कोरोना त आउँछ जान्छ तर मुख्य कुरा अर्को छ !

 

-केशबराज गजुरेल

समस्या के हो ?
समस्या के हो भने ऐले विश्वव्यापी महामारीले हाम्रा रहरहरु खोसेको छ । कामको विकल्प रहेसम्म फुर्सद नहुने हामी चुपचाप घरभित्र बसेका छौं । निशंकोच भन्न सकिन्छ – हामीले तिथि, मिति, गते, बार समेत भुसुक्कै भुलेका छौं । एउटा अजंगको अदृश्य त्रास हाम्रा सामु उभिएको छ ! कमाउने, जमाउने र रमाउने हाम्रा लोभी रहरहरु बन्द कोठाभित्रै सेलाएकाछन ।

के हुँदैछ त ?
अर्थात्, घरभित्र चुपचाप बसेपनी हामी निश्चिन्त र ढुक्क भने छैनौं । मौनता भित्र पनी कुरा खेलाई रहेकाछौं । समस्याहरु केलाई रहेकाछौं । आफ्नो भविश्यप्रति नकारात्मक सोच आएकोछ ! साथै, निराशा र भयले डेरा जमाएको छ । विज्ञानको चामत्कारिक अश्त्रले प्रकृतिलाई औंलामा नचाउने बानी परेका मानिसको पहुँच गुमेको छ । प्रकृतिकै कठोर कब्जामा परेका परेकाछन् । अर्थात् , कोरोना त्रासले मान्छे आफैंले आफैं लाई कान समाएर अनिश्चित उठ बस गराई रहेका छ ।

कारण के हो ?
यो परिस्थिति हाम्रो रहर होइन, प्राकृतिक बाध्यता हो । मान्छेको आफ्नै योजना हुँदो हो त तलमाथि पार्न सकिन्थ्यो होला ! हाम्रो बुतामा भएको कुनै भौतिक बस्तु हुँदो हो त दौलतको अहंकारले आफ्नै पोल्टोमा झार्न सकिन्थ्यो ! यो त एउटा अदृश्य जीवाणु हो । थाहै नदिइ हामीमा सल्किन्छ ! उसको काम जे हो, त्यहि गरेको हो । जसको आन्तरिक मनोबल र बाह्य तनोबल उच्च छ, उसले जीवनको सुरक्षा गर्न सक्छ, जो कमजोर छ उ मर्न सक्छ !

अब के गर्ने त ?
पहिलो कुरा त, हामीले परिस्थितिको समिक्षा गर्नुपर्छ – कोरोनाको कहर कति चल्छ, हामीलाई थाहा छ ? अँह थाहा छैन । समस्या सुल्झिन सक्छ, तर एकै पटक वातावरण सहज हुन्छ त ? हुँदैन, यसको प्रभाव बर्षौं रहन सक्छ । हामीले हिंजो गर्दै आएका काम यथास्थितिमा अघि बढ्न सक्लान त ? अवश्य बढ्न सक्दैनन् । हामीले बनाएका महत्वाकंछी योजनाहरु सोहिनुसार कार्यन्वयन गर्न सकिएला ? कार्यन्वययन गर्न सकिंदैन । त्यसर्थ, योजनाको परिमार्जन, स्थगन वा रद्द कुनैपनी बाटो रोज्नु पर्ने हुन सक्छ वा अरु नयाँ बिकल्प खोज्नु पर्ने हुन सक्छ !

यो जटिल अवस्थामा सोच्ने कसरी ?
धैर्य गर्नुपर्छ, ऐले तनाव लिने, आत्तिने र भौतारिने बेला होइन ! चिन्तन गर्नुपर्छ, चिन्ता भने पटक्कै गर्नु हुँदैन । हामी जतिसुकै ठुलो भौतिकवादी भएपनि यसबेला भागवत गीताको सारलाई आत्मसात गर्नुपर्ने ठाउँमा उभिएका छौं । गीताले भन्छ – ‘हे मनुष्य, तिमी व्यर्थमा किन चिन्तित हुन्छौ ? तिमी जन्मदा एक्लै जन्मिएका हौ । मर्दा एक्लै मर्नेछौ । आजसम्म तिमीले कमाएको सम्पति, घर, गाडी वा यस्तै भौतिक चिजहरुको प्राप्तिमा अहंकार गर्छौ नि, यी चिज तिम्रा होइनन् !’

यसलाई हिजो कसैले उपयोग गर्थे, भोली अरु कसैले गर्नेछन् ! तिमी जे जे बस्तुलाई मेरो भनेर लोभिएकाछौ, यी सबै अस्थाई हुन् ! तिमीले धरतीमा जन्मिएर आएपछी उपयोग गरेकामात्र हौ । न की,जन्मिदा नै लिएर आएका हौ ! तिमी मर्दा यी भौतिक चिजहरु सबै यहीं छोडेर जानेछौ ! अर्थात, तिम्रो जीवन भनेको वर्तमान हो । जुनबेला जस्तो परिस्थिति आउँछ सहजै स्वीकार गर्न सक्नु पर्छ ! तब मात्र तिमी जीवन पर्यन्त खुशी रहन सक्नेछौ !

यस घडीमा हामीले ‘गीता सार’बाट ठ्याक्कै के सिक्ने त ?
ऐलेसम्म कोरोनाको ओखती बनेको छैन। हाम्रो शरीरमा नबस भन्दा मान्दैन ! यसर्थ आफ्नो क्षमता भन्दा माथिको समस्या वा अवसरमा डराउनु पनि हुँदैन, लोभिनु पनि हुँदैन ! जति प्रयत्न गरेपनी परिणाम आफ्नो पोल्टामा आउँदैन ! हिजो सहजताका बेला हामीमा लोभ, मोह र अहंकार मौलाएर आकासिएको छ ! यसलाई आत्मचिन्तन गर्न सक्नुपर्छ । हाम्रो मन रातारात कमाउने धन्दामा बहकिएकोछ ! अहंकारले बढाउने भनेको दुरासय, दुष्कर्म नै हुन् । यसलाई सदासयता, सत्कर्ममा बदल्नु पर्छ । असहिष्णुता बैरभावले मानवीयता खोसेको छ । यसलाई मैत्रीभाव र सहिष्णुतामा बदल्नु पर्छ । समग्रमा मनाव जगतका निम्ति यो चुनौती मात्र होइन, एउटा महत्वपूर्ण अवसर पनि हो । जसले हाम्रो सोच, आचारण, जीवनशैली, रहनसहनमा नयाँ आयाम थप्न सक्नेछ । धन्यबाद ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com