ध्यान नपुगेको ज्ञान – ‘मामालाई चिन्नको लागि पहिला आमालाई चिन्नु पर्छ !’
प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलवार १०:५९
-केशब राज गजुरेल
‘दोचारे काका’ सम्पन्न भएकाले गफ गरेरै खान पुग्दथ्यो। गाउँले भेला गरेर गफ दिनु उनको दिनचर्या यो। उनि प्राय: सामाजिक विषयमा कुरा गर्दथे । जीवन र जगतको बारेमा राम्रै गफ दिन्थे । ‘गफ’ यस अर्थमा कि कुरा ठिकै भएपनि व्यवहारमा उनि कमजोर थिए । त्यसैले मानिसहरु उनका कुरा अगाडी सुन्थे तर पछाडि उडाई दिन्थे।
एकदिनको कुरा हो । काकाले जीवन र जगतको ‘गफ हान्दै’ थिए । बुद्धि प्रसादलाई असह्य भयो । र, प्रतिकार गर्न खोज्यो – ‘हैन हौ दोचारे काका, मलाई कुरा घुमाउन आउँदैन, सिधै भन्छु ल ।’ काकाले अनुहार बिगारेपनि बुद्धि प्रसादले थप्यो – ‘देश चलाउने कुराको सुरुवात घर-परिवारबाट हुन्छ । बाबुआमासंगको सम्बन्ध सुमधुर बनाउन सकिएन भने परिवार चल्दैन । भन्छन नि, मामालाई चिन्न पहिला आमालाई जान्नु पर्छ। काकाले सोधे -‘भन्न खोज्या के ?’ बुद्दि बोल्यो- ‘ अर्थात् घरमा कलह मच्चाउनेले छिमेकीको झगडा मिलाउन सक्दैन ! छिमेक, गाउँहुँदै सिंगो देशभरका समुदायमा समान ब्यबहार गर्न नसक्ने मानिसको सम्बन्ध पनि अस्थायी, अस्थीर र ढोंगी हुन्छ !
बुद्धि थप्दै गयो -‘मानिसको आदर्श बोलीमा होइन, ब्यबहारमा प्रकट हुनुपर्दछ । दु:ख नमान्नु होला, तपाईं ब्यबहार मै चुक्नु भएको मैले देखेकोछु । धन-दौलतले सम्पन्न र खुशी पनि हुनुहोला तर त्यो सुखानुभूतिलाई स्थायी राख्न तपाईंको एक्लो प्रयत्नले सम्भव हुँदैन । त्यसकारण नियमित र अनिवार्य सहयोगीलाई सधै सम्मान गर्नुपर्छ, अझै विशेष कार्यक्रममा त बिर्सिनै नहुने हो ! त्यसो गर्न सकेमात्र साँचो अर्थमा जीवन र जगतसंगको सम्बन्ध सन्तुलित रहेको ठहर्छ ।
काका हेरेको हेर्यै भए। बुद्दि थप्दै गयो – ‘ सम्झनोस त, तपाईंले आफ्नो घर पैंचो धुमधामसंग गर्नु भयो । देश-विदेशबाट पाहुना बोलाउनु भयो । चौरासी व्यंजन खुवाउनु भयो तर निमन्त्रणा गर्ने पर्नेलाई छुटाउनु भयो ! तपाईंले बोलाउनु भएका आए, खाए, रमाए गए अर्थात् औपचारिकता निभाए । तर जसलाई छुटाउनु भयो नि उनले भनें धेरै मन दुखाए !’
काका निलो कालो हुँदै सोधे- ‘को हो त्यो ?’ बुद्धिले कुरोको चुरो फुकायो -‘जसले तपाईंको आलिसान महललाई भित्र बाहिरै सबैतिरबाट सुन्दर बनाउन संयोजन गरे । कर्मीम सिकर्मी र डकर्मीहरु, सधैं कपडा सिलाइदिने सुचिकार दाजु, पानी र बिजुलीको बील तिर्न जाँदा मुस्कुराए सधैं सेवा दिने एक कर्मचारी, दैनिक राशन खाने ग्रोशरीका साहुबा लाई बोलाउँनै पर्दथ्यो ।’ काकाले शीर निहुर्याए । बुद्धि थप्दै गयो -‘तपाईंको औषधि दिने औषधी पसले, आमाको जीवन बँचाउन नियमित सल्लाह दिने डाक्टर, तपाईंको पेशा चलाउन सहयोगी बन्ने महत्वपूर्ण मान्छेहरु लाई पनि बोलाउनु पर्थ्यो । तर हजुरले ‘घर पैंचो’मा संसारलाई संसारलाई सम्झनु भयो तर त्यही घर सुन्दर बनाउनेलाई बिर्सनु भयो !’
काकाले खुईय गर्दै स्वीकार गरे – ‘हो, तैंले ठिक भनिस् बुद्धि । मर्दाका मलामी र बाँच्दाका जन्ती चिन्न सकेनछु मैले ।’ काकालाई सान्त्वना दिंदै बुद्धिले बिट मार्यो – ‘उप्रान्त यस्तो नहोस् काका । तपाईंको यो गलत शैलीबाट सबैले मनन गरुन -सुखमा सुखमा साथीमात्र होईन, दु:खका साथीलाई पनि त्यतिकै सम्मान र सम्झना गर्नु पर्दछ ।