‘यति गर्नोस् , बा-आमा सधैँ दङ्ग हुनुहुनेछ ।’ -ज्यूँदो छँदै पितृ खुशी पार्ने टिप्स !

-केशबराज गजुरेल

 

आज ‘माता’तीर्थ औंशी भएतापनि यो दिन जन्मदिने माताको मात्र होईन, उहाँसंग जोडिएका सम्पुर्ण सम्बन्धप्रति सम्मान अर्पण गर्न चाहन्छु । आज हामी आ-आफ्ना आमाहरुलाई सम्झिरहेका छौं । त्यसका लागि फेसबुकको अत्याधिक उपयोग भईरहेको छ । फोटो राखिरहेका छौं । बिचार लेखिरहेका छौं । हातहातमा मोबाइल छ, डायल गरेर भन्दैछौं – ‘आमा, माता औंशीको शुभकामना छ है !’ तर, यी सबै तरिका आमासँग प्रत्यक्ष भेट हुन नसक्दामात्र हुनुपर्ने हो तर हामीले यसैलाई आमाको आदर गर्ने अन्तिम उपाय ठानिरहेका छौं ।

हुनसक्छ, पल्लो घरको एउटा अँध्यारो कोठामा आमा रहेकी होलिन् ! बुढ्यौलीले लखतरान होलिन् ! उठ्न नसकेर खोक्दै खाटमा लम्पसार होलिन् ! एक गिलास तातोपानी दिने सहयोगी हातको खाँचो होला ! मिठो बचन सहित एक गाँस जाउलो खुवाउने साथको आवस्यकता होला ! उनलाई लागिरहेको हुनसक्छ – कोही आएर हात दिए समाएर उठ्न सक्थें की ! कोहि आएर खुशी साटे संगसंगै जुट्न सक्थें की !

यस्तो अवस्थामा, ती आमा-बुबालाई तिनका सन्ततीले फेसबुकमा फोटो पोस्ट्याउनु वा टेलिफोनबाट शुभकामना दिनुले खासै अर्थ राख्दैन । यो त ढोंगीको ढोंग मात्र हुनेछ ! झारा टारे जस्तोमात्र हुनेछ । लोकका अगाडी राम्रो देखिन मन्चन गरिएको एउटा नाटकजस्तो मात्र मान्न सकिन्छ । अथवा, सन्ततिको त्यस्तो कर्मलाई बा आमाले मुतको न्यानो बराबर मात्र महशुस गर्नु हुनेछ !

कुनै एउटा अवसर पारेर लहैलहै र देखासेखीमा गरिने सम्मानले मात्र आमा-बाबुप्रतिको दायीत्व पुरा हुँदैन । सन्तानले आफ्ना अविभावकप्रति साँच्चै नै आत्मीयता दर्साएको छ कि औपचारिकतामात्र पुरा गर्दैछ भन्ने कुरा ब्यबहारबाट प्रकट हुनुपर्दछ । यसका लागि सन्ततिले आफ्ना दैनिक जीवनमा गरिने कर्मबाट हुने प्रत्यक फलको अंश आमा-बाबुलाई छुट्याएको छ कि छैन ? उनीहरुबाट प्रकट हुने ब्यबहार र आचारण अविभावक प्रति समर्पित छन् कि छैनन् ? अथवा अविभावकले सन्ततिका कार्यको प्रशंसा गर्दै प्रशन्नता महशुस गर्ने वातावरण छ कि छैन भन्ने कुराले मात्र निर्धारण गर्दछ ।

मानव जीवनको संघर्षपूर्ण यात्रामा सबै सन्ततिलाई अविभावकका लागि प्रयाप्त समय दिन सम्भव नहुन सक्छ । सामान्यतया, अविभावकको इच्छालाई सम्बोधन गर्न सधैं प्रयत्न गर्ने सन्तती नै एउटा जिम्मेवार सदस्य हुनसक्छ । तर, यतिले मात्र भने कर्तब्य पुरा हुँदैन । उनीहरुप्रति त्यो जिम्मेवारी पुरा गरिरहन एउटा निश्चित बिधि र थिति मिलाउनु जरुरी हुन्छ ।

