारलाई पाल्नेछौं | पाल्ने कुरो गर्दैछन त ! कि तुरुन्त चार्टर गरेर ल्याउने हो ? १ महिना क्वारेन्टाइनमा बस्न पनि तयार छन् उनीहरु | यो त फाइदाको कुरा गरे त !
५. मेरो सरकार ! कोरिया, जापान, इजरायल, युरोप, अमेरिकादेखि सयौं देशमा रहेपनि छातीमा नेपाल बोकेका लाखौँ जनताहरुलाई नेपाल ल्याउने यहि मौका हो | उनीहरु ज्ञान, सिप र अनुभवले उम्दा छन् | उस्तै परे उनीहरुले नेपालको बिकासमा नयाँ मोडेल ल्याउनेछन् | देशको अर्थतन्त्रलाई माथि उठाउनेछन् | सरकार धनी हुनेछ | कि महादेवको तेस्रो आँखा खोल्ने हो ? यसो गर्दा प्याजका पत्रलाई पनि फाइदा, प्याजका दर्जनौं पत्रभित्र विराजमान सरकारलाई पनि फाइदा |
६. मलाइ डर छ सरकार ! दैनिक ज्यालादारीलाई खै राहत ? न्यून आय भएका व्यक्तिलाई खै हातमुख जोड्ने प्रबन्ध ? भोको पेटले लकडाउन उल्लङ्घन गर्यो भने ? अप्रिय नारा लागे भने ? खानपिनप्रेमिको भण्डार कब्जा भयो भने ? अर्को शक्ति उदाएर यो अकन्टक सत्तालाई ग्रिलभित्र राख्यो भने ? विदेशीका बुट यो कोमल छातीमाथि बज्रिए भने ? जनताले ’ जसको भारी बोकेपनि बोक्ने न हो ‘ जस्तो प्रतिक्रियाबादी जवाफ दिए भने ? त्यो भान्सा, त्यो खानपिन .. सोंच्दै मुटु ढुकढुक हुन्छ, मेरो सरकार |

लौन ! अझै समय घर्केको छैन |

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com