वयस्क र गृहस्थ भैसकेको एउटा असल सन्ततिले आफ्ना अविभावक प्रति न्युनतम रुपमा निश्चित भावनाको बिकाश गर्नु जरुरी हुन्छ । जस्तै, उमेर बित्दै जाँदा जेष्ठहरु पनि आफ्ना छोराछोरी सरह हुन्छन । उहाँहरुको आफ्नै कमाइ हुँदैन । श्रोत र सामर्थ्य गुमिसकेको हुन्छ । यस्तोबेला अलिकति पनि मन दुख्ने घटना भयो भने उहाँहरुमा हिनता पैदा हुन सक्छ । छोरा-छोरीप्रति बुबा-आमाको अपेक्षा के के हुन्छन भनेर पहिचान गरी आफ्नो कर्तव्यको पालना गर्न सधैं अग्रसर हुनु पर्दछ ।

आमा-बाबु के चाहन्छन् त ? उनीहरु चाहन्छन् – सन्ततिहरु सधैं स्वास्थ्य, शिक्षित र पराक्रमी बनुन् , सधैं सुखी र खुशी रहुन् । उनीहरुले गर्ने कुनै पनि कामका कारण आफ्नो मन नकुडीय़ोस् । सकेसम्म परिवारबीच अचम्मैको मिलन रहोस् । सकेसम्म कुनै सन्तति आफूभन्दा टाढा कतै नजाउन् । पारिवारिक एकताले समाजमा गौरवानुभुती गर्न पाइयोस् । साँझमा सबै सदस्यहरु संगै बसेर अन्तरंग् पाइयोस् । यस्तो वातावरणमा अविभावकहरु सधैं खुशी रहन्छन् । टाढा गएर फर्किंदा आफ्नो कमाइबाट सानो नै किन उपहार ल्याउनोस् । र, भन्नुस् – ‘यो हजुरको लागि !’ सुनमा सुगन्ध थपिनेछ ।

सकेसम्म अविभावकहरु सकेसम्म आफ्ना सन्ततिलाई दु:ख देखाउन चांहादैनन्। त्यसमा पनि आमा जसले छोरा-छोरीलाई कहिल्यै दुख देखाउदिनन् । तर, आफ्नो अन्तस्करणमा सन्ततिले कहिलेकाही आफ्नो बारेमा सुख-दुख सोधे हुन्थ्यो भन्ने अपेक्षा भने अवश्य साँचेका हुन्छन् । छोरा-छोरीले बोलिदिएमात्र पनि आफ्नो दु:ख आधा भएको महसुस दर्साउछन् ।

उमेरले उत्तरार्धतिर पुग्दै गरेका जेष्ठ अविभावकहरुको अपेक्षा भने अझै फरक हुन्छ । चाहना मनभित्रै सुसुप्त रहन्छन् । आफ्ना बच्चासंग्ग गरिने ब्यबहार र सावधानी बुबा-आमा प्रति दर्साउन सके वहाँहरुलाई सधैं खुशी राख्न सकिन्छ । जसरी साना बच्चाहरुको स्वभाव र चाहना अनुसार केही ल्याईदिंदा खुशी हुन्छन् त्यसरी नै हामी आफ्ना छोरा-छोरीलाई केही खरिद गर्दैछौं भने बुबा-आमालाई पनि केही किनि दिउँ दिउ त ! अहो ! खुशीको सिमा नै रहन्न ।

आमा-बाबुलाई प्रशन्न राख्न रुपमा सामान्य तर सारमा महत्वपुर्ण शैली अपनाउन सकिन्छ । सकेसम्म संगै बस्नुस । सम्भव नभए पनि नियमित सम्पर्कमा रहनुस् । आधारभूत आवश्यकता वा समस्याबारे जानकारी तथा सोधखोज गरि रहनुस् । सदैव उच्चकोटीको सम्मान गर्नुस् । वहाँहरुका सत्गुणलाई अनुसरण गर्दै ब्यबहारमा उतार्नुस् । वहाँहरुका समकालीन आत्मीय सखीहरुसंग बा-आमाको प्रशंसायुक्त कुरा गर्ने गर्नुस् । धन लगाउनै पर्दैन, मन प्रशस्तै दिनुस् । बा-आमा सधैं खुशी हुनुहुनेछ । फेसबुकमा फोटो पोस्ट्य़ाउनु भन्दा साँचो सम्मान यहि हुनेछ । जीवनका पहिला गुरु आमा-बुबा प्रति नमन गर्दछु ।

गुरुरब्रम्हा गुरुर्बिष्णु, गुरुर्देवो महेश्वर,
गुरु साक्षात् परम्ब्रम्हा, तस्मै श्री गुरुवे नम: ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com